धनगढी– महेन्द्र राजमार्ग हुँदै पूर्वबाट पश्चिम जाँदा रौतहट र सर्लाही छुट्याउने बागमती खोला भेटिन्छ। खोलाको पुल पुग्नुअघि दायाँतिर एउटा खेलकुद एकेडेमी छ– बागमती युवा क्लब। स्थानीय यो ठाउँलाई कर्मैया भनेर चिन्छन्। सर्लाही जिल्लाको बागमती नगरपालिकामा पर्छ यो ठाउँ।
नेपालकै ठूला क्लबमात्र नभएर संघहरुले पनि गर्न नसकेको काम अहिले बागमती युवा क्लबले गरिरहेको छ। ए डिभिजन लिग खेल्ने क्लबहरुलाई नै आफ्नो एकेडेमी बनाउन धौधौ छ। तर विभिन्न खेलको एकेडेमी सञ्चालन गर्दै आएको बागमतीले लामै समय भइसकेको छ।
क्लबको लक्ष्य छ सहिद स्मारक ए डिभिजन खेल्ने। त्यहाँ पुग्नका लागि सी डिभिजनमा छनोट भएर दुई स्तरको लिग जित्नुपर्ने हुन्छ। त्यही सिलसिलामा गत वर्ष एन्फा कम्प्लेक्समा आयोजना भएको सी डिभिजन लिगको छनोटमा बागमतीले पनि भाग लियो। तर छनोट हुन सकेन। त्यसको एक वर्षपछि धनगढीमा आयोजना भएको खप्तड गोल्डकपमा बागमतीले ए डिभिजन लिगमा तेस्रो भएको न्युरोड टिमलाई हरायो।
ठूला र नाम चलेका क्लबलाई हराउन बागमती क्लबले कम मेहनत गरेको छैन। क्लबका प्रशिक्षक रोजित केसी भन्छन्, ‘प्रपर एकेडेमी राख्ने सोच बनाइरहेका छौं। ए डिभिजन लिगसम्म पुग्ने हाम्रोे लक्ष्य हो। त्यसैले अहिलेदेखि नै खेलाडीलाई एक वर्षको सम्झौता गरेर पारिश्रमिक पनि दिएर अभ्यास गराइरहेका छौं।’
नेपालकै ठूला क्लबमात्र नभएर संघहरुले पनि गर्न नसकेको काम अहिले बागमती युवा क्लबले गरिरहेको छ। ए डिभिजन लिग खेल्ने क्लबहरुलाई नै आफ्नो एकेडेमी बनाउन धौधौ छ। तर विभिन्न खेलको एकेडेमी सञ्चालन गर्दै आएको बागमतीले लामै समय भइसकेको छ।
क्लबले खेलाडीको प्रदर्शन, सीप र क्षमताअनुसार १८ देखि ३५ हजारसम्म मासिक तलब दिने गरेको छ। अहिले यसरी एकेडेमी सञ्चालन भइरहेको छ। बागमती नगरपालिकामा भरतकुमार थापा मेयर छन्। एकेडेमीका मेरुदण्ड तिनै मेयर हुन्। सबै जिम्मा आफैं लिएर एकेडेमी सञ्चालन गरिरहेका छन् मेयरले।
‘सर्लाही फुटबलको उर्बर भूमि हो। यहाँबाट जुमानु राई, आदित्य चौधरीलगायत खेलाडी जन्मिए। म पनि स्थानीय नै हो,’ नेपाल समयसँगको कुराकानीमा प्रशिक्षक केसीले भने, ‘त्यसलाई आधार बनाएर मोफसलको बागमती क्लबले पनि केही गर्न सक्छ भनेर एकेडेमी सुरु गरेका हौं।’
नेपालको उदाहरणीय बन्ने भनेर ठूलो लगानीमा सुरु भएको एकेडेमीले नेपालभरका खेलाडीलाई फुटबलको छनोटमा बोलाएको थियो। तीन महिनाअघि प्रशिक्षक केसी अनुबन्ध भएका थिए। ‘पहिलेका प्रशिक्षकले सी डिभिजनमा छनोट गराउन नसकेपछि म आएको हुँ। म आएपछि रिजल्ट राम्रो भएको छ। लिगको तेस्रो भएको टिम एनआरटीलाई पनि हराएका छौं,’ प्रशिक्षक रोजित मुस्कुराउँदै भन्छन्।
रोजित आउनुअघि एकेडेमीले आयोजना गरेको छनोटमा झापा, मोरङ, चितवन लगायतका जिल्लाबाट ५० खेलाडी आएका थिए। त्यहाँबाट २० खेलाडीलाई एकेडेमीमा राखिएको थियो। स्थानीय खेलाडीलाई थप गरेर अहिले ४० खेलाडी छन्।
