मंगलबार, असोज १, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • बार अध्यक्षका लागि प्रजातान्त्रिक र बाम उम्मेदवार भिड्दै, यस्ता छन् एजेन्डा

बार अध्यक्षका लागि प्रजातान्त्रिक र बाम उम्मेदवार भिड्दै, यस्ता छन् एजेन्डा

बार अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दर्ता गराए पनि मुख्य प्रतिस्पर्धा भने दुई जनाबीच हुने देखिएको छ। विष्णुमणि अधिकारी र गोपालकृष्ण घिमिरेबीच कडा टक्कर हुने आकलन कानुन व्यवसायीहरुले गरेका छन्।
 |  बिहीबार, फागुन २६, २०७८
nespernesper

दिलीप कुँवर

दिलीप कुँवर

बिहीबार, फागुन २६, २०७८

काठमाडौं– कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसन अहिले चुनावमा होमिएको छ। १९ चैतमा हुने निर्वाचनको माहोल अहिले नै तातिसकेको छ। 

triton college

बारको २६औं केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन हुन लागेको हो। अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, विष्णुमणि अधिकारी, कमलप्रसाद मलेगो, पृथ्वीनाथ राई, अमिता लक्ष्मी सैंजु श्रेष्ठ र गोपालकृष्ण घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन्।  

अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दर्ता गराए पनि मुख्य प्रतिस्पर्धा भने दुई जनाबीच हुने देखिएको छ। विष्णुमणि अधिकारी र गोपालकृष्ण घिमिरेबीच कडा टक्कर हुने आकलन कानुन व्यवसायीहरुले गरेका छन्। 

कांग्रेस निकट घिमिरेलाई सत्तारुढ गठबन्धनले अघि सारेको हो भने अधिकारीलाई प्रतिपक्षी एमाले निकट कानुन व्यवसायी संगठनले समर्थन गरेको छ।

घिमिरे र अधिकारी दुवै वरिष्ठ अधिवक्ता हुन्। दुवै जनासँग वकालतको ३ दशकभन्दा लामो अनुभव छ। उम्मेदवारहरु अहिले आ–आफ्नो प्यानलसहित प्रचारप्रसारमा जुटेका छन्। निर्वाचन आउन तीन साता बाँकी हुँदा उम्मेदवारहरु देश दौडाहाको तयारीमा जुटेका छन्। मतदानका लागि देशभर ३५ ठाउँमा निर्वाचन केन्द्र तोकिसकिएको छ। 

Metro Mart
vianet

अधिकारीको अठोट निष्पक्ष न्यायपालिका

विष्णुमणि अधिकारीलाई एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनले अघि सारेको हो। ०२४ सालमा काभ्रेको पाँचखालमा जन्मिएका अधिकारीसँग करिब ३१ वर्ष लामो वकालत अनुभव छ।

०४५ सालमा उनले नेपाल ल क्याम्पसबाट बीएल गरेका हुन्। त्यसको एक वर्षमै उनले अधिवक्ताको लाइसेन्स पाएका थिए। ०४७ सालमा आफ्नै कानुनी सेवा केन्द्र खोलेर अधिवक्ताको करिअर सुरु गर्दाको क्षण सम्झँदै अधिकारी भन्छन्, ‘पेशाप्रति मेरो पहिल्यैदेखि लगाव थियो। कानुन क्षेत्रमै केही गर्ने सपनाले करिअर सुरु गरेको हुँ।’ 

त्यतिबेला नेपालमा एलएलएम थिएन। तर उनलाई जसरी पनि अझै पढ्नु थियो। उनले पोलिटिकल साइन्समा मास्टर्स गरे। केही वर्षपछि नेपालमै एलएलएमको पढाइ सुरु भयो। ०६६ सालमा एलएलम पनि पढे। अहिलेसम्म १५ सयभन्दा बढी मुद्दामा उनले बहस गरिसकेका छन्। तीमध्ये करिब ३० प्रतिशत निःशुल्क हेरेको उनले सुनाए।

