सत्ता गठबन्धनमा चुनावी तालमेल नहुने
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन्।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुन्। उनले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्क समेत गरे। यद्यपि चुनावी तालमेलका विषयमा सत्तारुढ दलभित्र भने छलफल नभएको उनको भनाइ छ।
प्रवक्ता महतले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतिमा लिएर निर्बाध संसद सञ्चालन गराउन आफ्नो पार्टीले प्रयास जारी राख्नेसमेत बताएका थिए। बजेट अधिवेशनमा विपक्षी दलको सक्रिय सहभागिता आवश्यक भएकाले पनि एमालेलाई सहमतिमा ल्याएर संसद चलाउने वातावरण बनाउन कांग्रेसको प्रयास जारी रहेको उनको तर्क थियो।
प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले संवादलाई निरन्तरता दिने बताएका थिए। स्थानीय तहको निर्वाचन तोकिएको समयमा गर्न सरकार अघि बढिसकेको उनको भनाइ थियो।
एमाले-सभामुख आरोप प्रत्यारोप
सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले जारी गरेको प्रेस वक्तव्यप्रति आपत्ति जनाएका छन्। सभामुख सापकोटाको सचिवालयले बुधबार प्रेस नोट जारी गर्दै आफूले बोल्दै नबोलेको कुरालाई एमालेले कुप्रचार गरेको आरोप लगाएको छ।
एमसीसीलगायतका विषयमा स्पष्ट पार्न एमालेले मंगलबार जारी गरेको वक्तव्यमा ‘एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति’ सभामुखले दिएको आरोप लगाएको थियो।
एमालेको विज्ञप्तिलाई सभामुख सचिवालयले अफवाह फैलाउन खोजिएको र राजनैतिक पूर्वाग्रहबाट प्रेरित प्रचार भएको जनाएको छ। सभामुखले बोलेको भनेर प्रचार गरिएका विषयको पुष्टि गर्न समेत एमालेलाई चुनौती दिइएको छ।
‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सभामुख सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिन भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ।’
सभामुखले संविधान र कानुन अनुसार संवैधानिक दायित्व र जिम्मेवारी पूरा गर्दै आएको सचिवालयले जारी गरेको विज्ञप्तिमा दाबी गरिएको छ।
भूपू ब्रिटिस गोर्खा सैनिकका माग सम्बोधन गर्न प्रतिनिधि मण्डल गठन
भूपू ब्रिटिस गोर्खा सैनिकका सम्बोधन गर्न नेपाल सरकारले बेलायतसँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन गरेको छ। बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
बेलायती सेनामा सेवा गरेका भूतपूर्व गोर्खा सैनिकहरुले आफ्नो सेवा-सुविधालाई लिएर लामो समयदेखि संघर्ष गर्दै आएका छन्।
सोमबारको मन्त्रीपरिषद बैठकले विशेष अदालतमा अध्यक्ष तथा सदस्यहरू समेत तोक्ने निर्णयसमेत गरेको छ। अध्यक्षमा श्रीकान्त पौडेललाई तोकिएको मन्त्री कार्कीले जानकारी दिए।
यस्तै, सरकारले मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी)लाई प्रतिनिधिसभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरिएको भन्दै सम्वद्ध सबैलाई धन्यवाद व्यक्त गरेको छ।
पुँजीबजारबारे अर्थमन्त्रीको चासो
अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखसँग पुँजीबजारमा देखिएका समस्याको विषयमा छलफल गरेका छन्।
बुधबार अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाए पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका हुन्। पुँजीबजार सम्बन्धि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले पुँजीबजारमा देखिएका समस्या समाधान गर्नको लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताए।
कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताए। उनले पुँजीबजार सुधारको लागि केही कानुनमा सुधार गर्नु पर्ने बताए। अध्यक्ष हमालले अनलाइन प्रणालीमा सुधार गर्नु पर्ने देखिएकाले बोर्ड लागि परेको जानकारी दिए।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेञ्ज(नेप्से) प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पुँजीबजार सम्बन्धी ऐन समयसापेक्ष बनाउनुपर्ने उल्लेख गरेका थिए।
सुरक्षित गन्तव्यको खोजी
रुस-युक्रेन युद्धबाट प्रभावित ३३२ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन्। प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले युक्रेनमा रहेका नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायत देशमा पुगेको जानकारी दिए।