‘एकेडेमीले नै खेलाडी होस्टेलमा राख्ने र इच्छाअनुसार विभिन्न स्कुल र कलेजसँग समन्वय गरेर पढाइदिने गरेको छ। कलेज सकेका खेलाडी पनि छन् जो अभ्यास गर्छन्,’ प्रशिक्षक केसीले भने, ‘एकेडेमीमा १५ देखि २३ वर्षसम्मका धेरै खेलाडी छन्। क्लबको आफ्नै मैदान छ, आफ्नै बस छ।’
बागमतीको यो टिमबाट पछिल्लो समय राष्ट्रिय यू १८ टिममा तीन खेलाडी समावेश भएका छन्। महिला टिमबाट अझै धेरै खेलाडी छनोट भए। ३० जनामा तीन जना परेको प्रशिक्षक बताउँछन्।
देशकै नमुना बन्ने बाटोमा
बागमतीले अहिलेको उपलब्धि हासिल गर्न निकै लामो समय लगायो। २०५३ सालमा क्लब आधिकारिक रुपमा दर्ता भएको थियो। त्यसअघि टिम दर्ता नगरे पनि फुटबल खेल्ने प्रचलन भने थियो नै। ‘बागमती युवा क्लबको संस्थापक अध्यक्ष बाबुराम कर्माचार्य हो। क्लब दर्ता नगरीकन खेलाउन नपाउने भएपछि कर्माचार्यले दर्ता गराएर खेलाउन थालिएको हो। त्यसअघि उहाँले व्यक्तिगत खर्चमा टिम बनाएर फुटबल खेलाउँथे,’ क्लबको सचिव र आर्थिक व्यवस्थापक समेत रहेका सागर मैनालीले भने, ‘त्यसलाई निरन्तरता दिँदै जाने क्रममा बागमती मोफसलको राम्रो क्लबमा परिचित भएको छ।’
अहिले क्लबसँग महिला फुटबलमा ४५, पुरुषमा ४० खेलाडी छन् भने भलिबलको दुई टिममा २४ खेलाडी छन्। त्यस्तै, क्रिकेटमा १६ खेलाडी छन् भने कराँतेमा ३३ खेलाडी रहेका छन्। त्यसबाहेक तेक्वान्दो सिक्ने खेलाडी पनि क्लबमा आबद्ध छन्।
क्लबले फुटबलसहित ब्याडमिन्टन, भलिबल, क्रिकेट, कराँतेका खेलाडीलाई पनि प्रशिक्षण दिने गरेको छ। क्लबले पुरुषसँगै महिला टिम पनि राखेको छ। केहि समयअघि महिला लिगको छनोट भएको थियो। एन्फा कम्प्लेक्समै बागमती नकआउट चरणमा पुगेर बाहिरियो। नेपालमा महिला फुटबलका प्रतियोगिता कम नै हुन्छन। आफ्नो आसपासमा भएका प्रतियोगितामा बागमती पुग्ने गरेको छ।
त्यस्तै, प्रदेश २ को प्रतियोगिता हुँदा बागमतीको क्रिकेट टिमले केहि दिनअघि मात्र उपाधि जितेको थियो। अहिले भलिबल टिम पनि राम्रो रहेको उनले बताए। कराँते र तेक्वान्दोमा भने देशकै राम्रा खेलाडी उत्पादन गर्ने थलो भएको छ बागमती एकेडेमी। तेक्वान्दो र कराँतेका खेलाडीले ठूला उपाधि जित्ने गरेको मैनाली बताउँछन्।
फुटबलमा पनि ए डिभिजनमा पुग्ने लक्ष्य छ। साथै एकेडेमीबाट खेलाडी उत्पादन गराएका राम्रा खेलाडी राष्ट्रिय टिमसम्म पुर्याउने लक्ष्य क्लबको छ। अहिले उमेर समूहमा बागमतीका थुप्रै फुटबलर राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी भइसकेका छन्।
यसअघि रोजित नै यू १३ राष्ट्रिय टिमको प्रशिक्षक रहँदा बागमतीका आठ खेलाडी राष्ट्रिय टिममा छनोट भए। उनले आफूले शून्य स्तरबाट विभिन्न खेलका महिला र पुरुषको टिम बनाउने लक्ष्य रहेको बताएका छन्।
एनआरटीसँगको जित
