एमसीसीसम्बन्धी व्याख्यात्मक टिप्पणीसहित प्रतिनिधि सभाबाट सम्झौता सम्झौता पारित भएको छ। एमसिसी पारित गर्न दलहरूले १२ बुँदे व्याख्यात्मक टिप्पणी बनाएका थिए।
नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएको व्याख्यात्मक टिप्पणीमा एमसिसी अमेरिकी सैन्य गठबन्धनको रणनीति नभएको, नेपालको संविधान र कानुनभन्दा माथि नरहेकोलगायत बुँदाहरू समेटिएका छन्।
व्याख्यात्मक टिप्पणीलाई समेत संसदमा पेस गर्ने भएपछि दलहरू एमसीसीलाई टुंगोमा पुर्याउन तयार भएका हुन्।
एमसीसीसम्बन्धी प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै सांसदहरूले एमसीसीका पक्षविपक्षमा आफ्नो धारणा राखेका थिए। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नसकिने बताए।
आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री खनालले एमसीसी सम्झौतामा आपत्तिजनक प्रावधानहरु रहेकाले ति बुँदाहरुको संशोधन र परिमार्जन बिना संसदबाट पारित गर्न नसकिने उल्लेख गरेका थिए। सम्झौतामा सच्याइएको कुराहरु सम्झौताको अभिन्न अंग हुने कुराको सुनिश्चितता भएमात्रै अनुमोदन हुनसक्ने उनले बताए।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताएए। अमेरिकाले विगतदेखि नै सडक, सञ्चार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै एमसीसीमार्फत् आएको सहयोग अनुदानको रुपमा आएको उनको भनाइ थियो।
अध्यक्ष ठाकुरले नेपालले अनुदान पाउने मापदण्ड पुरा गरेकाले मात्रै अनुदान पाएको बताए। उनले आयोजना निर्माणमा हुने बौद्धिक सम्पति नेपालले नै पाउने उल्लेख गरे।
नेकपा (एमाले)का नेता भीम रावलले एमसीसी सम्झौंता संसदमा पेश गरेर सरकारले राष्ट्रप्रतिनै गद्दारी गरेको बताएका छन्।
आईतबार प्रतिनिधिसभा बैठकमा सुरु भएको एमसीसी सम्झौंतामाथिको छलफलमा भाग लिँदै पूर्वपरराष्ट्रमन्त्री समेत रहनु भएका रावलले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता संसदमा पेश गरेर नेपाली काँग्रेस नेतृत्वको सरकारले जनताप्रति अपमान गरेको, जनतालाई धोका दिएको बताएका थिए।
नेता रावलले एमसीसी सम्झौता नेपालको कानुनभन्दा माथि रहेको र यो सम्झौंता कार्यान्वयन अमेरिकी सरकारको निर्देशन र नियन्त्रण अनुसार हुने प्रावधान राखिएको दावी गर्नु गरे। उनले एमसीसी सम्झौता संसदमा होहल्लाका बीच सरकारले पेश गरेको भन्दै आपत्ति समेत जनाए।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले एमसीसीको जिम्मेवारीबाट कुनै पनि राजनीतिक दल भाग्न नमिल्ने बताएका थिए।
आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसीबारेको छलफलमा भाग लिँदै थापाले संसद् हलमा भएका सबै दल एमसीसीमा जिम्मेवार भएको बताएका थिए।
एमसीसीको विपक्षमा धारणा राखेका सत्तारुढ दलका सांसद र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग थापाले थापाले धेरै झुट नबोल्न र हावा कुरा नगर्न पनि उनको आग्रह गरे। नागरिक स्तरबाट उठेका प्रश्नहरूको सम्बोधन सरकारले गर्नुपर्ने थापाले बताए।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय स्वाधीनता र अखण्डमा सम्झौता नहुने बताएका थिए।
राष्ट्रियता र स्वाधीनता सबै नेपालीका लागि महत्वपूर्ण रहेको बताउँदै उनले त्यसमा सरकारले कुनै गलत सम्झौता नगर्ने बताएका थिए।
राष्ट्रपतिको चिन्ता
