जनकपुर– जनकपुर साहित्य महोत्सवको अन्तिम दिन शनिबारको अन्तिम सत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई पत्रकार अमित ढकालले फरक किसिमको प्रश्न सोधे। ढकालको प्रश्न थियो, ‘आज हामी यो वैभवशाली ठाउँमा छौं। तर तपाईंलाई जनकपुरको मन नपरेको कुराचाहिँ बताइदिनुस् न!’ एकछिन लामो सास लिँदै गगनले भने, ‘मधेसको मूल्य र शक्तिलाई केन्द्रले बुझिसकेको छ। तर अझैसम्म मधेस लघुताभास लिएर बसेको छ। आफूले पाएको अधिकार लिन सकेको छैन।’
गगनको भनाइले मधेशले आफ्नो कमजोरी थाहा भयो वा अर्को लघुताभास बोध गर्यो त्यो आउने दिनमा हेर्न बाँकी छ। तर मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत भने गगनको कुरामा चित्त बुझाउने ठाउँ भेट्दैनन्। ‘संघमा बस्ने मान्छे ठूलो, प्रदेशमा बस्ने सानो’ भन्ने मानसिकताका साथ राज्यले मधेशलाई अझै दोस्रो तहमा राखेको मुख्यमन्त्री राउत बताउँछन्। प्रदेशहरूलाई स्वायत्त अधिकार दिँदा तिनले देशै टुक्र्याउँछन् कि भन्ने भयले संविधानप्रदत्त अधिकार दिनसमेत केन्द्र सत्ताले कन्जुस्याइँ गरेको अनुभव राउतले सुनाए।
मधेश र काठमाडौंका यस्तै तीता–मीठा मुद्दामाथि मधेश प्रदशकै राजधानी जनकपुरधाममा फागुन १९, २० र २१ गते ‘जनकपुर साहित्य महोत्सव’ चल्यो। जसमा संस्कृति, साहित्य, समाज र राजनीतिका सवालमा एक दर्जनभन्दा बढी सेसन चले। रैथाने मिथिला कलालाई नै केन्द्रमा राखिएको कार्यक्रमका स–साना पक्षमा पनि मिथिला संस्कृतिको झल्को पाइन्थ्यो।
अतिथिहरूलाई तयार पारिएको खाना, ओढ्ने गमछा, हाते झोला आदिमा मिथिला कला प्रस्तुत गरिएको थियो। महोत्सवमा काठमाडौंबाट आएका साहित्यकारहरूले बेलाबेलामा मैथिली नै बोलेर कुराकानी गरेको दृश्य निकै रोचक देखिन्थ्यो।
मधेश र काठमाडौंका यस्तै तीता–मीठा मुद्दामाथि मधेश प्रदशकै राजधानी जनकपुरधाममा फागुन १९, २० र २१ गते ‘जनकपुर साहित्य महोत्सव’ चल्यो।
महोत्सवको पहिलो दिन जनकपुर उपमहानगरकी उपप्रमुख रिता मिश्रले मैथिलीबाट सबै आगन्तुकलाई स्वागत गरिन्। दोस्रो दिनको ‘स्थानीय विकास’को सत्रमा भने उपप्रमुख रिताले स्थानीय शासनको सकसबारे खुलेर आफ्ना अनुभव सुनाइन्। उनले निडर भएर आफ्नै मेयरले गरेको नराम्रा कामको आलोचना गरिन्।
‘पहिलेको जनकपुर र अहिलेको जनकपुरमा धेरै अन्तर छ। हामी सबैले शिक्षा, स्वास्थ्य, यातायातमा सकेको काम गरेका छौं,’ आँटिली उपप्रमुखले भनिन्, ‘गर्न त खोज्यौं तर संघले हाकिम नै खटाएको हुँदैन। कानुन नै बनाउन दिँदैन। त्यसैले अन्याय, शोषण हटाएर समाजलाई गति दिन सकेका छैनौं।’