अहिले नेपालमा गोल्डकपको सिजन सुरु भएको छ। बागमतीले पनि वर्षको पहिलो खप्तड गोल्डकप खेलिरहेको छ। गोल्डकप खेल्नका लागि उसले तीन सिनियर खेलाडी अनुबन्ध गरेको छ। त्यसैमध्येका एक हुन् विजय घलान।
‘यो हाम्रो लागि सिजनको पहिलो गोल्डकप हो। पहिलो प्रतियोगिताको पहिलो खेलमै हामीले ए डिभिजन लिगमा तेस्रो भएको र अनुभवी प्रशिक्षक रहेको एनआरटीविरुद्ध जित निकाल्यौँ। एनआरटीसँगको जित अहिलेसम्म बागमतीको सबैभन्दा ठूलो जित हो,’ टिमका कप्तानसमेत रहेका विजयले भने, ‘एनआरटीसँग खेल्दा गाह्रो भयो। प्रशिक्षकले हामीलाई प्रेरणा चाहिँ दिनुभएको थियो। टफ टिम छ हामी टफ टिमलाई जित्ने नै हो भनेर पे्ररणा दिनुभएको थियो।’
अहिले क्लबसँग महिला फुटबलमा ४५, पुरुषमा ४० खेलाडी छन् भने भलिबलको दुई टिममा २४ खेलाडी छन्। त्यस्तै, क्रिकेटमा १६ खेलाडी छन् भने कराँतेमा ३३ खेलाडी रहेका छन्। त्यसबाहेक तेक्वान्दो सिक्ने खेलाडी पनि क्लबमा आबद्ध छन्।
एकेडेमीमा लामो संघर्ष र अभ्यासपछिको जित हो यो बागमतीको। त्यसलाई आधार मानेर प्रशिक्षक रोजित क्लब सफल हुँदै गरेको मान्छन्। ‘एनआरटीविरुद्धको जित हेर्दा हामी सफल भएको मान्नुपर्छ। प्रतियोगितामा खेलाडीहरु मोटिभेट भइरहेका छन्। अनुशासन नभए खेलाडी अघि जानै सक्दैनन्, त्यो टिममा छ।’
खेल समयभरि गरेको मेहनत, प्रशिक्षकको मोटिभेसन र जितपछिको उत्साहले अहिले क्लबमा ‘हामी पनि केहि त गर्न सक्छौं’ भन्ने भाव पैदा भएको छ। तर पनि भर्खर एकेडेमीका रहेका खेलाडीले एनआरटीका नेपाली र विदेशी खेलाडीसँग संघर्ष गर्न गाह्रो भएको थियो। ‘हामीले मेसुके, समिर, विनोङ र एरिक विष्टलाई रोक्ने रणनीति लिएका थियौं। विदेशी खेलाडीमा फिजिकल एडभान्टेज हुन्छ। टेक्निकल्ली पनि साउन्ड हुन्छन्। हामीलाई गाह्रो चाहिँ भएको थियो,’ प्रशिक्षक केसीले भने।
‘युवा खेलाडीलाई लिएर ठूलो क्लबसँग कहाँ खेल्न सकिन्छ र?’ प्रश्न जोड्दै विजय भन्छन्, ‘हामी दुई गोलले पछि परेका थियौँ। दर्शक पनि आधा हिँडिसकेका थिए, मेरो मनमा चाहिँ हामीले गोल गर्नुपर्छ भन्ने थियो। त्यो सन्देश मैले टिममा सर्कुलर गरेँ। हाम्रो मोरल हाइ भएकाले हामीले पेस घटाएनौँ र जित निकाल्यौँ।’
युवा खेलाडीलाई त्यस्तो ठूलो टिमविरुद्ध जित निकाल्न सक्ने हिम्मत क्लबको योगदानका कारण नै आएको कप्तान बताउँछन्। उनी अहिले २८ वर्षका भए। उनको इच्छा क्लबमा रहेर फुटबल खेल्ने र क्लबलाई सहयोग गर्ने छ। ‘क्लबमा जोडिएको निकै समय भयो। क्लबले युवा खेलाडीलाई तलब दिएर राख्न सक्नु नै यसको बलियो पक्ष हो।’
अहिले विजयले फुटबल खेल्नेबाहेक केहि सोचेका छैनन्। उनको घरका सबै सदस्य होटल चलाउँछन्। ‘म पनि खेल जीवन टुंग्याएर होटल नै गर्ने हो। तर अहिले होइन,’ उनले भने।
पूर्वको तुलनामा सर्लाहीमा फुटबलको वातावरण कम छ। उनी त्यसलाई बढाउन पनि आम्दानीको बाटो नसमाएर खेल्नमै लागेका हुन्। ‘वातावरण कम भएर के भयो त बागमती फुटबललाई माया गर्ने मान्छे त छन् नि! भाइहरुलाई खेल्न सपोर्ट भएको छ,’ उनले भने।
