मंगलबार, भदौ २, २०८३

सञ्चारमन्त्रीलाई पत्रकार महासंघको ११ बुँदे ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ११ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। बुधबार मन्त्री कार्कीलाई महासंघको कार्यालयमा स्वागत गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं– नेपाल पत्रकार महासंघले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ११ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। बुधबार मन्त्री कार्कीलाई महासंघको कार्यालयमा स्वागत गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो। 

महासंघले सञ्चार क्षेत्रका विभिन्न कानुन बनाउने र अन्तिम रुप दिने क्रममा महासंघसहित सरोकारवाला निकायसँग सुझाव लिने कुरालाई प्राथमिकतामा राख्न र संसदीय प्रक्रियामा रहेका विधेयक तथा अघि बढाउन लागिएका विधेयकहरू सरोकारवाला पक्षसँग छलफल र परामर्श गरी छिटो अघि बढाउन आग्रह गरेको छ।

त्यसैगरी कोभिड–१९ र आमसञ्चारसम्बन्धी कानुनले पत्रकारिता क्षेत्रमा पारेको प्रभावबारे पनि ध्यानाकर्षण गराएको छ।

त्यस्तै, महासंघले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सूचना तथा प्रसारण विभाग वा अन्य कुनै निकायलाई भन्दा श्रमजीवी पत्रकार ऐनले परिकल्पना गरेको जस्तो छुट्टै प्रेस रजिष्ट्रारको कार्यालय स्थापना गर्न र सरकारी कर्मचारीबाहेकको व्यक्तिलाई प्रेस रजिष्ट्रार नियुक्त गरेर काम थाल्न माग गरेको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई अनुगमनको समेत जिम्मेवारी दिँदै अझ बलियो र प्रभावकारी बनाउन महासंघले माग गरेको छ।

महासंघले सरकारको बजेटमा सम्बोधन भएका विषयहरु, पत्रकारको निःशुल्क उपचारको व्यवस्था, महासंघको निर्माणाधीन भवनको पूर्णता, श्रम समस्यामा परेका र कोरोना संक्रमणको बहानामा श्रम समस्यामा पारिएका पत्रकारका लागि लेखनवृत्तिलगायतका व्यवस्था कार्यान्वयनका लागि समेत मन्त्रीलाई आग्रह गरेको छ।

कोरोना भाइरस संक्रमणको समयमा सञ्चार कर्ममा खटिएका पत्रकारले पारिश्रमिक नपाउने, सञ्चार गृहले पेसाबाट निकाल्ने लगायत समस्या देखिएको भन्दै समस्या समाधानमा मन्त्रालयले तत्काल संयन्त्र बनाएर अनुगमन गर्न तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारले उपलब्ध गराउने सेवाबाट बञ्चित गर्न महासंघले ध्यानाकर्षण गराएको छ। पत्रकारको दक्षता अभिवृद्धिका लागि गठन गर्ने भनिएको आम सञ्चार प्रशिक्षण प्रतिष्ठान तत्काल गठन गर्नसमेत महासंघले माग गरेको छ।

महासंघले हालै जारी गरिएको राष्ट्रिय प्रसारण नियमावलीको ११औं संशोधनमा केही विषयमा चासो र चिन्ता व्यक्त गर्दै त्यस्ता विषयमा तत्काल सम्बोधन गर्न माग गरेको छ।

त्यसैगरी अनलाइन सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने विषय बजेटमा समेटिए पनि त्यसको कार्यान्वयनमा समस्या भएको भन्दै महासंघले त्यसतर्फ समेत ध्यानाकर्षण गराएको छ।

ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री कार्कीले सरकार महासंघले उठाएका विषयहरूलाई सम्बोधन गर्न सकारात्मक रहेको बताएका थिए। उनले ज्येष्ठ पत्रकारको सम्मानका लागि ‘पत्रकार वृत्ति कोष’को व्यवस्था गरिएको भन्दै पत्रकारको निःशुल्क स्वास्थ्य सेवाका लागि आवश्यक निर्देशिका पारित भएको जानकारी दिए।

महासंघका अध्यक्ष विपुल पोखरेलले राष्ट्रिय प्रसारण एघारौं संशोधन नियमावली, २०७८ ले केही अस्पष्टता सिर्जना गरेको भन्दै त्यसलाई थप स्पष्ट गर्न आवश्यक रहेको बताएका थिए।

प्रकाशित: Mar 09, 2022| 17:17 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...