अर्की वक्ता रामझरी देवी यादवले मधेशमा महिला समूह बनाएर कृषि कर्म गर्दाको अप्ठ्याराहरू सुनाइन्। मधेशी र त्यसमाथि पनि महिला भएर समाजको अग्रमोर्चामा उभिन निकै संघर्ष गर्नुपरेको उनी बताउँछिन्। रामझरि भन्छिन्, ‘यी घर बस्ने महिलाले पनि पैसा कमाउने काम गर्न सक्छन् र भनेर गाउँमा हाम्रो कुरा काटियो। तर हामीले आफ्नो काम छाडेनौं। बैंकबाट कर्जा लिएर खेतीपाती गर्न थाल्यौं।’
प्रत्येक सहरको आफ्नै विरासत र विशेषता हुन्छ। त्यहाँका मानिसले बाँच्ने शैली अरु सहर वा नगरको भन्दा भिन्न भएकै कारण त्यो सहरको चिनारी पृथक भएको हुन्छ। यही मान्यतामा विश्वास राखेर तीन वर्षअघि मनिष झाले जनकपुर साहित्य महोत्सव सुरु गरे। मधेशको केन्द्र जनकपुरधामलाई काठमाडौंसँग जोडेर सार्थक बहस गर्ने उद्देश्यका साथ उनको समूहले महोत्सव आयोजना गरेको छ।
‘एउटा सहरको सिग्नेचर बनाउन त्यहाँका जनताले निकै प्रयत्न गर्नुपर्छ,’ उद्घाटन सत्रमा मनिषले भने, ‘तपाईं कस्तो कुरा पस्कनुहुन्छ त्यसकै आधारमा तपाईंको सहरको पहिचान बन्दै जान्छ। हामीले यसैका लागि मधेश र जनकपुरलाई केन्द्रमा राखेर साहित्य महोत्सव आयोजना गरेका हौं।’
पहिलो दिन नै लेखक खगेन्द्र संग्रौलाले ‘मधेश, साहित्य र म’ शीर्षकको एकल सत्र चलाए। आफूले बाल्यकालदेखि आजसम्म मधेशबारे जानेको–सुनेको–सिकेको कुराहरू सुनाउँदै संग्रौलाले स्रोतालाई सोचमग्न बनाए। मधेशमाथि कसरी विभेदपूर्ण व्यवहार सुरु भयो भन्ने प्रश्नको निचोड खोज्न उनले प्रयास गरे। ‘मधेसी भन्नेबित्तिकै यो धोती हो, कालो हो, पहाडी, नेपालीभन्दा कम मानव हो भन्ने कुरा चलाइयो,’ संग्रौलाले भने, ‘तर पढेपछि, संगत गरेपछि मेरो दृष्टि आज परिवर्तन भइसकेको छ। तर समाजको भएको छैन।’
जीवनयात्राको क्रममा मधेशमाथि भएका क्रमबद्ध अन्यायपूर्ण विभेदले आक्रान्त आफूलाई आक्रान्त बनाएको कुरा राख्दै उनले भने, ‘मधेशलाई हेप्नुपर्छ भनेर घरले, स्कुलले त सिकाएको होइन। तर शासकीय सत्ताले मधेशमाथि हेय गरेको देखेर समाजले सिक्यो। त्यही समाजबाट हामीले युवाकालमै मधेशमाथि विभेद गर्न सिक्यौं।’
तीन दिने महोत्सवमा १६ वटा शीर्षकमा बहस भए। साहित्य महोत्सव नाम दिए पनि यस महोत्सवका बहसका विषय तेस्रो लिंगीका समस्यादेखि उद्योगीहरूको अनुभूतिसमेत समेट्ने राखिएका थिए। यसबाहेक पहिलो दिन झरी नाच, साँझ ‘कुटुम्ब’ ब्याण्डको सांगीतिक प्रस्तुति, दोस्रो दिन कवि नवराज पराजुलीको एकल कविता वाचन तथा तेस्रो दिन कविता गोष्ठी सम्पन्न भयो।
प्यानल डिस्कसनतर्फ सबै सत्रका वक्ताहरू मधेशको उत्थान हुँदा नेपालले राज्य नै उत्थान हुन सक्ने कुरामा सहमत भए। मधेशको मर्म बुझेर राज्यले व्यवहार गरे देशका धेरै समस्या हल हुनेमा उनीहरूले जोड दिए। कार्यक्रम सञ्चालकहरू, वक्ताहरू र महोत्सवमा खटेका स्थानीय स्वयंसेवी युवाहरूले महोत्सवकै मधेसलाई समतामूलक र समृद्ध बनाउन आ–आफ्नो स्थानबाट काम गर्ने प्रण गरे।