काठमाडौं- नेपाली कांग्रेस धनुषाको १४औं जिल्ला अधिवेशनअन्तर्गत सभापतिको दोस्रो चरणको निर्वाचन सुरु भएको छ। आज बिहान १०:१० बजेदेखि दोस्रो चरणको मतदान सुरु भएको हो।
सभापतिका लागि मंगलबार अबेर राति भएको मतगणनामा कुनै उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसक्दा दोस्रो चरणमा बिहीबार बिहान पुनः निर्वाचनको समय निर्धारण गरिएको थियो। तर, उम्मेदवारहरूको सहमति र सहकार्यको आधारमा शुक्रबार बिहानबाट दोस्रो चरणको मतदान सुरु भएको जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए।
सभापतिमा दोस्रो चरणमा योगेन्द्र पजियार र सन्तोषकुमार यादव मैदानमा छन्। समीकरणअनुसार भने पजियारले जित्ने देखिएको छ। पजियारलाई यादव प्रसैलाले समर्थन गरेपछि संथापन पक्षका यादवलाई जित्न कठिन हुने देखिएको हो।
बुधबार रातिमा जनकपुरधामस्थित निधि निवासमा पत्रकार सम्मेलन आयोजना गरी शेखर कोइराला समूहका नेता रामकृष्ण यादवले आफूहरुले विमलेन्द्र निधी समूहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गर्ने निर्णय गरेको बताएका थिए।