एमसीसीबारे प्रधानमन्त्री र एमाले सांसद रावलवीच भनावैरी
एमसीसी पारित भइसकेको अवस्थमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले सांसद भीम रावलबीच अभद्र भनावैरी चर्किएको छ। एमसीसी परियोजनाको विरोध गरेकोमा देउवाले रावलप्रति आक्रोश व्यक्त गरेका छन्। सोमबार नुवाकोटमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्दा रावलको टाउको दुखेको आक्षेपसमेत लगाए।
'एमालेले क्याबिनेटबाट पास गरेर संसद्मा ल्याउने। संसदमा पास गर्नुपर्छ भनेर निर्णय गरेर ल्याउने। अनि मैले प्रस्ताव पास गर्दा किन टाउको दुख्ने? भीमबहादुर रावललाई टाउको दुखेको छ। उहाँ आफैं क्याबिनेटको मन्त्री हुनुहुन्थ्यो। त्यो बेला उहाँको दिमाग खुस्किएको थियो? त्यो बेला किन विरोध गर्नुभएन? किन राजीनामा गर्नुभएन?’ रावलप्रति देउवाको प्रश्न थियो।
एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले संसदमा पेस गरेको एमसीसी प्रस्ताव नै आफूहरूले पारित गरेको भन्दै उनले एमालेका नेताले नै त्यसको विरोध गरेकोमा आश्चर्य व्यक्त गरेका थिए। ओली सरकारमा भीम रावल रक्षामन्त्री हुँदा नै मन्त्रिपरिषद्ले एमसीसी पारितका लागि संसद्मा प्रस्ताव ल्याएको देउवाको भनाइ थियो। देउवाले रावलप्रति प्रश्न थपे, ‘त्यसबेला किन विरोध गर्नुभएन? राजीनामा किन दिनु भएन?अहिले आएर बोल्न लाज छैन? भीम रावल के हेरेर बसे त्यसबेला र अहिले विरोध गर्दैछन्?’
आफूमाथि दिमाग खुस्किएको थियो भन्दै प्रधानमन्त्रीले नै प्रश्न तेर्स्याएपछि एमाले सांसद रावलले भने प्रधानमन्त्री शेरबहादुर देउवाकै दिमाग खुस्किएको जवाफ फर्काएका छन्।
ट्वीटमार्फत जवाफ फर्काउँदै रावलले आफू केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री र रक्षामन्त्री भएको उल्लेख गर्दै ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला नभएको दाबी गरेका छन्। ‘सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रधानमन्त्रीको या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहीत विरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ,’ उनले ट्विटरमा लेखेका छन्।
एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधानलाई आफूले तथ्यगतरूपमा सार्वजनिक गर्दा देउवा आक्रोशित भएको पनि उनको दाबी छ। रावलले थप बहस गर्ने इच्छा भए आफू तयार भएको पनि रावलले ट्विटमा उल्लेख गरेका छन्।
'पिर'बारे प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको नयाँ गीत ‘पिर’ बारे प्रतिक्रिया दिएका छन्। गीतबारे कोही उत्तेजित हुनुपर्ने जरूरी नभएको उनको भनाइ छ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने बताएका थिए।
‘मैले त्यो पूरै गीत हेर्न पाएको पनि छैन, तर मेरो विचारमा अहिले हामी कोही उत्तेजित हुनुपर्ने छैन। तर्कवितर्क हुन्छन्, पक्षविपक्ष हुन्छन्, त्यसलाई सहज र स्वाभाविक रूपले लिनुपर्छ।’ प्रचण्डले थपे, ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन्। डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ।’
सशस्त्र युद्धमा लागेका कार्यकर्ताले दुःख पाइरहेको कुरा आफ्नो पनि स्मरणमा रहेको उनले बताए। माओवादीकै केही नेता तथा भ्रातृ संगठन वाईसीएल र अनेरास्ववियू क्रान्तिकारीले भने सपुतको उक्त गीत युट्युबबाट हटाउन माग गरिरहेका छन्।
उता सर्जक प्रकाश सपुतले भने आफूलाई निरुत्साहित नगरीदिन पनि आग्रह गरेका छन्। फेसबुकमा स्टाटस लेख्दै सर्जक सपुतले यस्तो आग्रह गरेका हुन्। यद्यपि गीतमा रहेका केही दृष्यले आत्मसम्मानमा चोट पुगेको भन्दै उनले क्षमा पनि मागेका छन्।
सकियो कांग्रेस जिल्ला महाधिवेशन
केन्द्रीय महाधिवेशन सकिएको तीन महिनापछि नेपाली कांग्रेसले जिल्ला अधिवेशनका कार्यक्रम पनि समापन गरेको छ।
केन्द्रीय महाधिवेशनअघि ६१ जिल्ला अधिवेशन गरेको काँग्रेसले महाधिवेशनपछि १६ जिल्ला अधिवेशन पनि सम्पन्न गरेको हो।
७७ जिल्लामध्ये ४३ जिल्लामा देउवा पक्षले नेतृत्वको जिम्मेवारी पाएको छ। महाधिवेशनमा देउवासँग पराजित शेखर कोइरालाको पक्षले २८ जिल्लामा नेतृत्व हासिल गरेको छ।
यस्तै नेता कृष्णप्रसाद सिटौला समूहले २ र विमलेन्द्र निधि पक्षले १ जिल्लाको नेतृत्व लिएको छ। पूर्वमहान्त्रीद्वय प्रकाशमान सिंह निकट एक र शशांक कोइराला निकट २ जना जिल्ला सभापति छन्।
प्रदेशगत रुपमा प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम सभापति देउवा पक्षले जितेको छ। लुम्बिनीमा नेता शेखर कोइराला पक्षको उपस्थिति बलियो छ।