समितिका अनुसार मंगलबारसम्ममा २३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका हुन्। बैठकमा उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष बद्री केसीले रुसमा रहेका नेपालीहरू पनि नियमित रूपमा युक्रेनमा रहेका नेपालीहरूसँग सम्पर्कमा रहेको जानकारी दिए। उनले एनआरएनएका राष्ट्रिय समितिहरू उद्धार कार्यमा सक्रिय रूपमा लागिपरेको जानकारी दिँदै एनआरएनए पोल्याण्डको सक्रियतामा आर्थिक सहयोग सङ्कलनको पनि तयारी थालिएको जनाए।
रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी किभमा रहेका सम्पूर्ण नेपालीहरूले युक्रेन छोडेको जानकारी दिए। उनले पछिल्लो समय रुसमा रहेका नेपाली विद्यार्थीहरू चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन बताए।
स्वास्थ्य समितिका संयोजक डा बोध सुवेदीले गैरआवासीय नेपाली संघले अप्ठ्यारामा परेका नेपालीलाई खान बस्नको व्यवस्था गरेको जानकारी दिए।
क्यालिब्रेसन उडान सफल
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडान सफल भएको छ। एरो थाईले फागुन ६ देखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान सम्पन्न गरेको हो।
क्यालिब्रेसन उडान सफल भएसँगै नियमित उडानका लागि नागरिक उड्डयन प्राधिकरणले तयारी थालेको छ।। गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोबिन्द प्रसाद दाहालले यान्त्रिक उडानमा सबै राम्रो भएको बताए।
थाइल्याण्डबाट ल्याइएको विशेष विमान मार्फत उडान भरेको विमानको दुरी जाँच, विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतका परिक्षणहरु गरिएको हो। विमानस्थल संचालन पूर्व जडान गरिएको संचार उपकरणहरुको परीक्षणका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ।
विमानस्थलमा वैशाख १ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत परीक्षण उडान गरिने प्राधिकरणले जनाएको छ। विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एयरस्पेस, रुट डिजाइनलगायतका तयारी भइसकेको विमानस्थलका महानिर्देशक दाहालले बताए। उनका अनुसार जेठ २ गते बुद्धजयन्तीका दिनबाट नियमित उडान गर्ने तयारी गरिएको छ।
३० अर्बभन्दा बढीको लगानीमा विमानस्थल निर्माण गरिएको बताइएको छ। बिमानस्थलमा कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग रहेको छ। यस्तै आगमन, प्रस्थान सहितको टर्मिनल भवन, प्रशासकिय भवन, खानेपानी, फायर स्टेशन, मौषम सम्बन्धि जानकारी दिने उपकरण सहित अत्याधुनिक एयर ट्राफिक टावर समेत निर्माण गरिएको छ। विमानस्थल करिब ८ सय बिगाह क्षेत्रफलमा फैलिएको छ।
राप्रपामा थपिए १५ केन्द्रीय सदस्य
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन्।
महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बनेर पराजित भएकी रेखा थापालाई पनि केन्द्रीय समितिमा मनोनयन गरिएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, रेखा थापा काठमाडौं, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही ठकुरी सुर्खेत, स्वाती थापा रुपन्देही, पुष्पा रजौरिया कपिलवस्तु, लक्ष्मी तण्डुकार काठमाडौं केन्द्रीय सदस्य बनेका छन्। यस्तै, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, जयाकुमारी महतो सप्तरी र सावित्रा थापा काठमाडौं पनि केन्द्रीय सदस्यमा मनोनयन भएका छन्।
राप्रपामा १९९ जनाको केन्द्रीय कार्यसमिति रहने प्रावधान छ। महाधिवेशनबाट ९ पदाधिकारी र १४१ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। ५० जना अध्यक्षले मनोनित गर्न पाउँछन्। त्यसअनुसार यसअघि अध्यक्ष राजेन्द्र लिङ्देनले ३२ जना यसअघि मनोनित गरिसकेका छन् भने आज थप १४ जना मनोनित गरेका हुन्
सरस्वती र भगवती विजयी
सातदोबाटोमा बुधबारबाट सुरु भएको सहिद स्मारक बी डिभिजन लिगको पहिलो खेलमा सरस्वती युथ क्लब र श्री भगवती युथ क्लबले विजयी सुरुआत गरेका छन्।
एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा श्री भगवतीले झम्सीखेल युवा क्लबलाई ३–१ गोलले हराएको हो। झम्सीखेलका लागि एकमात्र गोल मानकुमार राईले गरेका थिए। झम्सीखेलविरुद्ध कुमारीका रमेश उराव, अनिल गुरुङ र मिलन खड्काले गोल गरे।
यता अर्को खेलमा भने गएको वर्ष ए डिभिजन क्लबबाट घटुवा भएर आएको सरस्वती युवा क्लबले बाँसबारी युवा क्लबमाथि ३–१ गोलको सहज जित निकालेको छ।
यो जितसँगै सरस्वती र भगवतीले समान ३–३ अंकबाट लिगको सुरुआत गरेका छन्।