काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दलसँग तालमेल गर्ने संकेत गरेका छन्।
आज वीरगन्ज पुगेका देउवाले पर्सा कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई प्रमाणपत्र वितरणपछि आयोजित कार्यक्रममा निर्वाचनमा तालमेल हुने संकेत गरेका हुन्।
आफू गठबन्धनकै कारण प्रधानमन्त्री बनेको उदाहरण दिँदै उनले गठबन्धन दलका नेताहरुलाई अनावश्यक रुपमा नचिढ्याउन आफ्नो पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे। उनले भने, ‘म प्रधानमन्त्री हुने नै थिइनँ यसपालि। गठबन्धनका साथीहरुले सहयोग गरेर प्रधानमन्त्री भएको हुँ।’
आउँदो स्थानीय निर्वाचनमा कसरी जाने भन्नेबारेमा सबै पार्टीमा छलफल हुने उल्लेख गर्दै उनले सबैको सहयोग लिन जरुरी भएको बताए।
अघिल्लो निर्वाचनमा कांग्रेस नराम्ररी पराजित भएको सुनाउँदै देउवाले अब पहिलो पार्टी बनाउन नेताहरु लाग्नुपर्ने निर्देशनसमेत दिए। भने, ‘तपाईंहरुलाई थाहै छ, एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो। हामी हारेका थियौं। अहिले गठबन्धनको सरकार भएका कारण स्थानीय, प्रदेश र केन्द्रमा पनि हामी पहिलो पार्टी बनाउन लाग्नुपर्छ।’
देउवाले थपे, ‘गठबन्धनका साथीहरुको सहयोगले प्रधानमन्त्री बनेको हो म। प्रजातन्त्रका लागि पनि गठबन्धनका साथीहरुलाई अनावश्यक रुपमा चिढ्याउने काम गर्नुहुन्न। अर्कोतिर विपक्षी पार्टी एमाले ओलीको पार्टी छ। सशक्तै छ। उनीहरुलाई थाहै छ हाम्रो पार्टी पनि सशक्त छ।’
स्थानीय निर्वाचन नजिकिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कांग्रेस जित्ने गरी तयारी गर्नसमेत आग्रह गरे। उनले भने, ‘स्थानीय चुनाव आइसकेको छ। कहाँकहाँ जित्न सकिन्छ छलफल गरौं। बाहिर बोलेर काम छैन,’ देउवाले भने। देउवाले सबै पार्टीको सहयोगले एमसीसी पास भएको उल्लेख गर्दै थपे, ‘यो राष्ट्रिय आवश्यकता हो। सबै देशको सहयोग लिनुपर्छ।’