१३ औं महाधिवेशनको भन्दा यसपटक देउवा पक्षले करिब २० जिल्लामा आफू पक्षीय नेतृत्व स्थापित गरेको छ। विगतको संस्थापन इतर पक्ष तितरवितर हुँदा पनि शेखर पक्ष विकल्पका रुपमा उदाएको छ। महाधिवेशनपछि अधिवेशन भएको सबै जिल्लामा शेखर पक्षले प्रतिस्पर्धा गरेको थियो। चितवन, बाँके, सिन्धुली र सप्तरीमा देउवा पक्षलाई पराजित गरेर नेतृत्व लिन शेखर पक्ष सफल भएको छ। महाधिवेशनअघि वरिष्ठ नेता रामचन्द्र पौडेलको आडमा निर्वाचित दुई दर्जन जिल्ला सभापति शेखर कोइराला पक्षमा उभिएका छन् ।
विद्युत खपत बढाउने काम अघि बढ्यो : ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडि बढाएको बताएकी छन्।
सोमवार ललितपुरमा आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्व सूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरुसँगको सहकार्य र समन्वय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युतको आन्तरिक खपत वृद्धिका लागि सरकारले तयारी थालेको बताएकी हुन्। नेपाल नविकरणीय ऊर्जाका लागि दक्षिण एसियाकै केन्द्र बन्ने भन्दै मन्त्री भुसालले छिमेकी राष्ट्रहरुलाई विद्युत निर्यात गर्न आवश्यक नीति, नियम र वातावरण पनि तयार गरिएको बताइन्।
विद्युतमा हुने लगानीको जोखिम न्युनिकरण गर्दै आयोजना निर्माण गर्नका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन र विभिन्न निकायहरुसँग समन्वय भइरहेको उनको भनाइ छ ।
प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिन आग्रह
संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट आएको विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठबिरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो। संसदीय सुनुवाईको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय भएको छ।
सभापति कर्णले मंगलबारबाट उक्त सूचना सरोकारवाला निकाय र आम नागरिकहरुमा जाने बताएका छन्।
‘राजद्रोही राजनेता’ नामक डकुमेन्ट्री निर्माण
राजनेता बीपी कोइरालाबारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेन्ट्री फिल्म निर्माण भएको छ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोईरालाको नेपाल प्रवेशपछि जनमतसंग्रहसम्मका घटनाक्रमहरुलाई समेटिएको छ। डकुमेन्ट्री हेरेपछि नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले बिपीले राजनीतिक जीवनमा चालेका कदमको प्रशंसा गरे।
यस्तै नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले समेत डकुमेन्ट्रीको प्रशंसा गरे। डकुमेन्ट्री हेरेपछि पत्रकार, राजनीति विश्लेषक र राजनीतिककर्मी लगायतले समेत प्रतिक्रिया दिएका छन्।
वीरगञ्जका मेयर सरावगी
वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुव्र्यवहार भएको भन्दै एमालेमा प्रवेश गरेको बताएका छन्।
मेयर सरावगीले आफुलाई सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएकोले समाजवादी पार्टी छाडेर एमाले प्रवेश गरेको जानकारी दिए । विगतमा जसपा छोड्न दुई पटकसम्म राजीनामा दिएको तर अध्यक्ष उपेन्द्र यादवले आफुलाई रोकेको उनले बताए
एमाले प्रवेश गर्नमा अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र विकासप्रतिको चाहानाबाट समेत आफू प्रभावित भएको सरावगीले बताएका छन ।
एमालेमा कुनै पद पाउने शर्तमा नगएको भन्दै मेयर सरावगीले पार्टीले दिने कुनै पनि जीम्मेवारी सम्हाल्न तयार भएको बताए।
९ तलाको आवासीय भवनमा रुसी सेनाले गरेको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने तीन जनालाई अस्पताल लगिएको बीबीसीले जनाएको छ। त्यसैगरी नौ जनालाई घटनास्थलमै प्राथमिक उपचार गरिएको र ६३ जनाको उद्धार गरिएको छ। रुसी सेना राजधानी किभ नजिकै पुगेसँगै सोमबार उत्तरी क्षेत्रमा रहेको उक्त भवनमा आक्रमण गरेका हुन्।
उता युद्धविरामका लागि दुवैतर्फका वार्ता टोलीबीच छलफल चलिरहेको छ। यो दुई देशबीच भएको चौथो पटकको वार्ता हो। दुवै पक्षबीच भिडियो कलमार्फत वार्ता भइरहेको बताइएको छ। युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकका अनुसार दुवै पक्षले आ–आफ्नो अडानलाई यथावत राखेका छन्।
उनले यसअघि आजको वार्ता युद्धविरामका लागि केन्द्रित हुने र रुसी सेनालाई फिर्ता पठाउने विषयमा छलफल हुने बताएका थिए। त्यसैगरी युक्रेनको सुरक्षा ग्यारेन्टीबारे रुसले प्रतिबद्धता जनाउनुपर्ने उनले बताएका थिए।