काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका छन्। पूर्व परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले एमसीसी संसद्बाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरूले दबाब र प्रभाव दिएको उल्लेख गर्दै उनीहरूकै चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको आरोप लगाएका छन्।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपालको शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एससीसी छिटो पास गर भनेर अमेरिकाले दबाब दिएको र चीनले रोक्नका लागि प्रयास गरेको भन्दै त्यसले नेपाल डरलाग्दो गरी शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्न सक्ने देखिएको स्पष्ट पारे।
उनले भने, ‘सबैभन्दा डर लाग्ने र खतरा कुरा के भने नेपाल विस्तारै विश्व महाशक्तिको चलखेलको केन्द्र बन्न लागेको स्पष्ट हुन्छ। यही एमसीसीको कुरा गर्दा अमेरिकी पदाधिकारीहरू भन्छन्–चाँडोभन्दा चाँडो निर्णय गर, नभए खारेज गर्छौँ। चीनका पदाधिकारीहरू भन्छन्–जबरजस्ती अनुदान दिनु हुँदैन।'
अध्यक्ष नेपालले विदेशी सहायता लिने-नलिने निर्णय लिने काम नेपालकै भए पनि त्यसमाथि शक्ति राष्ट्रहरूले हस्तक्षेप गरिरहेको बताए। थपे,'देशलाई हित हुन्छ भने लिन्छौँ, हुँदैन भने हामी लिँदैनौँ। तर विदेशी शक्तिको दबाब र प्रभाव हाम्रो राजनीतिक दलका नेताहरूलाई परिरहेको छ। यसले नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकतामाथि पनि गम्भीर प्रश्न खडा भएको छ।’