मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • चुनावमा एमालेलाई हराउने माधव नेपालको 'उद्घोष', ज्येष्ठ पत्रकारलाई मासिक भत्ता [२०७८-११-२५]

चुनावमा एमालेलाई हराउने माधव नेपालको 'उद्घोष', ज्येष्ठ पत्रकारलाई मासिक भत्ता [२०७८-११-२५]

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न निर्देशन 

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। 

संघीय संसद प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सरकारका नाममा यस्तो निर्देशन जारी गरेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा बुधबार सिंहदरवारमा भएको छलफलपछि समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो। छलफलपछि समिति सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिए। 

नेपाल आयल निगमका जायज मागलाई सम्बोधन गर्न पनि सरकारलाई उनले सचेत गराएका थिए। सभापति श्रीवास्तवले सरकारले उपभोक्तालाई सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराउने विषयमा नसोचेकोप्रति आपत्ति जनाएका थिए। 

बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले बढाएको थियो। पछिल्लो मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ।

मूल्य बढाए पनि पेट्रोलमा अझै प्रतिलिटर ११ रूपैयाँ २८ पैसा घाटा हुने निगमको दाबी छ। यस्तै डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा र मट्टितेलमा १९ रूपैयाँ ५१ पैसा फाइदा भएको निगमले जानकारी दिएको छ।

स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति छ : माधवकुमार नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको दाबी गरेका छन्। 

बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको  बैठकमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरुबीच मिलेर जाने सहमति भएको बताएका हुन्। 

सबै ठाउँमा मिल्न नसके पनि पारस्पारिक लाभ लिन सकिने गरी स्थानीय तहको निर्वाचनमा परिचालित हुन सिंगो पार्टी पंक्तिलाई अध्यक्ष नेपालले निर्देशन दिएका थिए। अध्यक्ष नेपालले अब सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पारे। एमालेप्रति संकेत गर्दै आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरुलाई कमजोर पुष्टि गरेर देखाउने गरी तयारी गर्न पनि उनको निर्देशन छ। 

अध्यक्ष नेपालले दुई पटक आफ्नो पार्टीले एमालेसँग चुनावी प्रतिस्पर्धा गरेर जित हासिल गरेको उल्लेख गर्दै अब पनि त्यसै गरेर अघि बढ्ने योजना रहेको पनि दोहोर्‍याउनु भयो। एक्लै जित्ने अवस्था नभएपनि राष्ट्रियसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनसँग मिलेर केपी ओलीलाई आफ्नो पार्टीले पराजित गरेको उनको दाबी छ। 

स्थानीय चुनावकेन्द्री कांग्रेसको अभियान सुरु 

सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन अभियानको कार्ययोजना सार्वजनिक गरेको छ। 

पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले 'घर घर जाऔं, कांग्रेस जिताऔं'  अभियानबारे जानकारी गराएका हुन्।

'सबैको काँधमा भारी, सबैको काँधमा जिम्मेवारी' भन्ने नारासहित हुने अभियानमा सबै नेता–कार्यकर्तालाई जिम्मेवारी दिइने प्रवक्ता महतले जानकारी दिए। फागुन २९ देखि चैत २९ सम्म चल्ने अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकिएको समेत उनले बताए। प्रतिनिधिहरू बिहीबार वा शुक्रबारसम्म जिल्ला–जिल्ला पुग्ने जनाउँदै प्रवक्ता महतले २७ फागुनमा ७७ वटै जिल्ला कार्यसमिति बैठक बसेर अभियानको कार्यक्रम तयारी गर्ने बताए।

प्रवक्ता महतले निवर्तमान केपी शर्मा ओली सरकारले गरेका गलत कामको भण्डाफोर र एमसीसीबारे छरिएका भ्रम निवारणसहित ८ एजेन्डा लिएर जनतामा जान लागिएको महतले सुनाए। सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई प्रयोग गर्ने मामलामा कांग्रेस कमजोर रहेको भन्दै आगामी दिनमा त्यसको भरपुर प्रयोग हुने उल्लेख गरे।

पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे सहभागी थिए। अभियानको घोषणा पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भए पनि कार्यव्यस्तताका कारण सभापति कार्यक्रममा उपस्थित हुन सकेनन्। 

ज्येष्ठ पत्रकारलाई मासिक भत्ता 

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने कल्पनासमेत गर्न नसक्ने दाबी गरेका छन्। 

