एमसीसी अनुमोदन भएकोमा प्रचण्ड खुशी
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदन भएपछि सबै अन्योल अन्त्य भएको दाबी गरेका छन्।
आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन आयोजना गरी प्रचण्डले आफूहरू एमसीसीको विपक्षमा उभिँदा गठबन्धन बचेपनि सरकार बच्नेमा शंका भएपछि व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पक्षमा पुगिएको दाबी गरेका हुन्। एमसीसीका विषयमा आफ्नै पार्टीको नेतृत्वमा सरकार भएका बेला छलफल–बहस भएको भन्दै उनले नेकपाको सरकार हुँदा एमसीसी विवादित भएको आरोप लगाएका थिए।
केपी शर्मा ओली नेतृत्वको सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिका भ्रमण गइसकेपछि 'नेपाल आइपीएसको सदस्य भएको विषय आएकाले एमसीसी विवादित बनेको उनको आरोप थियो। यद्यपि आफूहरूको प्रयासमा एमसीसी सम्झौता अनुमोदन भएकोमा आफूलाई खुशी लागेको उनको भनाइ थियो।
प्रचण्डले एमसीसीलाई लिएर यसअघि आफू र पार्टीले अघि सारेका प्रस्ताव र अडानको बचाउ गरेका थिए। राजनीतिक दल र समाज विभाजित हुँदा संविधान र लोकतन्त्रमाथि घात हुने डरले सहमति जुटाउने आफ्नो प्रयासलाई भिलेनका रुपमा प्रस्तुत गरिएको भन्दै उनले गुनासो गरेका थिए। गत सेप्टेम्बर २९ मा प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त हस्ताक्षर गर्दै एमसीसी अनुमोदन गराउन समय मागेका प्रचण्डले पछि पार्टीलाई विपक्षी कित्तामा उभ्याएका थिए। तर फागुन १५ गते उनको दल माओवादीले समेत एमसीको पक्षमा उभिने निर्णय गरेपछि एमसीसी पारित गराउन सहज भएको थियो।
एमसीसी पारित गराउन एमालेले सहयोग गर्यो : कांग्रेस
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बृहत्तर सहमतिका साथ एमसीसी अनुमोदन भएको बताएका छन्।
प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएको भोलिपल्ट सोमबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेका महतले यसतो बताएका हुन्। एमसीसीका विषयमा अफवाह, भ्रम र द्विविधालाई चिर्दै बृहत्तर सहमतिका साथ अनुमोदन गरिएको उनको भनाइ छ।
प्रमुख प्रतिपक्षी दल एमालेले अन्य मुद्दाका कारण एमसीसी पारित गर्ने प्रक्रियामा औपचारिक सहभागिता नजनाए पनि सहयोग नै गरेको महतको ठहर थियो। उनले कांग्रेसको सुझबुझपूर्ण निर्णयको प्रसंशा भइरहेको दाबी गरेका थिए।
एमसीसीबारे अझै पनि केही भ्रम बाँकी रहेकाले त्यसलाई पनि चिर्न कांग्रेस लागिरहने महतले दृढता व्यक्त गरे।
काठमाडौं र काभ्रेमा शंकास्पद वस्तु निष्क्रिय
काठमाडौं र काभ्रेमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ। काठमाडौं नयाँ बानेश्वरस्थित संसद भवनअघिको मुल सडकमा फेला परेको शंकास्पद वस्तु सेनाले निष्क्रिय बनाएको हो।
सोमबार संसद भवनअघिको मूल सडकमा कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु भेटिएको थियो। कुकुरभित्र इँट्टाको टुक्रा र कागज फेला परेको नेपाली सेनाका क्याप्टेन सन्दीप थापाले जानकारी दिए। कुकरमा विस्फोटक पदार्थ नभएको उनले स्पष्ट पारेका थिए।
यस्तै काभ्रेको बनेपामा भेटिएको शंकास्पद वस्तु पनि नेपाली सेनाले निष्क्रिय पारेको छ। बनेपाको पुलबजारमा भेटिएको वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो।
‘नो एमसिसी’ लेखिएको शंकास्पद वस्तु भेटिएसँगै प्रहरीले सुरक्षा व्यवस्था बलियो बनाएको थियो। उक्त वस्तु राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ।
आइतबार संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) बहुमतले अनुमोदन गरेपछि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका कम्युनिस्ट दलले नेपाल बन्दको घोषणा गरेका थिए। बन्दका कारण शैक्षिक संस्थामा पठनपाठन नभएपनि यातायात र बजारमा भने असर परेन।
आयोगमा ८० दलको निवेदन
स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्।
आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिने समय दिएको थियो। आयोगबाट ११० दलले मान्यता पाएका पनि ८० दलले मात्रै स्थानीय चुनावमा भाग लिनका लागि इच्छा जाहेर गरेको आयोगले जानकारी दिएको हो।
संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने व्यवस्था छ। निवेदनमाथि अध्ययन गरी आयोगले स्थानीय चुनावमा भाग लिने दलको नाम राजपत्रमा प्रकाशित गर्नेछ।
५ वर्ष मल किन्ने सम्झौता
भारतबाट जीटूजीमा ५ वर्षका लागि रासायनिक मल खरिद गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ।
सोमबार दुई देशका अधिकारीहरुबीच भएको भर्चुअल वार्तामा यस्तो सम्झौता भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ। प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार जीटूजी व्यवस्थामा रहेर आगामी पाँच वर्षका लागि नेपाललाई रासायनिक मल दिन भारतसँग समझदारी भएको हो। सम्झौतामा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास डा.गोविन्द प्रसाद शर्मा र भारतको तर्फबाट भारत सरकार रसायन एवं मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
