मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको लोकतान्त्रिक संस्कारलाई ख्याल गर्न सभापति देउवाको निर्देशन

कांग्रेसको लोकतान्त्रिक संस्कारलाई ख्याल गर्न सभापति देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन वा विपक्षी दल कसैलाई पनि गाली गरेर अभिव्यक्ति नदिन कांग्रेसका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन वा विपक्षी दल कसैलाई पनि गाली गरेर अभिव्यक्ति नदिन कांग्रेसका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।

स्थानीय निर्वाचन लक्षित पार्टीको एक महिने अभियानबारे केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई प्रशिक्षण दिन मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा देउवाले पार्टीको लोकतान्त्रिक संस्कारलाई ख्याल गर्न भनेका हुन्।

देउवाले गठबन्धन दल र विपक्षीलाई समेत निम्नस्तरका गाली निर्देशन दिएका थिए। देउवाले भने, ‘हाम्रो गठबन्धन छ, गठबन्धनलाई बिच्काउने गरी व्यवहार नगरौं, त्यस्तो अभिव्यक्ति पनि नदिऔं। हाम्रो पार्टी विपक्षी पार्टीलाई खेदो गर्ने पार्टी पनि होइन, पार्टीको लोकतान्त्रिक संस्कारलाई ख्याल गर्नुहोला।’

देउवाले गठबन्धन दलहरूको बीचमा शंका उत्पन्न हुने गरी समेत कुनै पनि गतिविधि नगर्न निर्देशन दिएका छन्। प्रशिक्षणका क्रममा देउवाले भने, ‘चुनाव नजिकिएको छ, चुनावमा पार्टीलाई जिताउनुपर्छ। जनताको घरघरमा पुगेर पार्टीका राम्रा कुराहरू प्रचार गर्नुहोस्, जनतालाई बुझाउनुस्। एमसीसीबारेको भ्रमलाई तल्लोस्तरमै पुर्‍याइएको छ, त्यसलाई हामीले पार्टीको अभियानमार्फत चिर्नुपर्छ, राम्रो प्रचार भयो भने पार्टीलाई फाइदा पुग्छ।’

प्रशिक्षणमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार त्यसक्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि अभियानमा ध्यान दिनुपर्ने मुख्य कुराहरूबारे प्रकाश पारेका थिए। महामन्त्री थापाले एमसीसीका कारण पार्टीलाई चुनावमा क्षति हुन सक्ने भन्दै त्यसमा कम्युनिस्ट दलहरूले पैदा गरेको भ्रमबारे जनतालाई स्पष्ट पार्नुपर्ने बताए। उनले भने, ‘कम्युनिस्टहरूले तलसम्म प्रोपोगाण्डा र भ्रम पैदा गरेका छन्, जनताले वास्तविकता के हो भनेर छुट्याउन सकेका छैनन्। त्यसबारे हामीले प्रष्ट गर्नुपर्छ।’

कांग्रेसले यही फागुन २९ गतेदेखि चैत २९ गतेसम्म एक महिने चुनावी अभियान सञ्चालन गर्दैछ। अभियानको तयारीका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। उनीहरु फागुन २७ गते नै जिल्ला–जिल्लामा पुगिसक्ने छन्।

प्रकाशित: Mar 08, 2022| 18:13 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...