मंगलबार, भदौ २, २०८३

जनप्रतिनिधि-कर्मचारी 'टसल' : कार्यकक्षमै थुनिए कार्यालय प्रमुख

जिल्ला समन्वय समिति कञ्चनपुरका कार्यालय प्रमुख खेमप्रसाद चौधरी कार्यकक्षमा नै थुनिएका छन्। बुधबार दिउँसो समिति सदस्यहरूले नै उनलाई कार्यकक्षमा थुनेका हुन्।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

महेन्द्रनगर- जिल्ला समन्वय समिति कञ्चनपुरका कार्यालय प्रमुख खेमप्रसाद चौधरी कार्यकक्षमा नै थुनिएका छन्। बुधबार दिउँसो समिति सदस्यहरूले नै उनलाई कार्यकक्षमा थुनेका हुन्।

जिल्ला समन्वय समितिका सदस्य सीतादेवी भण्डारीसहितका सदस्यको एक टोलीले कार्यालय प्रमुख चौधरीले समितिका पदाधिकारी र कर्मचारीको तलब/भत्ता दिन आनाकानी गर्नुका साथै लामो समयदेखि समन्वय नगरी हिँडेकाले कार्यकक्षमै थुन्नुपरेको थुन्ने पक्षले बताएको छ। 'कार्यालयमा कुनै प्रकारको समन्वय नगर्नुका साथै गत पुसयता तलबभत्ता दिनसमेत बेवास्ता गरेपछि हामीले आधा घण्टा थुनेका हौँ,' सदस्य भण्डारीले भने, 'एउटा कर्मचारी भएर जनप्रतिनिधिलाई बेवास्ता गर्दै हिँडेपछि कार्यालयको कामकाजमा समेत अप्ठ्यारो हुन थाल्यो।'

गत पुस महिनाको दोस्रो साता कार्यालयमा चौधरी प्रमुखको रूपमा हाजिर भएयता जनप्रतिनिधि र कर्मचारीले सेवा सुविधा नपाएको भण्डारीको आरोप छ। करिब आधा घण्टापछि समन्वय समिति पुगेको प्रहरी टोलीले कार्यालय प्रमुखको ढोकामा लगाएको ताला फुटाएको छ। 

'समन्वय समितिको बैठक पनि चौधरी आएपछि बस्न सकेको छैन,' उनले भने, 'यहाँ चौधरी र समन्वय समितिका प्रमुखबीच खटपट हुँदा कार्यालयको कामकाज नै प्रभावित बन्यो।'

समन्वय समितिका कार्यालय प्रमुख खेमप्रसाद चौधरीले भने कर्मचारी र प्रशासनको काममा समन्वय समितिका प्रमुखसहित पदाधिकारी हाबी हुँदा समस्या भएको दाबी गरे। 'आफन्तलाई जागिर खुवाउने अनि महिनामा एकै पटक हाजिर लगाएर तलब खुवाएको देखियो,' चौधरीले भने, 'अहिले पनि समितिका कति जना करारमा भर्ना गरिएका छन् त्यसको जानकारी अहिलेसम्म मलाई दिइएको छैन।'

उनले पदाधिकारी र कर्मचारीको तलब खुवाउने विषयमा केन्द्रमा समेत आफूले पहल गरिरहेको बताए। 'तलब खुवाउने विषयमा कोष तथा लेखा नियन्त्रणको कार्यालयमा अख्तियारबाट फोन आयो,' उनले भने, 'त्यसपछि केही समयदेखि त्यो विषयमा अलमल भयो।' 

कार्यालय प्रमुखको कक्षको ताला खुलेको केहीबेरमा नेपाल विद्यार्थी सङ्घका नेता तथा कार्यकर्ताले समन्वय समितिका प्रमुख फैरु तामाङको कार्यकक्षमा ताला लगाएका थिए।

प्रकाशित: Mar 09, 2022| 19:01 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...