काठमाडौं– व्यावसायिक साझेदारहरुको हत्या घटनासँग सम्बन्धित मुद्दा सोमबार अदालतमा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय मोरङले हत्यामा संलग्न ६ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो।
घटनाको अनुसन्धान सकेर इलाका प्रहरी कार्यालय रंगेलीले यसअघि नै मिसिल सरकारी वकिललाई बुझाएको थियो। अनुसन्धान प्रतिवेदनका आधारमा अभियोगपत्र तयार पारेर सरकारी वकिल कार्यालयले मोरङ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको हो। मुद्दामा प्रतिवादी बनाइएका मध्ये पाँच जना पक्राउ परेका छन् भने एक जना फरार रहेकाले खोजी जारी राखिएको प्रहरीले जनाएको छ।
फरार रहेकासहित सिरहाको सिरहा नगरपालिका–२१ घर भई काठमाडौं बल्खुमा बस्दै आएका ३१ वर्षिय अनिलकुमार मण्डल, मोरङको जहदा गाउँपालिका–४ का २९ वर्षिय अमित साह भनिने दिनानाथ सोनार, धनपालथान–७ का ६२ वर्षिय नासिर आलम, रंगेली नगरपालिका–३ का ३३ वर्षिय मोहमद सुभाम र सुनसरीको देवानगन्ज गाउँपालिका–६ का १८ वर्षिय मोहमद हकिमलाई प्रतिवादी बनाइएको छ।
अभियुक्तसँग अदालतले आगामी बुधबार बयान लिने बताइएको छ। त्यही दिन इजलासको टुंगो लाग्ने र प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस भएर मुद्दामा अदालतबाट आदेश आउनेछ।
हत्या गरेपछि अलगअलग खाल्डो खनेर गाडिएको अवस्थामा मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा गत माघ १२ र १३ गते दुईवटा शव भेटिएको थियो। प्रहरीले १२ गते सप्तरीको शम्भुनाथ नागरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका ३२ वर्षीय शम्भुकुमार चौधरी र १३ गते सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४८ वर्षिय राजेन्द्रकुमार श्रेष्ठको शव खाल्डोबाट उत्खनन गरेको हो। अनुसन्धानबाट राजेन्द्रको हत्या पुस ३ र शम्भुको पुस ७ गते भएको खुलेको छ।
त्यसअघि नै उनीहरुका व्यावसायिक साझेदार तेह्रथुमको संक्रान्ति–२ घर भई काठमाडौं महानगरपालिका–८ गोठाटारमा बस्दै आएका ६३ वर्षिय मोहन लिम्बूको हत्या भइसकेको पत्ता लागेको थियो। ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोस्थित एउटा घरको कम्पाउण्डमा खाल्डो खनी सिमेन्ट प्लाष्टर गरेर गाडेको अवस्थामा माघ २० गते प्रहरीले मोहनको शव उत्खनन गरेको थियो।
लिम्बूको हत्या गरेर मंसिर २८ गते शव गाडिएको घटनाको भने ललितपुर प्रहरीले अनुसन्धान गर्नेछ। मोरङ घटनामा अदालतको आदेश आइसकेपछि अभियुक्तहरुलाई ललितपुर लैजाने तयारी रहेको प्रहरीले जनाएको छ।