अधिकारी राष्ट्रिय मेलमिलापकर्ता समाजको अध्यक्ष पनि हुन्। यसअघि उनले ललितपुर बार एसोसिएसनमा ०४९ देखि ०५१ सालसम्म उपाध्यक्ष र ०५५ देखि ०५७ सालसम्म अध्यक्ष रहेर काम गरिसकेका छन्। ललितपुर बारको अध्यक्ष हुँदाको क्षण सम्झँदै उनले भने, ‘मैले कहिल्यै मुद्दालाई सानो–ठूलो भनेर छुट्याइनँ। गाउँ र सहरको भनिनँ। न्यायको लागि सधैं सचेत रहेर बहस पैरवी गरें।’ काठमाडौं स्कुल अफ लका प्रध्यापकसमेत रहेका अधिकारीले सर्वोच्च अदालतभित्र प्रतिनिधिसभा विघटनको मुद्दामा दुवैपटक बहस गरेका थिए। 

बार अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दर्ता गराए पनि मुख्य प्रतिस्पर्धा भने दुई जनाबीच हुने देखिएको छ। विष्णुमणि अधिकारी र गोपालकृष्ण घिमिरेबीच कडा टक्कर हुने आकलन कानुन व्यवसायीहरुले गरेका छन्। 

नेपालको न्यायपालिकालाई स्वच्छ र निष्पक्ष बनाउने उनको अठोट छ। यही एजेन्डा लिएर उनी बारको चुनावमा होमिएका छन्। भन्छन्, ‘म रहरले बारको नेतृत्व गर्न कस्सिएको होइन, न्यायपालिकाभित्रको बेथिति र विकृति निर्मूल पार्न अघि सरेको हुँ।’ 

हाल महाभियोग खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बहिर्गमनबाट मात्रै न्यायालय सफा नहुने उनको तर्क छ। उनी दाबी गर्छन्, ‘न्यायालयमा चोलेन्द्र प्रवृत्ति भएका अन्य थुप्रै छन्, जो देखिएका छैनन्। बारको नेतृत्वमा पुगेपछि मेरो पहिलो काम नै न्यायालयलाई पारदर्शी बनाउन प्रयास गर्ने हो।’ 

को हुन् गोपालकृष्ण घिमिरे ? 

घिमिरेलाई सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसनले अघि सारेको हो। ०२३ साल फागुनमा लमजुङमा जन्मिएका घिमिरेसँग पनि करिब ३० वर्षे लामो वकालत अनुभव छ। ०४३ सालमा नेपाल ल क्याम्पसबाट आईएल र ०४७ सालमा नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट बीएल गरेका घिमिरेले कानुनी क्षेत्रसँगै पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा समेत रहेर काम गरिसकेका छन्। 

०४६ सालको जनआन्दोलनका घिमिरे नेविसंघको अध्यक्ष थिए। त्यतिबेलाको क्षण सम्झँदै उनले भने, ‘मेरो मुख्य क्षेत्र कानुन भए पनि पार्टीले मलाई दिएका विभिन्न जिम्मेवारीहरु पनि पूरा गर्ने प्रयास गरें।’ ०४८ सालबाट औपचारिक रुपमा अधिवक्ता भएर करिअर सुरु गरेका घिमिरेले केही वर्ष ग्याप राखे। नेपालमा एलएलएमको पढाले उनी पढ्नका लागि भारतको लखनउ विश्वविद्यालय पुगेका थिए। 

त्यहाँ पढाइ सकेर नेपाल फर्केपछि घिमिरेले अधिवक्ताको कामलाई निरन्तरता दिए। गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा उनले सर्वोच्च अदालतमा बहस गरेका थिए। संसद् पुनर्स्थापनाका लागि गरेको बहस सम्झँदै घिमिरेले सुनाए, ‘त्यतिबेला म र मेरा साथीहरुले बहस नगरेको भए आजसम्म संसद् रहँदैनथ्यो।’ 

नेपालको न्यायपालिकालाई अन्तर्राष्ट्रिय रुपमै गर्व गर्न लायकको बनाउने उनको अठोट छ। ‘म लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्छु। मलाई बारको नेतृत्व गरेर लोकतन्त्र र कानुनप्रति जनताको विश्वास सुरक्षित राख्न मन छ,’ उनले आफ्नो एजेन्डा सुनाए। पछिल्लो समय नेपालमा हजारौं कानुन व्यवसायी भए पनि उनीहरुको व्यवस्थापन नभएको दुःख लाग्ने घिमिरेले बताए।

‘बाहिर मलाई कुनै दलसँग निकट ठानिए पनि मेरो एजेन्डा भनेको हजारौं कानुन व्यवसायीहरुलाई स्थापित गर्ने र न्यायपालिकाभित्र कार्यसम्पादनको पुरातन शैली परिवर्तन गर्ने नै हो।’ 

प्रकाशित: Mar 10, 2022| 15:24 बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...