काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न भनेका छन्।
बुधबार सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले कुनै पनि नेताको नाम नलिई गल्ती स्वीकार नगरे स्पष्टीकरण सोधिने चेतावनी दिए।
उनले भने, ‘एमसीसीमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ, गल्ती स्वीकार गर्नुहोस्। स्पष्टीकरण सोध्नुपर्ने नहोस्। ती कुराहरू आपत्तिजनक छन्, पार्टीले सहन सक्दैन। बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ।’
नेपालको भनाइ पार्टीका नेता झलनाथ खनालप्रति लक्षित थियो। खनालले एमसीसीको चर्को विरोध गरिरहेका छन्। यसअघि पोलिटब्युरो बैठकमा पनि अध्यक्ष नेपालले खनालको आलोचना गरेका थिए।
एमसीसी पास गराउनु आफ्नो पार्टीको बाध्यता भएको नेपालको भनाइ थियो। बैठकमा उनले भने, ‘एमसीसी पास नगरेको भए सभामुख हटाउने, मसहित १४ जना सांसदको पद खारेज गर्ने र नेकपा एसको वैधानिकता नै समाप्त पारेर हामीहरुलाई घर न घाटको बनाउने षड्यन्त्र भएको थियो।’
एमाले अध्यक्ष केपी ओलीले बिनाशर्त एमसीसी पास गरेर आफूहरूलाई समाप्त पार्ने भएपछि त्यसमा संशोधन गरेर भए पनि पारित गरिएको र गठबन्धन जोगाइएको नेपालले बताए। अध्यक्ष नेपालले आगामी निर्वाचनमा अरु दलसँग तालमेल गरेर एमालेलाई पराजित गर्ने दाबी गरे।
आफूहरूले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुगेपछि विद्रोह गर्नुपरेको नेपालले दोहोर्याए। ओलीसँग आत्मसमर्पण गर्ने कि विद्रोह गर्ने भन्ने दुईमात्र विकल्प रहेकाले आफूहरूले भदौ ९ गते विद्रोह गरेर नयाँ पार्टी दर्ता गरेको उनको भनाइ थियो।