काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितमा भएकाले पार्टीले प्रतिपक्षमा हुँदा पनि अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको भन्दै आगामी स्थानीय निर्वाचनमा एमसीसीबारे जनतालाई बुझाएर भोट माग्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ शंखमूलमा आयोजित एक कार्यक्रममा उनले एमसीसी नेपालको हितका लागि आवश्यक भएकाले कांग्रेसले त्यसको वकालत गरेको बताए।
‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण र नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरे। सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न मिल्दैन,’ उनले भने, ‘एमसीसी राष्ट्रघाती भनेर गलत प्रचार गरियो। राष्ट्रघाति भए संघीय संसदबाट पास हुन्थ्यो त? सरकारमा रहँदा अगाडि बढाउने, सरकारबाट हटिसकेपछि विरोध गर्न थाल्ने? यसरी त मिल्दैन नि।’
अब कांग्रेसका नेता–कार्यकर्ताले नागरिकको घरघरमा पुगेर एमसीसीको वास्तविकता बुझाउँदै मत माग्नुपर्ने उनले बताए।