काठमाडौं- टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन गएका परराष्ट्रमन्त्री नारायण खड्का सोमबार स्वदेश फर्किन लागेका हुन्। टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा फागुन २७ गते त्यसतर्फ प्रस्थान गरेका परराष्ट्रमन्त्री खड्का सोमबार दिउँसो स्वदेश फर्किन लागेको परराष्ट्रमन्त्री खड्काको सचिवालयले जानकारी दिएको छ।
परराष्ट्रमन्त्रीले फागुन २८ गते मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरुको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गरेका थिए। मञ्चको यस वर्षको विषय ‘रिकोडिङ डिप्लोमेसी’ रहेको थियो। मञ्चमा विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल भएको बताइएको छ।
मन्त्री खड्काले गैरआवासीय नेपाली संघ टर्कीका पदाधिकारी र इस्तानबुलमा रहेका नेपाली उद्यमीसँग व्यवसायका अवसरहरू र चुनौतीहरूका साथै नेपाली समुदायले सामना गर्नुपरेका समस्याबारे छलफल गरेका थिए।
साउदी राजकुमारसमेत रहेका विदेशमन्त्री फैजल बिन फरहान अल साउदको नेपाल आइपुग्ने भएसँगै परराष्ट्रमन्त्री खड्का पनि स्वदेश फर्किन लागेका हुन्। साउदी विदेशमन्त्री फैजल परराष्ट्र मन्त्रालयको निमन्त्रणामा साउदीका विदेशमन्त्री औपचारिक भ्रमणमा नेपाल आउन लागेका हुन्। साउदीका विदेशमन्त्रीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नारायण खड्कासँग छट्टाछुट्टै भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री खड्काले साउदी विदेशमन्त्रीलाई दिवाभोज दिने भएका छन्।
साउदीका विदेशमन्त्री २४ घण्टा नेपालमा रहनेछन्। उनको भ्रमण टोलीमा दुई दर्जन अधिकारी रहनेछन्। दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा उनी नेपाल आउन लागेका हुन्। उनी आइतबार श्रीलंका आइपुगेका छन्।
श्रीलंकाको राजधानी कोलम्बोबाट साउदी विदेशमन्त्री फैजल सोमबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा उत्रनेछन्। उनी चार्टड विमानमा नेपाल आउनेछन्। फैजललाई नक्सालस्थित होटल म्यारियटमा बस्ने व्यवस्था मिलाइएको छ।
एक साताअघि मात्रै काठमाडौस्थित साउदी दूतावासले परराष्ट्र मन्त्रालयलाई विदेशमन्त्री फैजल नेपाल भ्रमणमा आउन चाहेको बताएको थियो।