सोमबार, भदौ ३१, २०८१

विप्लवको सक्रियता : नयाँ समीकरणको सम्भावना कति?

सरकारले आगामी वैशाख ३० गतेका लागि घोषणा गरेको स्थानीय चुनावबाट विप्लव खुशी छैनन्। उनी यो स्थानीय चुनावलाई स्वीकार गर्न चाहन्नन्। बरु जनमत संग्रह गर्नुपर्ने उनको तर्क छ।
 |  बिहीबार, फागुन १९, २०७८
nespernesper

दिलीप कुँवर

दिलीप कुँवर

बिहीबार, फागुन १९, २०७८

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ विभिन्न राजनीतिक दलका ‘असन्तुष्ट’ नेताहरुसँग म्याराथन शैलीमा भेटघाट गरेका छन्। खासगरी संसद्बाट एमसीसी सम्झौता पास भएपछि सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) भित्र शीर्ष तहमै असन्तुष्टि देखिएको छ। र, यही मेसोमा विप्लवले भेटघाट तीव्र बनाएका हुन्।

triton college

यसै साता उनले नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एस) का झलनाथ खनाल र नेकपा (एमाले) का भीम रावलसँग भेटघाट गरेका छन्। यहीबीचमा विप्लवले नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलाई पनि भेटेका छन्। विप्लवले भेटेका यी सबै नेता एमसीसी विरोधी हुन्। आफूले भेटेका नेताहरुसँग विप्लवले राजनीतिक सहकार्यको प्रस्ताव गरेको बताइएको छ। साथै उनले आफ्नो पार्टीले आयोजना गर्न लागेको एमसीसीविरुद्धको सभामा पनि नेताहरुलाई सहभागी गराउन पहल गरिरहेका छन्। 

विप्लवले हिजो बुधबार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए। करिब डेढ घण्टा भएको भेटवार्तामा पछिल्लो समय एमसीसीले नेपालको राजनीतिभित्र ल्याएको उथलपुथलको बारेमा छलफल भएको थियो। भेटपछि विप्लवले नेता श्रेष्ठमा बल्ल परिपक्व राजनीतिज्ञको चरित्र विकास भएको टिप्पणी गरेका थिए। उनले सञ्चारकर्मीहरुसँग भने, ‘नेपाली राजनीतिमा कम्युनिष्ट आन्दोलनको योगदानबारे सामान्य छलफल भयो। एमसीसीलाई लिएर उहाँले पार्टीभित्र गरेको आन्तरिक द्वन्द्वलाई पनि मैले खुलेरै सम्मान गरेँ। उहाँ पहिलेभन्दा अहिले धेरै गम्भीर तरिकाले कुरा गर्नुहुन्छ। बल्ल उहाँमा परिपक्व राजनीतिज्ञको चरित्र विकास भएको पाएँ।’

एमसीसीको सवालमा प्रचण्डको दोहोरो चरित्रलाई संकेत गर्दै विप्लवले माओवादीमा केही अपवादबाहेक सबै नेता–कार्यकर्ता एमसीसी पास गर्ने प्रचण्डको निर्णयबाट स्तब्ध भएको दाबी गरे। प्रचण्डको नेतृत्व क्षमतामा ह्रास आइसकेको बताउँदै उनले भने, ‘कमरेड प्रचण्डको सुरुवाती अडान ठिकै थियो। तर एकाएक १२ बुँदे व्याख्यात्मक घोषणाको ट्याग भिरेर दरिद्र भूमिका देखाउनुभयो। यो दुखद् कुरा हो।’ 

उनले ठट्यौली पारामा थपे, ‘कांग्रेस नेता रामचन्द्र पौडेलले पनि आज बिहान एउटा कार्यक्रममा १२ बुँदे व्याख्यात्मक घोषणा लाज छोप्नमात्रै ल्याएको हो भनेर भन्नुभएछ। आखिर हो पनि त्यही नै।’ 

Metro Mart
vianet

नेता श्रेष्ठले सम्पन्न पार्टीको हालै सम्पन्न महाधिवेशनदेखि नै एमसीसीको विपक्षमा मत हाल्नुपर्ने अडान लिँदै आएका थिए। तर, अध्यक्ष प्रचण्डले भने उनको अडानलाई बेवास्ता गर्दै एमसीसी पास गर्न सहयोग गर्ने निर्णय गरे।