फुटबलको कोर्ष नै छैन
नेपालमा धेरै विषयको पढाइ हुन्छ तर फुटबलको हुँदैन। फुटबलको आफ्नो कोर्ष र डिग्रि छैन। त्यसैले पनि फुटबलको सैद्धान्तिक ज्ञान दिनका लागि गाह्रो हुने प्रशिक्षक रोजित बताउँछन्। ‘नेपालका सबै जिल्लामा एकेडेमी छैनन्। एकेडेमी नभएपछि खेलको जग हाल्न सकिँदैन। हामीले चाहिँ जे छ त्यसलाई व्यवस्थापन गरेर सिकाउने गरेका छौं,’ रोजितले भने, ‘अब अरु शिक्षाजस्तै फुटबलको पनि सैद्धान्तिक ज्ञान भयो भने अभ्यास गराउन सहज हुन्छ। त्यो अनुसारको प्रयोगात्मक पनि राम्रो हुन्छ नि। यस्तो विषयमा सम्बन्धित निकायले ध्यान दिँदा राम्रो हुन्छ।’
विभिन्न उमेर समूहको एकेडेमी लिड गरेर चलाउन सक्ने प्रशिक्षकको पनि कमी नै छ। अहिले नयाँ र दक्ष प्रशिक्षकहरु आइरहेका प्रशिक्षक रोजित बताउँन्। ‘नेपालमा धेरै राम्रो प्रशिक्षक पनि छन् तर कतिले अवसर नपाएर, कतिले लाइसेन्स नपाएर त्यो भइरहेको छैन,’ उनले भने, ‘हामीले चाहिँ फुटबलको मेरुदण्ड भनेको ग्रासरुट हो भनेर एकेडेमी सुरु गरेको आफ्नै खेलाडी बलियो बनाउने लक्ष्य छ। प्रशिक्षणमा हामी खेलाडीको मोरल हाइ गराउन प्रयास गरिरहेका हुन्छौं। युवा अवस्थामा नै सिकाउँदा चाहिँ प्रशिक्षणमा भनेका कुराहरु खेलाडीले पनि चाँडै टिपिरहेका हुन्छन्।’
अब बागमती एकेडेमीलाई ए डिभिजनमा पुग्नु छ। त्यसका लागि चुनौतिसँगै अवसर पनि छ। एकेडेमीले राम्रो गरिरहे पनि सबै कुरा चाहिँ सम्भव भइसकेका छैनन्। क्लबमा सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक छैनन्। उनलाई गर्ल्स टिमको प्रशिक्षकले पनि सहयोग गरिरहेका छन्। क्लबको आफ्नै फिजियो नभए पनि हस्पिटालिटी पार्टनर भने छ। ‘अब क्लबले खेलाडीलाई मोटिभेसन क्लासका लागि स्पिकरसँग कुरा गरिरहेको छु,’ उनले भने।
अहिले एकेडेमीमा अभ्यास एक समय हुन्छ। बिहान कक्षा जाने खेलाडी नभएकाले सजिलो भएको हो। एक समयको छनोटमा ५० बाट २० खलाडी छनोट गरेको बागमतीले आगामी दिनमा पनि सोहि अनुसार खेलाडी छनोट गर्दै अघि बढ्ने प्रशिक्षक रोजित बताउँछन्। सी क्वालिफायर चढ्नका लागि यो टिम बनाएको हो। त्यसपछि सी खेल्ने भएपछि थप राम्रो टिम बनाउने क्लबको लक्ष्य छ।
‘जति सक्छौं त्यति खलाडी नै राख्छौं। हाम्रो एकेडेमीबाट चलेका खेलाडीहरु ए डिभिजनमा खेलिरहेका छन्। राष्ट्रिय टिममा छन्। तर एकेडेमीमा उत्पादन भएका खेलाडी राम्रो टिममा अनुबन्ध हुने भएकाले सी छनोट हुने क्लबलाई गाह्रो छ। आफ्नो खेलाडी उत्पादन गरेर खेलाडी आफैंले राख्ने कोसिस पनि गरिरहेका छौं। हामीले खेलाडी आफैं राख्नेदेखि सचिन गुरुङ, अभिषेक वाइवाजस्ता उमेर समूहका खेलाडीलाई अनुबन्ध पनि गरेका छौं,’ उनले भने, ‘राम्रा खेलाडीलाई नछोड्ने भनेर राखेको हो। हामीले एक वर्षका लागि अनुबन्ध गरिरहेका छौं। त्यसपछि फेरि अर्को सम्झौता गर्छौँ।’
क्लब, एकेडेमी चलाउन सजिलो छ?
