काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले यही फागुन २९ गथेदेखि सुरु हुने स्थानीय तह निर्वाचन अभियानको कार्ययोजना सार्वजनिक गरेको छ।
पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले घर घर जाऔं, कांग्रेस जिताऔं अभियानबारे जानकारी गराएका हुन्।
सबैको काँधमा भारी, सबैको काँधमा जिम्मेवारी भन्ने नारासहित सबै नेता–कार्यकर्तालाई जिम्मेवारी दिइने उनले बताए। फागुन २९ देखि चैत २९ सम्म चल्ने अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको उनले जानकारी दिए। प्रतिनिधिहरू बिहीबार वा शुक्रबारसम्म जिल्ला–जिल्ला पुग्ने जनाउँदै प्रवक्ता महतले २७ फागुनमा ७७ वटै जिल्ला कार्यसमिति बैठक बसेर अभियानको कार्यक्रम तयारी गर्ने बताए।
पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे सहभागी थिए।