शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • भिडियो
  • स्थानीय चुनावपछि मात्रै माओवादीमा पदाधिकारी, रेखा थापालाई 'चरित्रहीन' भन्ने शर्मिला पक्राउ [२०७८-११-२३]

स्थानीय चुनावपछि मात्रै माओवादीमा पदाधिकारी, रेखा थापालाई 'चरित्रहीन' भन्ने शर्मिला पक्राउ [२०७८-११-२३]

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावमा जुनसकै पार्टीसँग पनि चुनावी तालमेल हुन सक्ने बताएका छन्।
 |  सोमबार, फागुन २३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

vianetvianet

माओवादीलाई पदाधिकारी छान्न सकस

triton college

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनपछि मात्रै पार्टी पदाधिकारी चयन गर्ने भएको छ। सोमबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको नेताहरुको अनौपचारिक बैठकले स्थानीय चुनाव (३० वैशाख) पछि मात्रै पदाधिकारी टुंगो लगाउने निर्णय गरेको हो। 

यसअघि जारी केन्द्रीय कमिटी बैठकले नै पदाधिकारी टुंगो लगाउने बताइएको थियो। तर एमसीसीले पार्टीभित्र उथलपुथल ल्याएपछि तत्काल पदाधिकारीका लागि सहमति जुट्ने अवस्था नरहेको नेता रामनारायण बिडारीले जानकारी दिए।

यद्यपि, बैठकले केन्द्रीय कमिटीलाई भने पूर्णता दिने उनले बताए। जारी केन्द्रीय कमिटीको बैठकले आगामी स्थानीय निर्वाचनका लागि नेताहरुको कार्यविभाजन पनि तय गर्ने बताइएको छ। गत पुस ११ देखि १८ गतेसम्म महाधिवेशन गरेको माओवादी केन्द्रले २ सय ४६ केन्द्रीय सदस्य र अध्यक्ष मात्र चयन गरेको छ। महाधिवेशनले पदाधिकारी छनोट गर्ने जिम्मा केन्द्रीय कमिटीलाई दिएको थियो। 

माओवादीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। विधानअनुसार माओवादीले अब १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष निर्वाचित गर्न बाँकी छ। 

National life insurance

आकांक्षी धेरै भएपछि पदाधिकारी चयन नगरी केन्द्रीय सदस्य मात्र चयन गरेर महाधिवेशन सकिएको थियो। महाधिवेन सकिएको दुई महिना बित्दा पनि पदाधिकारी चयन गर्न नसकेपछि पार्टीमा नेता व्यवस्थापन गर्न अध्यक्ष प्रचण्डलाई चुनौती छ। 

चुनावमा पार्टीले ठूलो सफलता प्राप्त गर्छ : नेपाल

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दाबी गरेका छन्। 

सोमबार रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुलाई काठमाडौंमा स्वागत गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तह निर्वाचनमा अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने बताए 

नेकपा (एकीकृत समाजवादी)को सोमबार पोलिट ब्युरोको प्रथम बैठक काठमाडौंस्थित एक ब्याङ्क्वेटमा सुरु भएको छ। पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

प्रवक्ता खतिवडाले कार्यकर्तालाई एकताबद्ध बनाएर आसन्न स्थानीय तहको निर्वाचनमा परिचालन गर्नु नै पार्टीको अहिलेको मुख्य काम भएको बताए। बैठकले २५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने उनले बताए। 

स्थानीय चुनावमा एमालेसँग पनि तालमेल हुन सक्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावमा जुनसकै पार्टीसँग पनि चुनावी तालमेल हुन सक्ने बताएका छन्। 

नेपाल समयसँग कुराकानी गर्दै नेता पौडेलले स्थानीय तहको आवश्यकता हेरी सोहीअनुसार तालमेल हुने बताएका हुन्। स्थानीय तहकै नेताहरूले कुन दलसँग चुनावी तालमेल गर्ने भनेर निर्णय गर्न सक्ने नेता पौडेलले बताए। 

