काठमाडौं- सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद विघटन गरेर 'अर्ली इलेक्सन' गराउने आफ्नो प्रस्तावलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेको बताएका छन्। पार्टीको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो प्रस्तावलाई प्रधानमन्त्री देउवाले स्वीकार नगरेको बताएका हुन्।
'एमालेले राम्रोसँग संसद् चल्न नदिएपछि हामीले अब सहमतिमै संसद् विघटन गरेर 'अर्ली इलेक्सन'मा जाऔं भन्ने प्रस्ताव गरेका थियौं। तर, प्रधानमन्त्रीजी तयार हुनुभएन,' केन्द्रीय सदस्यहरूलाई समसामयिक राजनीतिक ब्रिफ्रिङका क्रममा प्रचण्डले भनेका थिए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक माघ ४ गते सत्ता गठबन्धनको बैठकमा प्रतिनिधि सभा विघटन गर्नुपर्ने प्रस्ताव गरेका थिए। पार्टीको महाधिवेशन सकिए पनि पदाधिकारी चयनमा सकस, स्थानीय तहको निर्वाचनमा पार्टी कमजोर सावित हुने र प्रधानमन्त्री देउवाले एमसीसी अघि बढाउन खोजेको पृष्ठभूमिमा माओवादी अध्यक्ष प्रचण्डले संसद् विघटनको प्रस्ताव गरेका थिए।