पार्टीभित्रको विवाद बाहिर आएपछि नारायणकाजी माओवादी छाडेर नयाँ पार्टी निर्माणमा जुटेको समेत आकलन राजनीतिक वृत्तमा भइरहेको थियो। तर, उनले तत्काल पार्टी छाड्ने कुनै सोच नभएको स्पष्ट पारेका छन्। विप्लवसँगको भेटमा पनि उनले पार्टीभित्रको विभिन्न अन्तरकुन्तरको बारेमा खुलेर बोलेको बताइएको छ। 

बुधबार नै विप्लवले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई उनको निवास भक्तपुरमा पुगेर भेटे। भेटमा नेमकिपाका सांसद प्रेम सुवाल र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा समेत सहभागी थिए। भेटमा नेपाली राजनीतिको पछिल्लो अवस्था र एमसीसीलगायत विषयमा कुराकानी भएको विप्लवको सचिवालयले जानकारी दिएको छ। 

विप्लवले नेकपा (एस) का नेता झलनाथ खनालसँग पनि भेट गरेका छन्।  

आजमात्रै विप्लवले नेकपा एमालेका नेता भीम रावलसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा विप्लवले आफूसँग राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्तहरु एक हुनुपर्ने प्रस्ताव राखेको रावलले जानकारी दिएका छन्। 

उनका अनुसार विप्लवले देशभक्तहरु एक हुनुपर्ने र मोर्चा बनाउनुपर्ने प्रस्ताव गरेका छन्। ‘आज ९बिहीबार० नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो। उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र  मोर्चा बनाउन जोड दिनुभयो। देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो,’ विप्लवसँगको भेटपछि रावलले सामाजिक सञ्जालमा लेखेका छन्। 


के चाहन्छन् विप्लव? 

एमसीसीविरुद्ध आन्दोलित विप्लवको पार्टीले अहिले एमसीसीको विरोध गरिरहेका नेताहरुलाई आफ्नो मोर्चामा ल्याउन प्रयास गरेको देखिएको छ। काठमाडौंको खुलामञ्चमा हुन लागेको एमसीसीविरुद्धको सभालाई नेकपा एसका नेता, झलनाथ खनाल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र एमालेका भीम रावलले पनि सम्बोधन गर्ने भएका छन्। पाँच दलीय गठबन्धनबाट बाहिरिएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि सभालाई सम्बोधन गर्ने तय भएको छ।

त्यसो त गत माघ अन्तिम साता सरकारले स्थानीय चुनाव घोषणा गरेपछि पनि विप्लवले राजनीतिक भेटघाट गरेका थिए। त्यतिखेर उनले माओवादी अध्यक्ष प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए। 

सरकारले आगामी वैशाख ३० गतेका लागि घोषणा गरेको स्थानीय चुनावबाट विप्लव खुशी छैनन्। उनी यो स्थानीय चुनावलाई स्वीकार गर्न चाहन्नन्। बरु जनमत संग्रह गर्नुपर्ने उनको तर्क छ। चुनावको सट्टा एकपटक जनमत संग्रह आवश्यक रहेको उनले बताएका छन्। बुधबार साँझ एक टेलिभिजन अन्तर्वार्तामा उनले भने, ‘अब चुनाव होइन, एक पटक जनमत संग्रह गर्ने आँट गरौँ न। जनताले के चाहन्छन्, थाहा भैहाल्छ नि।’ 

जनमत संग्रहका लागि आफूले प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग कुरा राखिसकेको पनि उनले बताएका छन्। उनले भने, ‘हाम्रो यो मागमा उहाँहरु मौखिक रुपमा मात्र सकारात्मक देखिनुभयो, तर कार्यान्वयन गर्ने सवालमा उहाँहरुले आँट गर्नुभएन। उहाँहरु जनमत संग्रहमा जाऔं भन्दा मन खिन्न बनाएर उदास अनुहार बनाउनुहुन्छ।’ 

