मंगलबार, असोज १, २०८१

चार बुँदा केन्द्रमा राखेर छलफलमा छन् प्रचण्ड र नारायणकाजी

संसद्ले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गरेसँगै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रभित्र मतभेद चर्किएको छ।
 |  बुधबार, फागुन १८, २०७८
nespernesper

दिलीप कुँवर

दिलीप कुँवर

बुधबार, फागुन १८, २०७८

काठमाडौं– संसद्ले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गरेसँगै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रभित्र मतभेद चर्किएको छ। पार्टी महाधिवेशनले एमसीसीको विपक्षमा मत हाल्ने निर्णय गरेको थियो।

triton college

तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै उक्त निर्णय–नीतिलाई अन्तिम समयमा उल्ट्याएर १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्न सहयोग गरेपछि पार्टीभित्रको विवाद सतहमा आएको हो। 

प्रचण्डसँग रुष्ट भएका नेता तथा उनकै सहयोद्धा नारायणकाजी श्रेष्ठले आफ्नो पक्षका नेता तथा कार्यकर्ताहरुसँग गोप्य भेलासमेत गरिसकेका छन्। नेता श्रेष्ठले बारम्बार एमसीसीको विपक्षमा मत हाल्ने अडान राख्दै आए पनि प्रचण्डले भने त्यो अडानलाई खासै वास्तै गरेनन्। बरु उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ल्याएको ‘आइडिया’लाई सजिलै स्वीकार गरेर एमसीसी अनुमोदन गराएरै छाडे। 

आफ्ना नेता–कार्यकर्ताको भावना र चाहनाविपरीत प्रचण्डले बलजफ्ती एमसीसी पास गर्न सहयोग गरेको भन्दै नेता श्रेष्ठले खुला रुपमै यसको विरोध गरे। प्रचण्डलाई नै लक्षित गर्दै उनले व्याख्यात्मक घोषणासहितको सम्झौता भनेको संशोधित सम्झौता नरहेको समेत स्पष्ट पारेका छन्।

उनले भनेका छन्, ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइछाडे। आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्। सम्पूर्ण देशभक्त शक्ति एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं।’

Metro Mart
vianet

त्यसो त माओवादीभित्र एमसीसीकै विषयलाई लिएर रुष्ट भएका नेता नारायणकाजी मात्रै भने होइनन्। उनीसँगै कृष्णबहादुर महरा, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, लेखनाथ न्यौपाने, विश्वनाथ साह, अञ्जना विशंखे, राम कार्कीलगायत नेताहरु पनि व्याख्यात्मक घोषणासहितको एमसीसी सम्झौताविरुद्ध छन्।

अनायासै फुत्किएको प्रचण्डको बोली

गत आइतबार राति अबेरसम्म चलेको संसद् बैठकले एमसीसी पास गरेपछि प्रचण्डले भनेका थिए, ‘बल्ल ढुक्क भयो, हामी ठूलो दुर्घटना हुनबाट बच्यौं।’ प्रचण्डले हँसिलो हाउभाउसहित यस्तो अभिव्यक्ति दिइरहँदा उनी मनबाट भने खुसी थिएनन्। किनकि प्रचण्डलाई थाहा भइसकेको थियो कि पार्टीका केही नेता र कार्यकर्ताहरु रिसाइरहेका छन्। एमसीसी त पास भयो, अब रुष्ट भएका नेता–कार्यकर्तालाई कसरी मनाउने–व्यवस्थापन गर्ने भन्ने तनाव थियो उनलाई। 

सोमबार दिउँसो उनले पत्रकार सम्मेलन बोलाएर कार्यकर्ताका नाममा सम्बोधन गरे। पत्रकार सम्मेलनमा सञ्चारकर्मीले प्रचण्डलाई सोधे– तपाईंको निर्णयविरुद्ध तपाईंकै नेता नारायणकाजी श्रेष्ठले चर्को आवाज निकालिरहनु भएको छ। पार्टीमा एकमत छैन, के साँच्चै माओवादी फुटको संघारमा पुगेको हो?’ जवाफमा प्रचण्डले नेता श्रेष्ठलाई संकेत गर्दै भनेका थिए, ‘असन्तुष्ट साथीहरुलाई पार्टीमा बस्न मन नै छैन भने जाँदा हुन्छ।’

संसद्ले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गरेसँगै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रभित्र मतभेद चर्किएको छ।

प्रचण्डको यो अभिव्यक्तिपछि धेरैले माओवादी फुट्ने आकलन गरेका थिए। तर, मंगलबारको घटनाक्रमले त्यो सम्भावना तत्काललाई टरेको छ। नेता श्रेष्ठलाई भेट्न प्रचण्ड उनकै निवास पुगेपछि माओवादी फुट्ने शंका गलत सावित भएको हो। नारायणकाजीलाई भेट्न प्रचण्ड मंगलबार हात्तीवनस्थित उनकै निवास पुगेका थिए। भेटमा सुरुका केही मिनेट पारिवारिक र व्यक्तिगत कुरा चलेको र त्यसपछि पार्टीभित्रको विवादमा केन्द्रित भएर कुराकानी भएको बताइएको छ। करिब दुई घण्टा भएको भेटवार्ताले माओवादी फुटको संघारमा पुगेको आशंकालाई टारिदिएको छ। 

