मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्रमन्त्री भन्छन्- युक्रेनमाथि रुसको आक्रमणले विश्वशान्ति खल्बलियो

परराष्ट्रमन्त्री भन्छन्- युक्रेनमाथि रुसको आक्रमणले विश्वशान्ति खल्बलियो

परराष्ट्रमन्त्री डा नारायण खड्काले युक्रेनमाथि रुसको आक्रमणले विश्व शान्ति खल्बलिए बताएका छन्।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

काठमाडौं- परराष्ट्रमन्त्री डा नारायण खड्काले युक्रेनमाथि रुसको आक्रमणले विश्व शान्ति खल्बलिए बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा खड्काले यस्तो बताएका हुन्। 

ठूला र साना देशको सम्बन्ध पनि खल्बलिने भएकाले नेपालले असंलग्न परराष्ट्र नीतिमै अडिएर त्यस सम्बन्धमा वक्तव्य निकालेको उनको भनाइ छ। युक्रेनको पक्षमा नेपाल सरकारले वक्तव्य निकालेको प्रचार भइरहेका बेला मन्त्री खड्काले मुलुकको परराष्ट्र नीति, सबै राष्ट्रहरुको सार्वभौमिकता र संयुक्त राष्ट्र संघको वडापत्रको समेत सम्मान गर्दै नेपाल सरकारले सो सम्बन्धमा वक्तव्य जारी गरेको स्पष्ट पारेका हुन्। 

‘खास गरेर एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथि जुनखालको हमला भयो। यसले विश्व शान्ति खल्बलियो। संयुक्त राष्ट्र संघको बडापत्र बमोजिम एउटा सदस्य राष्ट्र हौं। यसले ठूला–साना देशको सम्बन्धलाई खल्बल्याउने भएको हुनाले संयुक्त राष्ट्र संघको बडापत्रको सम्मान गर्दै, हामीहरुले वक्तव्य पनि जारी गर्‍यौं। र, त्यो असंलग्न परराष्ट्र नीतिकै एउटा पाटो हो। सार्वभौमिकताको सम्मान हुनुपर्छ भन्ने हिसावले, संयुक्त राष्ट्र संघको बडापत्र र अन्तराष्ट्रिय कानुनलाई समेत सम्मान गर्दै वक्तव्य निकालिएको हो।’

मन्त्री खड्काले संयुक्त राष्ट्र संघ संघको सम्बन्धलाई अझ सुदृढ बनाएको, ५३३ जना नेपालीलाई युक्रेनबाट अन्य मुलुकमा पठाएको, नेपालले पनि विपत्तिमा परेका बेला अन्य राष्ट्रहरुलाई सहयोग गर्न सक्छ भन्ने उदाहरण अफगानिस्तानमा राहत सामग्री पठाएर पुष्टि गरेकोलगायतका कार्यहरु आफ्नो कार्यकालमा भएको पनि बताएका थिए। 

परराष्ट्र मन्त्रालयले विभिन्न देशमा रिक्त रहेका राजदूतहरुको नियुक्तिमा अब ढिलाइ नहुने उनको भनाइ छ। एमसीसी वा सत्तागठबन्धनका कारण राजदूत नियुक्तिमा ढिलाइ भएको स्वीकार गर्दै अब ढिला नहुने प्रतिबद्धता जनाएका थिए। 

पत्रकार सम्मेलनमा मन्त्री खड्काले चाँडै विदेशी प्रधानमन्त्री वा राष्ट्रप्रमुखको नेपाल भ्रमण हुने समेत बताएका थिए। यस्तै चिनियाँ नाका खुला गर्नका लागि चिनियाँ विदेशमन्त्रीसँग एक घण्टा टेलिफोन संवाद भएको समेत जानकारी गराएका थिए। 


प्रकाशित: Mar 07, 2022| 18:19 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...