छैन, एकेडेमी चलाउन सजिलो छैन। तर, बागमतीले धेरै स्तरमा सल्लाह र छलफल गरेर यो काम गरिरहेको छ। आफ्नै एकेडेमी, एसी सुविधा सम्पन्न होस्टल, आफ्नै क्यान्टिन, मैदान मात्र होइन। आम्दानीको स्रोत पनि बनाएको छ। भर्खरै मात्र आयस्रोत बनाएको हो क्लबले। बागमती नगरपालिकामा देशकै ठूलो मानव निर्मित ताल छ। त्यो तालमा दैनिक ठूलो संख्यामा पर्यटक आउने गरेका छन्। तालको पार्किङ क्षेत्रको आम्दानी संकलन गरेर भोगचलन गर्न क्लबलाई दिइएको छ।
विभिन्न उमेर समूहको एकेडेमी लिड गरेर चलाउन सक्ने प्रशिक्षकको पनि कमी नै छ। अहिले नयाँ र दक्ष प्रशिक्षकहरु आइरहेका प्रशिक्षक रोजित बताउँन्।
‘पार्किङबाट दैनिक १५ देखि २० हजारसम्म रकम जम्मा हुन्छ,’ व्यवस्थापक मैनालीले भने। मैदान छेउमा ठाउँ निकालेर सटर निर्माण गरी भाडामा दिइएको छ। त्यहाँबाट भाडा उठ्छ। त्यस्तै, क्लबको होटल र तरकारीको पसल पनि छ। ‘ती सबै कुराबाट पनि हामीलाई आर्थिक आम्दानी हुन्छ। सबैभन्दा ठूलो कुरा भनेको बागमती खोला ठेक्कामा लागेको बेला त्यहाँबाट गिटी बालुवा उठाउनेसँग अनुरोध गरेर सहयोग लिने गरेका छौं,’ मैनालीले स्पष्ट पारे।
सर्लाही धेरै ठेकेदार कम्पनी भएको जिल्ला हो। त्यहाँको बागमती खोलाबाट गिटी बालुवा उठाउँदा प्रतिट्राक्टर ५० रुपैयाँ र एक टिपरबराबर २०० रुपैयाँ सहयोग क्लबले पाउँछ। क्लबमा हरेक महिना आठदेखि १० लाख रुपैयाँ खर्च हुने भएपछि मेयरको सहयोगमा ठेकेदारहरुलाई सम्झाइ बुझाइ गरेर आम्दानीका स्रोतहरु स्थापित गरिएका हुन्।
क्लबको भित्रि कुराहरु र प्रतियोगिताको संयोजन मैनाली आफैंले गर्छन्। त्यसका लागि सबै पदाधिकारीले सहयोग गरेका छन्। क्लबका सबैले पदाधिकारीले आ–आफ्नो जिम्मेवारी पूरा गरेको र क्लबमा एकता राम्रो भएका कारण यी सबै कुरा सम्भव भएको मैनाली बताउँछन्। ‘युवाहरु कुलतमा नलागुन्, बरु खेलप्रति सक्रिय होउन् भन्ने लक्ष्यका साथ यो एकेडेमी सुरु गरेको हो,’ उनले भने। त्यसो त बागमतीका मेयर भरत फुटबलको क्रेजी फ्यान नभएको भए यो सबै सम्भव पनि हुने थिएन। उनी बागमती युवा क्लबको पूर्व उपाध्यक्षसमेत हुन्।
सर्लाही बाहेकका ठाउँमा प्रतियोगिता हुँदा भरतरले खेलाडीको यातायात र बसोबासको व्यवस्था गर्ने गरेका छन्। अहिले क्लबले आफ्नै बस किनेपछि यातायात अझ सहज भयो। यति धेरै खेलाडीलाई नियमित प्रशिक्षण दिन राष्ट्रिय संघहरुले पनि सकिरहेका छैनन्। बागमतीले भने सरकारको र कुनै पनि खेल संघको सहयोग विना अनि आफ्नै आम्दानीमा प्रशिक्षण गराइरहेको छ।
त्यो कसरी सम्भव भयो त? जवाफमा व्यवस्थापक मैनाली भन्छन्, ‘हामी त सबै खेलप्रेमी, बागमती नगरपालिका नै खेलप्रेमी। सर्लाहीवासी नै खेलप्रेमी। सबै एक अर्काको सहयोगले यो भएको हो।’ उनले सरकारले सहयोग गरे अझै राम्रो हुने बताए।