मंगलबार, भदौ २, २०८३

अघि बढ्यो महाभियोग प्रस्ताव, अब के हुन्छ?

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध १ फागुनमा दर्ता भएको महाभियोग प्रस्तावको प्रक्रिया अगाडि बढेको छ।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध १ फागुनमा दर्ता भएको महाभियोग प्रस्तावको प्रक्रिया अगाडि बढेको छ। प्रतिनिधिसभाले आज आइतबार ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेपछि प्रस्ताव अघि बढेको हो। 

नेपालको संविधान, २०७२ को धारा १०१ को उपधारा ३ बमोजिम महाभियोग सिफारिस समिति गठन भएको हो। समितिमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह सदस्य छन्। 

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदहरुले प्रधान न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए। महाभियोग प्रस्ताव दर्ता भएसँगै राणा निलम्बनमा परेका छन्। 

प्रतिनिधिसभाले आज गठन गरेको समितिले बढीमा तीन महिनाभित्र छानबिन गरेर प्रतिवेदन संसद्मा पेस गर्नुपर्ने व्यवस्था छ। महाभियोग सिफारिस समितिले कारबाही थालेपछि सात दिनभित्र जबरालाई आफूमाथि लागेको आरोपमा सफाइ पेश गर्ने मौका दिनुपर्छ। उनले पेश गरेको सफाइ सन्तोषजनक नभए वा तोकिएको समयमा आफैं उपस्थित भई सफाइ नदिएमा समितिले आफ्नो सिफारिससहित प्रतिवेदन संसदमा पेश गर्नेछ।

समितिको प्रतिवेदन प्राप्त भएपछि सभामुखले छलफल गर्ने मिति र समय तोक्नुअघि सांसदहरूलाई अध्ययनको समय दिनुपर्छ। नियमावलीअनुसार त्यस्तो समय न्यूनतम दुई दिनको हुनेछ। तर सभामुखले यस्तो छलफल लम्ब्याउन सक्नेछन्।

कति दिनभित्र प्रतिवेदन निर्णयार्थ पेस गरिसक्नुपर्छ भन्नेबारे प्रतिनिधिसभा नियमावलीले कुनै समयको पाबन्दी लगाएको छैन।

महाभियोगबाट पदमुक्त हुने व्यक्तिले संविधानको गम्भीर उल्लंघन गरेको तथा आचार संहिताको गम्भीर उल्लंघन गरेको भन्ने सूचना सही रहेको भनी प्रतिनिधिसभाका कम्तीमा तीन जना सदस्यले प्रमाणित गरी पेश गरेमा समितिले त्यस्तो उजुरीमाथि छानबिन अघि बढाउन सक्नेछ।

त्यसपछि समितिले महाअभियोग सम्बन्धी कारबाहीका लागि प्रतिनिधिसभासमक्ष सिफारिस गर्नेछ र महाभियोग प्रस्ताव अघि बढ्नेछ। यस्तो प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुने व्यवस्था संविधानमा छ।

महाअभियोग प्रस्ताव पारित भई पदमुक्त भएमा प्रधानन्यायाधीशले पदमा रहँदा कुनै कसूर गरेको भए त्यस्तो कसूरमा संघीय कानुनबमोजिम कारबाही गर्न सकिने व्यवस्था संविधानमा छ। महाभियोगको प्रस्ताव पारित भई पदमुक्त भएको व्यक्तिले त्यस्तो पदबाट पाउने कुनै सुविधा लिन र भविष्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्ति वा मनोनयन हुन पाउने छैनन्। 

प्रकाशित: Mar 06, 2022| 15:19 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...