नेपालको कुल मल खपतको ३० प्रतिशत मल भारतबाट ल्याउन जीटूजी गरिएको हो। मल खरिदका लागि भएको प्रारम्भिक समझदारी अनुसार नेपाललले चार वर्षसम्म भारतबाट वर्षेनी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्नेछ । समझदारीको पाँचौँ वर्षमा भने साढे दुई लाख मेट्रिकटन मल भारतबाट ल्याइने छ ।
सुरक्षित स्थान पुगे युक्रेनका २४४ नेपाली
युक्रेनमा रहेका २४४ जना नेपाली छिमेकी देश वा छिमेकी देशको सीमासम्म पुगेका छन्।
रुस–युक्रेन युद्ध प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिले युक्रेनमा रहेका नेपालीहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न सहयोग गरिरहेको बताउँदै यस्तो जानाकारी दिएको हो। समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डमा ६० जना, स्लोभाकियामा १२ जना, हंगेरीमा ४ जना, रोमानियामा १२ जना र माल्डोभामा २ जना सकुशल रूपमा पुगेका छन्।
यस्तै युक्रेनबाट बाहिरिनका लागि पोल्याण्डको सीमामा १३० जना, स्लोभाकियाको सीमामा १२ जना, रोमानियाको सीमामा १० जना र माल्डोभाको सीमामा २ जना नेपाली पुगेका छन्। उनीहरु सोमबार साँझसम्म सीमा पार गर्ने अनुमान गरिएको छ।
गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् भने केही नेपाली 'पर्ख र हेर'को अवस्थामा छन्।
३ साझेदारको हत्या आरोपमा ६ विरुद्ध मुद्दा
मोरङ र ललितपुरमा ३ जना व्यावसायिक साझेदारको हत्या घटनामा सम्बन्धित मुद्दा सोमबार अदालतमा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय मोरङले हत्यामा संलग्न भएको आरोपमा ६ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो।
प्रतिवादी बनाइएका मध्ये ५ जना पक्राउ परेका छन् भने १ जना फरार छन्। अभियुक्तसँग अदालतले आगामी बुधबार बयान लिने बताइएको छ। त्यही दिन इजलासको टुंगो लाग्ने र प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस भएर मुद्दामा अदालतबाट आदेश आउनेछ।
हत्या गरेपछि अलगअलग खाल्डो खनेर गाडिएको अवस्थामा मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा गत माघ १२ र १३ गते दुईवटा शव भेटिएको थियो। प्रहरीले १२ गते सप्तरीको शम्भुनाथ नागरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका ३२ वर्षीय शम्भुकुमार चौधरी र १३ गते सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव खाल्डोबाट उत्खनन गरेको थियो। अनुसन्धानबाट राजेन्द्रको हत्या पुस ३ र शम्भुको पुस ७ गते भएको खुलेको थियो।
त्यसअघि नै अर्का साझेदार तेह्रथुमको संक्रान्ति–२का ६३ वर्षिय मोहन लिम्बूको हत्या भएको पत्ता लागेको थियो। ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोस्थित एउटा घरको कम्पाउण्डमा गाडेको अवस्थामा लिम्बुको शव माघ २० भेटिएको थियो।
रुस-युक्रेन वार्ताका लागि तयार
पाँच दिनदेखिको लगातारको युद्धपछि रुस र युक्रेन दुवै मुलुक वार्ताका लागि तयार भएका छन्।
युक्रेनी राष्ट्रपति भोल्दोमिर जिलेनेस्कीको कार्यालयले रुससँग वार्ताका लागि युक्रेनी अधिकारीहरू बेलारुससँग सीमा जोडिएको क्षेत्रमा पुगेको जानकारी दिएको छ। युक्रेनी विदेशमन्त्री ओलीकेसी रेजिनकोभ नेतृत्वमा युक्रेनी वार्ता टोली बेलारुसतर्फ लागेको हो। टोलीमा राष्ट्रपति जिलेनेस्कीका सल्लाहकार मिखाइलो पोदोल्याक पनि सहभागी छन्।
यसअघि रुसले वार्ताका लागि भन्दै रुसले प्रतिनिधिको टोली बेलारुस पठाएको थियो। यसअघि भने युक्रेनले आफूमाथि आक्रमणका लागि भूभाग उपलब्ध गराउने मुलुकमा वार्ता नगर्ने बताएको थियो। त्यसपछि वार्ताका लागि युक्रेन र बेलारुसको सीमा क्षेत्र निर्धारण गरिएको हो।
रुस-युक्रेन युद्धका छर्रा फुटवलमा
अन्तर्राष्ट्रिय फुटबल खेल्दा रुसले अब राष्ट्रको नाम प्रयोग गर्न नपाउने भएको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानबिना अन्तर्राष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको छ। रुसले अब कुनै अन्तर्राष्ट्रिय पुटबल खेल्दा रुसको सट्टा फुटबल युनियन अफ रुस (आरएफयु) को नामबाट खेल्नुपर्ने फिफाले निर्देशन दिएको हो। यस्तै, उक्त टिमले सहभागिता जनाउने कुनै पनि खेलमा रुसको राष्ट्रिय झण्डा र राष्ट्र गानसमेत प्रयोग गर्न पाइने छैन।
पछिल्लो समय रुसले युक्रेनमा आक्रमण गरेपछि यसको असर विश्व खेलकुदमा समेत देखिन थालेको छ। त्यसमा पनि फुटबलमा धेरै असर देखिएको छ। अब कुनै पनि फुटबल प्रतियोगिता तत्काल रुसमा हुने छैन। यस्तै रुसले आफ्नो घरेलु खेलसमेत दर्शकबिना न्युट्रल भेन्युमा खेल्नुपर्ने पिफाले जनाएको छ।