'माओवादीले पेलिरहेको स्थानमा कांग्रेस र एमाले पनि मिल्न सक्छन्। स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धन हुने हो। यहाँ केन्द्रबाट जबरजस्ती यसैसँग मिल्नुस्, केन्द्रको निर्णय लागू गर्नैपर्छ भनेर हुँदैन,' पौडेलले भने। 

एमसीसी अनुमोदनमा नेतृत्वदायी भूमिका खेलेको र संसदमा प्रतिनिधित्व गर्ने सबै दलको साथ लिएकाले कांग्रेसको मत अझ बढ्नसक्ने उनको आकलन थियो। यद्यपि एमसीसीबारे अझै पनि केही भ्रम बाँकी रहेको र विस्तारै तोडिने उनको भनाइ छ। 

नोबेल मेडिकलका विद्यार्थीलाई पढ्न सक्ने वातावरण बनाउन संसदीय समितिको निर्देशन

संसदीय समितिले एक हप्ताभित्र नोबेल मेडिकल कलेज विराटनगरका १० विद्यार्थीलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ। 

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गते भित्र विद्यार्थीहरुको समस्या समाधान गरेर उनीहरुलाई पढ्नसक्ने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो।  समितिको निर्देशन सुनाउँदै सभापति जयपुरी घर्तीले आगामी तीन महिना कलेजले अतिरिक्त कक्षा सञ्चालन गरेर भएपनि विद्यार्थीहरुको कोर्ष पूरा गरिदिनुपर्ने बताइन्। 

उता चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले नोबेल मेडिकल कलेजमाथि कारबाही हुने बताएका छन्। समितिको बैठकमा बोल्दै उपाध्यक्ष गिरीले नोबेल मेडिकल कलेजले विद्यार्थीहरुमाथि होस्टेलको बहानामा बढी पैसा लिएको सत्य भएको र पटक पटक ध्यानाकर्षण गराएपनि कलेजले अटेरी गरेको भन्दै अबको विकल्प कारबाही भएको बताए। 

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले कलेजले पैसा बढी लिएको वा घटी लिएको भन्ने अधिकार सदस्य सचिवलाई नरहेको भन्दै आक्रोश व्यक्त गरे। 

त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद हितबहदुर तामाङले विद्यार्थीहरुबाट धेरै पैसा असुलेको कुरा प्रष्ट भएको भन्दै कलेजलाई कारबाही गर्नुपर्ने माग गरे। 

नोबेल मेडिकल कलेजको एमबीबीएस प्रथम वर्षका १० विद्यार्थीहरुले कलेजमा सुरक्षामा थ्रेट रहेको भन्दै काठमाडौंको माईतीघरमा रिले अनसनमा छन्। उनीहरुले कलेज स्थानान्तरणको माग सम्बोधन नभएको कारण गत पुस पहिलो साताबाट एमबिबिएस प्रथम वर्षको कक्षा सञ्चालन भइरहेको र स्थानान्तरण नहुँदा आफ्नो पढाइ बिग्रिएको गुनासो गरेका छन्।

महिला उद्यमीलाई कर छुट

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुले सञ्चालन गर्ने सबै उद्योगहरुमा कर छुटको व्यवस्था गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। 

११२औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले महिलाहरुलाई उद्यमशील बनाउनका लागि पनि उनीहरुले संचालन गर्ने सबै उद्योगहरुमा आवश्यक कच्चा पदार्थ र मेसिनहरुमा आगामी आर्थिक वर्षको बजेटमै कर छुटको व्यवस्था गर्न सक्दो प्रयास गर्ने बताइन्। 

मन्त्री रेग्मीले महिलाहरुलाई कुनै पनि अवसरबाट बञ्चित नगर्न आग्रह गरिन्। महिलालाई अवसरबाट बञ्चित गरे समतामूलक समाज निर्माण गर्न नसकिने उनको तर्क थियो।  

रेखालाई चरित्रहीन भन्ने शर्मिला पक्राउ

आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो। 

अभिनेत्री रेखा थापाले वाइबाविरुद्ध प्रहरीको साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन्। आफूमाथि गालीगलौज गरेको भन्दै रेखाले प्रहरीमा जाहेरी दिएकी थिइन्। 

