मंगलबार, भदौ २, २०८३

'अर्ली इलेक्सन'को माकुने प्रस्तावमा नेम्वाङको शंका

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले ‘अर्ली इलेक्सन’ को विषय स्थानीय तहको चुनाव सार्ने नियतले आएको हुनसक्ने बताएका छन्।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले ‘अर्ली इलेक्सन’ को विषय स्थानीय तहको चुनाव सार्ने नियतले आएको हुनसक्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले विभिन्न पक्षको दबाबका कारण सरकार स्थानीय तह चुनावको मिति तोक्न बाध्य भएको भन्दै अहिले त्यसलाई सार्ने बहाना खोजिरहेको आरोप लगाए।

उनले भने, ‘चुनाव गर्नका लागि हो कि भत्काउनका लागि हो? स्थानीय तहको चुनावको घोषणा सत्तारुढ गठबन्धनको चाहनाले गरेको होइन, बाध्यताले गरेको हो। उहाँहरुले त्यसलाई रोक्न चाहनुभएको थियो। प्रतिनिधिसभाको चुनावसहित विभिन्न बहानामा चुनाव रोक्न खोजिएको हो।’

आजै सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले संसद्‍मा एमालेले अवरोध जारी राखे अर्ली इलेक्सनमा जाने बताएका थिए। उक्त प्रसंग कोट्याउँदै नेता नेम्वाङले अहिले अर्ली इलेक्सनको कुरा अचानक ल्याइएको भन्दै त्यसमाथि आशंका उब्जिएको बताए।

‘पहिले चाँडो चुनावमा जाउँ भन्दा प्रतिगमन भन्ने साथीहरुले अहिले अचानक यो ढंगले किन यस्तो सोचाइ ल्याइरहेका छन्? कतै हेरेर कतै हिर्काउने काम भएको छ। यसले सत्तारुढ गठबन्धनको हिँडाइ सोझो छैन भन्ने देखाउँछ। स्थानीय तहको चुनावलाई भत्काउन लाग्नु भएको छ। धकेल्ने, पर पुर्‍याउने र गडबड गर्ने लगायतको कुरा हुनसक्छ,’ उनले भने।

उनले थपे, ‘हामीले विशेष कारणवश जनतामा जाउँ न भनेको नै हो। त्यो आफ्नो भनाइमा हामी अडिग छौं। निर्वाचन आयोग, एमाले, नागरिक समाज र सञ्चारमाध्यमको दबाबले बाध्य भएको हो। यसलाई अदालती प्रक्रियाबाट रोक्ने समेत प्रयास भयो। अहिले ढुक्क हुने होइन बढी सतर्क रहेर जनतामा जाने विषयलाई संविधान बमोजिम चुनाव प्रक्रिया सुरु गर्नुपर्छ।’

प्रकाशित: Mar 06, 2022| 15:46 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...