बुधबार नेपाल पत्रकार महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री कार्कीले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकारले परिकल्पना नै गर्न नसक्ने बताएका हुन्। उनले दक्षिण एसियामा प्रेस स्वतन्त्रताका निमित्त अग्रणी देशको रुपमा नेपाललाई परिचित गराउनेतर्फ अग्रसर बनेको समेत बताएका थिए। 

मन्त्री कार्कीले ६५ देखि ६९ सम्म, ७० देखि ७५ सम्म, ७६ देखि ८० सम्म र ८० वर्षभन्दा माथि उमेरसमूहका ज्येष्ठ पत्रकारलाई क्रमशः मासिक ५ हजार, ७ हजार , १० हजार र १५ हजार रुपैयाँ उपलब्ध गराउन मन्त्रालयले काम अघि बढाएको जानकारी दिएका थिए। पत्रकारहरुको निःशुल्क उपचार गर्ने सम्बन्धमा निर्देशिका बनाउने कार्य अन्तिम चरणमा पुगेको उनको भनाइ थियो। 

मन्त्री कार्कीले हाल नेपाल सरकारबाट जारी भएको राष्ट्रिय प्रशारण नियमावली ११ औँ संशोधनले आर्थिक क्रियाकलापमा संलग्न हुने युट्युब च्यानलले मात्र धरौटी राख्नुपर्ने समेते बताएका थिए। 

पत्रकार महासंघले राष्ट्रिय प्रशारण नियमावलीको ११ औँ संशोधन २०७८ सम्बन्धी व्यवस्था र अनलाइन सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनेलगायतका विषयहरुमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएको थियो। 

जयनगर-कुर्था कहिले सुरु होला रेल सेवा?

सरकारले चाहे जयनगर-कुर्था रेल्वे सेवा तत्काल सञ्चालन गर्ने सकिने नेपाल रेल्वे कम्पनीले बताएको छ। रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसकेकाले तत्काल सञ्चालन गर्न कुनै अप्ठेरो नरहेको कम्पनीले बताएको हो। 

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले भाडा निर्धारण तथा कानूनसमेत बनाइ सकिएको बताएका थिए। महाप्रबन्धक झाले कम्पनी नयाँ भएकाले कम्पनी स्थापित गराउनको लागि सरकारले सहयोग गर्नु पर्ने उल्लेख गरे।

भारतीय रेल्बे कम्पनी कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर नेपाल ल्याएको एक वर्षभन्दा बढी भएको छ। रेल खरीद गरेर एक वर्षपछि कुर्थासम्म ल्याएको रेलको गत पुसमा परीक्षण गरेर राखिएको छ। अहिले पनि रेल जनकपुरमै त्रिपालमुनि थन्किएर बसेको छ। रेल सेवा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भएपनि अहिलेसम्म उद्घाटनको मिति जुरेको छैन।  

भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ। रेल खरिद गरेर ल्याएको लामो समयसम्म रेल सञ्चालमा आउन नसक्दा आम नागरिकमा निराशा पैदा हुन थालेको छ। 

रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भेटवार्ता हुने 

रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भेटवार्ता हुने भएको छ। रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनी समकक्षी डिमित्रो कुलेबाबीच भेटवार्ता तय भएको हो।

गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेयता दुई देशका विदेशमन्त्रीबीच पहिलोपटक भेटवार्ता हुन लागेको हो। टर्कीका विदेशमन्त्री मेभ्लुत काभुसोग्लुको प्रस्तावमा वार्ता हुन लागेको हो। भेटवार्ता यही बिहीबारका लागि तय भएको छ।

रुस र युक्रेनबीच तेह्रौं दिन पनि युद्ध जारी छ। युक्रेनको राजधानी किभमा कब्जा गर्ने रुसी सेनाको प्रयास सफल भइरहेको छैन। रुसी र युक्रेनी सेना एकआपसमा लडिरहेका छन्।

रुसी क्षेप्यास्त्र आक्रमणले युक्रेनका सहरहरू ध्वस्त पारेको छ। युक्रेनको राजधानी किभबाट केही किलोमिटरको दूरीमा रुसी सेना बसेको छ र राजधानी सहरमा थुप्रै घातक हवाई आक्रमण भएका छन्।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभ धेरै दिनदेखि रुसको तीव्र हवाई प्रहारको केन्द्रबिन्दु बनेको छ र त्यस सहरको केन्द्रलाई नराम्ररी क्षति पुगेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किभलाई दुई दिनमा कब्जा गर्ने योजना बनाएको अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख विलियम बर्न्सले दाबी गरेका छन्।


प्रकाशित: Mar 09, 2022| 20:16 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।