लुम्बिनी- लुम्बिनी प्रदेशको बर्दिया शान्ति बजार र सुदूरपश्चिम प्रदेशको कैलाली टीकापुरको सम्बन्ध निकै नजिक छ। दिनहुँ कामका लागि शान्ति बजारबाट स्थानीय टीकापुर आउँछन् भने टीकापुरका स्थानीय शान्तिबजार पुग्छन्।
गेरुवा गाउँपालिकामा रहेको शान्तिबजारको व्यापारिक केन्द्र पनि टीकापुर हो। टीकापुरबाट सामान लिएर बिक्री गर्ने थुप्रै व्यापारी छन्। त्यहाँबाट बर्दियाको राजापुरभन्दा नजिक टीकापुर पर्छ। त्यसैले पनि त्यहाँका नागरिकलाई टीकापुर आउन सजिलो छ। आउन सजिलो भए पनि त्यसको बन्देज कर्णाली नदीले लगाएको छ। कर्णाली नदी तरेर आउन सम्भव नभएको र सहजरूपमा आउनलाई पुल पनि छैन।
वर्षौंदेखि शान्तिबजार र टीकापुर जोड्ने सन्कट्टीमा डुंगा सञ्चालन हुँदै आएको छ। नागरिकको ओहोरदोहोरको माध्यम वर्षौंदेखि त्यहीँ डुंगा बनेको छ। शान्ति बजारका वासिन्दा किशोर चौधरीलाई दैनिक टीकापुर ओहोरदोहोर गर्नुपर्छ। व्यावसायिक कामकाजका लागि डुंगामा ओहोरदोहोर गर्दा उनको निकै खर्च हुने गरेको छ। ‘राजापुर हुँदै टीकापुर आउन धेरै टाढा छ। सनकट्टीबाट आउँदा खर्च बढी हुन्छ,’ किशोर भन्छन्, ‘दैनिक १०० रुपैयाँ डुंगा चडेको मात्रै तिर्नुपर्छ। शान्ति बजारबाट टीकापुरसम्मको आवतजावत गर्न सहज भए मेरो मासिक ३ हजार रुपैयाँ रुपैयाँ बच्थ्यो।’
टीकापुर नगरपालिका–२ का विकास विश्वकर्माको गुनासो पनि उस्तै छ। उनलाई पनि बर्दिया र टीकापुर ओहोरदोहोर गरिरहनुपर्छ। व्यवसायका लागि दैनिक ओहोरदोहोर गर्दा निकै खर्च हुने गरेको विकास बताउँछन्।
‘दिनभरि कमाएको पैसा नदी तर्दा सकिन थाल्यो। काम नगरेर पनि हुँदैन। घर एकातिर र व्यापार अर्कोतिर हुँदा निकै समस्या भएको छ,’ उनी भन्छन्, ‘कर्णाली नदीमा पक्की पुल बन्ने कुरा पटक–पटक सुनिन्थ्यो तर त्यो कुरामै सीमित भएजस्तो छ। नदीमा पुल भए सहजरूपमा आवतजावत गर्न सकिन्थ्यो।’
आफू अनुकूल नभएर नदीमा डुंगा अनुकूल आफूहरू चल्नु परेको छ तर पुल भएको भए जतिबेला पनि आवतजावत गर्न सकिने उनी बताउँछन्। -झलनाथ खनाल/रासस