काठमाडौं– ललितपुर मेयर महिला टी २० क्रिकेट च्याम्पियनसिपको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराउँदै विभागीय टिम एपीएफले उपाधि रक्षा गरेको छ। त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा ११२ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरे पनि सुदूरपश्चिमले एपीएफलाई रोक्न सकेन।
फागुन १० गतेबाट सुरु भएको प्रतियोगितामा एपीएफले सुरुबाटै सानदार यात्रा गरेको छ। उसले कुनै खेलमा पनि हार बेहोरेन। एपीएफले पछिल्लो खेलमा लुम्बिनीलाई १० विकेटले हराएको थियो भने ललितपुर मेयर ११ लाई ४२ बल बाँकी रहँदै सात विकेटले हराएको थियो। त्यस्तै, सुदूरपश्चिमलाई पनि एपीएफले सहजै हराइसकेको छ।
उसले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिमलाई छ विकेटले हराएको थियो। त्यस्तै, फाइनल पुग्न नसकेको अर्को बलियो प्रदेश १ लाई एपीएफले सात विकेटले हराएको थियो।
आजको फाइनल खेलमा पनि एपीएफ त्यस्तै जितको लक्ष्यका साथ मैदानमा आएको थियो। खेलमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले पूरा ओभर खेल्दै चार विकेट गुमाएर ११३ रनको लक्ष्य दिएको थियो।
जवाफमा एपीएफले पाँच ओभर बाँकी रहँदै दुई मात्र विकेट गुमाएर लक्ष्य भेट्टाएको हो। एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ४३ रन बनाइन् भने सीता राना मगर १९ रन बनाएर आउट भइन्। पाण्डेले ४४ बलमा पाँच चौकाको सहयोगमा सो रन बनाएकी थिइन्।
त्यस्तै, इन्दू वर्माले अविजित २९ रनको योगदान दिएर एपीएफलाई उपाधि दिलाइन्। सुदूरपश्चिमका सम्झना खड्का र लक्ष्मी साउँदले समान १,१ विकेट गिराए।
पहिलो पारीमा सुदूरपश्चिमका विन्दू रावलले सबैभन्दा धेरै ३७ रन बनाइन् भने डली भट्टले पनि ३६ रनको योगदान दिइन्। त्यस्तै, कविता कुँवरले २४ रन बनाउँदा रेवती धामीले १० रनको योगदान दिइन्।
तुलनात्मक रुपमा कसिलो बलिङ गरेकी एपीएफकी शुस्मा श्रेष्ठले दुई विकेट लिइन् भने रेवती र डली रन आउट भएका थिए।