काठमाडौं– सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र मौलाएको गुटबन्दीका कारण आफ्नो पार्टी समाज परिवर्तनको संवाहकका रूपमा स्थापित हुन नसकेको स्वीकारेका छन्।
बुधबार काठमाडौंमा पार्टी निकट नेपाल उद्योग व्यवसायी महासंघको कार्यक्रममा उनले माओवादी केन्द्र समाजवाद उन्मुख समाज निर्माण गर्ने पार्टी भए पनि आक्रामक ढंगले त्यसको प्रचार हुन नसकेको बताए।
उनले भने, ‘परिवर्तनको प्रमुख संवाहक माओवादी हुनुपर्ने हो। तर, आक्रामक ढंंगले समाजमा स्थापित गर्न हामीले सकेनौं। हामीभित्रको अन्तरविरोध तथा हामी गुटबन्दीमा हराएर परिवर्तनको संवाहक बन्न र शक्ति परिचालन गर्न सकेका छैनौं।’
उनले पार्टीले विधान संशोधन गरेर केन्द्रीय कमिटीमा व्यवसायी, चिकित्सक, इन्जिनियरलगायत समाजका क्षमतावान् व्यक्तिहरूलाई सहभागी गराइने पनि बताए। ‘महत्त्वपूर्ण र क्षमतावान् व्यक्तिहरूलाई केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यता विश्वभरि छ। हाम्रो पार्टीले त्यसरी आत्मसात् गर्न सकेको छैन। विधानमा केही संशोधन गरिएको छ। केन्द्रमा प्रतिनिधित्व नयाँ ढंगले गराइन्छ,’ उनले सुनाए।
माओवादी बिचौलियाको रोल खेल्ने अर्थतन्त्रको विकास गर्ने पक्षमा नरहेको उनले उल्लेख गरे। उद्योग, व्यवसायको विकास गरेर रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यक्ता भएको भन्दै उनले समाज विकासको नयाँ मोडेल खोज्नुपर्नेमा जोड दिए। देशमै भएको साधनस्रोतको अधिकतम सदुपयोग गर्नका लागि उद्योग–व्यवसायको विकास जरुरी रहेको उनको भनाइ थियो।