भेटमा प्रचण्डले ‘आफ्नै पार्टीका नेताको असन्तुष्टि पनि समाचारबाट थाहा पाएको’ भन्दै गुनासो गरेका थिए। जवाफमा श्रेष्ठले पार्टी महाधिवेशनमा सबै बसेर छलफल गर्दा एमसीसीको विपक्षमा मत हाल्ने निर्णय भएको तर त्यो निर्णयलाई अध्यक्षले कुल्चिएको बताएका थिए। 

एमसीसीको सवालमा शीर्ष नेताको नाताले अलिकति लचिलो बन्नैपर्ने अवस्था आएको र एमसीसी पास गर्न अप्रत्यक्ष सहयोग नगरेको भए देश ठूलो दुर्घटनामा पर्ने अवस्था आएको प्रचण्डको प्रस्टोक्ति थियो। ‘हामीले हिजो जसलाई प्रतिगमन भनेर सत्ताबाट बाहिर निकाल्यौँ, फेरि सत्तामा उही आउने संकेत पाएपछि यस्तो कदम चाल्नुपरेको हो। यसलाई पार्टीका साथीहरुले बुझ्नुहुनेछ भन्ने अपेक्षा छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै श्रेष्ठ निकट एक नेताले भने। 

पार्टीलाई एकीकृत राख्नु महत्वपूर्ण हुने भन्दै प्रचण्डले नारायणकाजीलाई आफ्नो गुनासो पार्टीमा राख्न भनेका थिए। जवाफमा नारायणकाजीले एमसीसीको सवालमा पार्टी अध्यक्ष भएर खेलेको भूमिकाप्रति मात्र आफ्नो गुनासो रहेको बताएका थिए। साथै सोमबारको पत्रकार सम्मेलनमा प्रचण्डले दिएको अभिव्यक्तिप्रति पनि आफ्नो चित्त दुखाइ रहेको बताएका थिए। जवाफमा प्रचण्डले आवेगमा दिएको टिप्पणीप्रति माफी मागेको बताइएको छ। फेरि चाँडै अर्को भेट गर्ने भन्दै प्रचण्ड हात्तीवनबाट फर्किएका थिए। 

केन्द्रीय कमिटीमा ४ बुँदा प्रस्तुत गर्ने तयारी

अब केही दिनमै माओवादीको केन्द्रीय कमिटी बैठक बस्ने बताइएको छ। उक्त बैठकमा नेता श्रेष्ठले आफ्ना असन्तुष्टि बुँदागत रुपमा प्रस्तुत गर्नेछन्। पछिल्लो समय माओवादी पार्टी नै वैचारिक रुपमा स्खलित हुँदै गएको श्रेष्ठको स्वीकारोक्ति छ। उनले भने, ‘हाम्रो पार्टी किन साँच्चिकै क्रान्तिकारी र कम्युनिष्ट बन्न सकिरहेको छैन? अनैतिक कम्युनिष्ट पार्टी भयो भने त हाम्रो अभ्यास केका लागि? हामीले हाम्रा नेता–कार्यकर्तालाई किन खुसी बनाउन सकिरहेका छैनौ?’

आफ्नो सस्तो प्रचारबाजी गरिदिएको भन्दै उनले मिडियासँग पनि गुनासो पोखेका छन्। पार्टी फुटाउने कुरा आफ्नो मस्तिष्कमै नभएको तर मिडियाले आफूखुसी फुटको संघारमा पुगेको भन्दै समाचार प्रचार गरेको उनको जिकिर छ। नेता श्रेष्ठले अब पार्टीले गरेको गल्तीलाई स्वीकार गरेर, आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने बताए। 

उनले आगामी केन्द्रीय समितिको बैठकमा मुख्यतया ४ वटा बुँदा प्रस्तुत गर्ने तयारी गरेका छन्ः

१) वैचारिक अपष्टता

पार्टीभित्र देखिएको वैचारिक अष्पटतालाई अन्त्य गरेर स्पष्ट कार्यदिशानुसार अघि बढ्ने, ठोस एजेण्डा बनाउने र सामूहिक निर्णयलाई आत्मसात गर्नुपर्ने।

२) गुट प्रवृत्ति

पछिल्लो समय पार्टीभित्र देखिन थालेको गुट–उपगुटको प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने। शीर्ष नेताहरुले पनि एकलौटी निर्णय गर्न नपाउने।

३) बेथितिको संस्कार

नेता–कार्यकर्तामा मौलाउँदै गएको बेथितिको संस्कार अन्त्य गर्नुपर्ने। नेता–कार्यकर्ताहरु प्रदेश र स्थानीय तहमा हुने विकृति, भ्रष्टाचारविरुद्ध लाग्ने।

४) दलाल पुँजीवादीसँग सम्बन्ध

पार्टीलाई सहायता गरेको भन्दैमा कुनै पनि दलाल पुँजीवादीहरुसँग सम्बन्ध नगाँस्ने। उत्पीडित र सर्वहारासँगको सम्बन्धलाई नजिक र बलियो बनाउनुपर्ने। 

प्रकाशित: Mar 02, 2022| 15:48 बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...