कलाकार पल शाहले नाबालिगमाथि बलात्कार गरेको आरोप लागेपछि थापाले पीडितको पक्षमा फेसबुकमा स्टाटस लेखेकी थिइन्। रेखाले सार्वजनिक टिप्पणी गरेपछि युट्युबमा उनीविरूद्ध घृणा फैलाउने अभिव्यक्तिहरू सार्वजनिक भएका थिए। त्यसै क्रममा वाइबाले छवि ओझासँगको सम्बन्ध उद्धृत गर्दै रेखालाई ‘चरित्रहीन महिला’ भनेपछि रेखाले प्रहरी गुहारेकी थिइन्। साइबर ब्युरोले थप केही युट्युबरलाई सोधपुछका लागि बोलाएको ब्युरोका प्रवक्ता नविन्द्र अर्यालले बताए। 

एकैघरका ५ जनाको घरभित्रै मृत्यु

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ नल्लुमा एकै घरका ५ जनाको मृत्यु भएको छ। टिनको छानो भएको घरभित्र आगो बालेर झ्याल ढोका थुनेर सुनेको देखिएकाले अक्सिजन नपुगेर उनीहरुको मृत्यु भएको हुन सक्ने चिकित्सकको टोलीले अनुमान गरेको छ। 

मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, ३३ वर्षीया सुस्मा, ९ वर्षीय आशिष, ७ वर्षीया आस्मा र २ दिनका शिशु छन्। महानगरीय प्रहरी परिषर जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार ४ जना घरभित्रै र एक  जनाको उपचारका क्रममा मृत्यु भएको हो। 

गम्भीर अवस्थामा रहेका २२ वर्षीय शुभ तामाङको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ।

नेटफ्लिक्सले रोक्यो रुसमा सेवा

नेटफ्लिक्सले रुसमा आफ्नो सेवा बन्द गरेको छ। युक्रेनमाथि रुसी आक्रमणको विरोधमा नेटफ्लिक्सले यस्तो कदम चालेको हो।

ब्लुमबर्ग म्यागजिनका अनुसार अहिले रुसमा नेटफ्लिक्सका करिब १० लाख उपभोक्ता छन्। यसअघि डिज्नी, सोनी, प्यारामाउन्ट र युनिभर्सल स्टुडियोले पनि रुसमा फिल्म प्रदर्शन नगर्ने निर्णय गरिसकेका छन्।

सामाजिक सञ्जाल टिकटकले पनि रुसले लागू गरेको फेक न्युजविरुद्धको कानुनको विरोधमा नयाँ भिडियो पोस्ट गर्न र लाइभ स्ट्रिमिङ गर्न रोक लगाएको छ। 

त्यसैगरी एप्पल, गुगल, फोर्ड, हार्ले–डेभिडसन, एक्सन मोबाइलजस्ता कम्पनीले पनि रुसको कदमको विरोध गर्दै आफ्ना उत्पादन र सेवा रुसमा बन्द गरेका छन्। केही ठूला सामाजिक सञ्जालहरूले रुसी समाचार संस्थाहरूलाई आफ्ना प्लेटफर्ममा प्रतिबन्ध लगाउने घोषणा गरिरहेका छन्। युट्युब, फेसबुक र टिकटकजस्ता प्रमुख सामाजिक सञ्जालले पनि सरकारी स्वामित्वका रुसी सञ्चार माध्यमलाई युरोपमा प्रतिबन्ध लगाएका छन्। 

माइक्रोसफ्टले पनि रुसी समाचार एपहरूलाई माइक्रोसफ्ट एप स्टोरबाट हटाइदिएको छ। यसले आफ्नो सर्च इन्जिन, बिङमा रुसी सञ्चारमाध्यमका समाचारलाई कम प्राथमिकतामा राखिदिएको छ भने रुसी सरकारका विज्ञापनमा प्रतिबन्ध लगाउने बताएको छ।

प्रकाशित: Mar 07, 2022| 19:35 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।