मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवा नआएपछि कांग्रेस प्रवक्ता महतले गरे निर्वाचन अभियानको घोषणा

देउवा नआएपछि कांग्रेस प्रवक्ता महतले गरे निर्वाचन अभियानको घोषणा

सत्तारुढ दल नेपाली कांग्रेसले आशन्न स्थानीय तह निर्वाचनका लागि देशव्यापी अभियान घोषणा गरेको छ।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले आशन्न स्थानीय तह निर्वाचनका लागि देशव्यापी अभियान घोषणा गरेको छ। पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेर प्रवक्ता डा. प्रकाशशरण महतले अभियानको औपचारिक घोषणा गरेका हुन्। 

अभियान अन्तर्गत कांग्रेसले ७७ वटै जिल्लामा पदाधिकारी र केन्द्रीय सदस्य खटाएको छ। फागुन २९ देखि चैत २९ सम्म एक महिने ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्गत कांग्रेसले देशभर केन्द्रीय प्रतिनिधि परिचालन गरेको हो। 

फागुन २७ भित्र केन्द्रीय प्रतिनिधि जिल्लामा पुगिसक्नुपर्ने हुन्छ। केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा जिल्ला र स्थानीय तह खटाइएको हो।

अभियानको घोषणा पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भए पनि उनी भने पत्रकार सम्मेलनमा उपस्थित भएनन्। 

पत्रकार सम्मेलनमा प्रवक्ता महतले सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई प्रयोग गर्ने मामलमा कांग्रेस कमजोर रहेको भन्दै आगामी दिनमा त्यसको भरपुर प्रयोग हुने बताए। 

उनले भने, ‘सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई भरपुर प्रयोग गर्नुपर्छ। यस मामलामा कम्युनिष्ट पार्टी अगाडि छन्। हामीले पनि अब प्रयोग गर्नुपर्छ।’ उनले काममात्रै गरेर नपुग्ने भन्दै प्रचार अभियान समेत तीव्र पार्ने बताए। ‘प्रचार अभियान चुस्त र दुरुस्त सम्प्रेषण गर्न यी माध्यमलाई पनि भरपुर प्रयोग गर्छौं,’ उनले भने।

कांग्रेस नेतृत्वको सरकारले गरेका राजनीतिक र आर्थिक उपलब्धिलाई सशक्त ढंगबाट नेपाली जनताको बीचमा राखेर पुनः स्मरण गराउने महतले बताए। निवर्तमान केपी शर्मा ओली सरकारले गरेका गलत कामको भण्डाफोर र एमसीसीबारे छरिएका भ्रम निवारणसहित ८ एजेण्डा लिएर जनतामा जान लागिएको महतले सुनाए। ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नारा बनाएर कांग्रेसका सबै कार्यकर्तालाई जिम्मेवारी दिन लागिएको महतले बताए।

प्रकाशित: Mar 09, 2022| 15:22 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...