काठमाडौं– सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद् भंग गरेर तीनै तहको निर्वाचन गर्नेमा जानुपर्ने बताएका हुन्।
संसद्मा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भंग गरेर निर्वाचनमा जानुपर्ने धारणा राखेका हुन्। उनले भने, ‘संसद्मा केपी ओली कति सहने! एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने। त्यसैले अब संसद् भंग गर्ने, संसद् पनि रहन्न, यो बितन्डा पनि रहन्न। अब सबै निर्वाचनमा जाऔं।’
एमालेले आफूले सिफारिस गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही नगरी सभामुख अग्निप्रसाद सापकोटाले विभेदकारी भूमिका निर्वाह गरेको भन्दै लगातार संसद् अवरुद्ध गर्दै आएको छ।