सरकारले आगामी वैशाख ३० गतेका लागि घोषणा गरेको स्थानीय चुनावबाट विप्लव खुशी छैनन्। उनी यो स्थानीय चुनावलाई स्वीकार गर्न चाहन्नन्। बरु जनमत संग्रह गर्नुपर्ने उनको तर्क छ।

आफूहरुले परिकल्पना गरेको समाजवादबाट मात्र नेपाली जनताले चाहेको खुशी पाउने र देश आत्मनिर्भर हुने विप्लवको तर्क छ। अहिलेका कांग्रेस र सत्तामा रहेका कम्युनिष्टहरुभन्दा बरु ०३६ सालका राजा र कांग्रेसीहरु बढी अग्रगामी भएको समेत उनले स्मरण गराए। उनले भने, ‘कमसेकम तत्कालीन राजा र कांग्रेसीहरुले जनमत संग्रहको आँट त गरे। तर, अहिलेका कांग्रेसी र कम्युनिष्टहरु त यति निकम्मा निस्के कि करिब ४० वर्षदेखि लागू संसदीय व्यवस्थाले जनतालाई कहिल्यै खुशी बनाउन सकेनन्। अहिलेको संसदीय व्यवस्था दलालहरुको लागि हो। स–साना कुराहरुमा पनि यो देशभित्र बाह्य नियन्त्रण हावी हुँदै गएको छ, नेताहरुलाई लाज लाग्नुपर्ने हो।’ 

एमसीसीका कट्टर आलोचक विप्लव एमसीसी स्वीकार गर्नेहरु सबै देशद्रोही भएको आरोप लगाउँछन्। केही पात्रहरुले आफ्नो स्वार्थको लागि एमसीसी पास गरे पनि यसले दिर्घकालीन रुपमा नेपाली जनतासँग अन्तरविरोध राखिरहने उनले दाबी गरे। उनले भने, ‘मलाई त अचम्म लाग्छ, जनता सहमत छैनन्, कार्यकर्ता सहमत छैनन्, सांसदहरु सहमत छैनन्। र पनि एमसीसी पास गराएरै छाडे। जनताले रिजेक्ट गरेको कुरालाई बलजफ्ती पास गराए, यसको मूल्य कुनै दिन चुकाउनैपर्छ।’

नयाँ समीकरणको सम्भावना कति?

तत्काल आफूहरु कुनै दलसँग पार्टी एकता गर्ने मनशायमा नरहेको विप्लवले बताएका छन्। माओवादी अध्यक्ष प्रचण्डले बारम्बार ‘आफ्नो घर’मा फर्किन आग्रह गरिरहेको भए पनि आफूहरु त्यो मनस्थितिमा नरहेको उनले प्रस्ट्याएका छन्। 

‘प्रचण्डले त अहिले नै एकता गरौं, ढिला भइसक्यो भन्नुहुन्छ नि, तर हामी सम्भव देख्दैनौं,’ उनले भने,  ‘हामीले चाहेको संगठनको एकता होइन, विचार र सोचको एकता हो।’ अस्तित्व, क्षणिक स्वार्थ र भागबण्डाको निम्ति गरिने एकता लामो समय टिक्न नसक्ने उनले बताए। ‘कम्युनिष्टहरु एक हुनुपर्छ भन्दै ओली र प्रचण्डले गरेको जस्तो क्षणिक अभ्यासले कहिल्यै स्थिरता पाउँदैन। मैले त्यतिबेलै भनेको थिएँ– यो पार्टी एकता केवल चुनावी र सत्ताको लागि मात्र हो। आखिर भयो पनि त्यस्तै,’ उनले उदाहरण दिए।

प्रचण्डबारे उनले थपे, ‘वर्तमान राजनीतिमा सबैभन्दा बढी विचलित नेतामा प्रचण्ड अग्रपंक्तिमा आउनुहुन्छ। उहाँ धेरै विचलित हुन थाल्नुभयो। बिहान गरेको निर्णय साँझ उल्ट्याउने, साँझ गरेको निर्णय बिहान उल्ट्याउने गर्न थाल्नुभयो। यस्तो अवस्थामा पार्टी एकताको कुरा त सम्भव नै छैन।’

प्रकाशित: Mar 03, 2022| 17:26 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...