राष्ट्रपति विद्यादेवी भण्डारीले मानव सभ्यताको निरन्तरताको लागि जलवायु संकटले चुनौती थपिरहेको भन्दै पारिस्थितिकीय प्रणालीलाई सुदृढ तुल्याउन न्यायिक जगतको ध्यानाकर्षण गराएकी छिन्।
आईतवार प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको १५ औ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। उनले सामाजिक अभियन्ताको रुपमा परिचित कानून व्यवसायीहरुले आफूलाई सधैँ अद्यावधिक गर्दै लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समतामुलक र न्यायपूर्ण समाजको निर्माणमा समर्पित हुनुपर्ने बताइन्।
अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन फागुन १५,१६ र १७ गते गरी तीन दिनसम्म सञ्चालन हुने छ।
पल आफैँ पुगे प्रहरीमा
कलाकार पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। उनले आइतबार तनहुँमा पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।
नाबालिग एक किशोरी गायिकालाई ललाइफकाइ करणी गरेको उजुरी परेपछि पल फरार थिए। नाबालिग गायिकाका बुबाले पलमाथि बलात्कारको उजुरी दर्ता गराएका थिए। पलले आत्म समर्पण गरेपछि प्रहरीले उजुरीका आधारमा उनको बयान लिने र अनुसन्धान प्रक्रिया अगाडि बढाउने बताएको छ।
पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
उता, पीडित परिवार उनीविरुद्ध अर्को जाहेरी लिएर नवलपरासीस्थित इलाका प्रहरी कार्यालय गैँडाकोट पुगेको छ। पीडितले प्रहरीसमक्ष दिएको जाहेरीमा आफूमाथि पलले ०७७ चैत ७ गते गैँडाकोट रिसोर्टमा पटकपटक जबर्जस्ती करणी गरेको आरोप छ।
रुसले बेलारुस पठायो प्रतिनिधिमण्डल
चार दिनदेखि युक्रेनमाथि सैन्य आक्रमण गरिरहेको रुसले युक्रेनसँग वार्ता गर्नका लागि प्रतिनिधिमण्डल बेलारुस पठाएको छ। युक्रेनसँग वार्ता गर्नका लागि आफ्नो प्रतिनिधिमण्डल बेलारुस पुगेको रुसी विदेश मन्त्रालयले जानकारी दिएको छ। बीबीसीका अनुसार युक्रेनका राष्ट्रपति भोलोदिमियर जिलेनेस्कीले भने बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव अस्वीकार गरेका छन्।
राष्ट्रपति जिलेनेस्कीले रुसले बेलारुसको भूभागबाट युक्रेनमाथि आक्रमण गर्न रोकेको अवस्थामा भने वार्ता सम्भव हुन सक्ने बताएका हुन्। यदि बेलारुसको क्षेत्रबाट भइरहेका आक्रामक गतिविधिहरु रोकिएको अवस्थामा भने मिन्स्कमा वार्ता गर्न सकिन्छ, अथवा अन्य कुनै भूभागमा पनि वार्ता गर्न सकिन्छ। उनले युक्रेनले युद्ध अन्त्य गर्न चाहेको समेत बताएका छन्। युक्रेनमाथि आक्रमण गर्न प्रयोग गरिएको मुलुकबाहेकमा आफूहरु वार्ता गर्न तयार भएको बताएका छन्।
एपीएफ फाइनलमा
नेपाल एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ।
टियु क्रिकेट मैदानमा आईतबार लिग चरणको अन्तिम खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गरेको हो। लिग चरणमा एपीएफले खेलेका चारवटै खेल जितेको छ। यता सुदुरपश्चिमले भने तीन खेल जित्दै लिगमा दोस्रो हुदै फाइनलमा प्रवेश गरिसकेको छ।
एपीएफ र सुदुरपश्चिमबीचको फाइनल सोमबार टियु मैदानमै हुनेछ। प्रतियोगिताबाट बाहिरिएका प्रदेश १ ले दुई खेल जित्दा लुम्बिनी प्रदेशले १ खेल जितेको छ। ललितपुर मेयर्स ११ ले चारवटै खेलमा पराजय भोगेको थियो।
आईतबारको खेलमा ४५ रनको सामान्य लक्ष्य एपीएफले कुनै पनि विकेट नगुमाई ६ दशमलव ४ ओभरमा पुरा गर्यो। एपीएफको जितमा ज्योति पाण्डेले अविजित २२ रन तथा सिता राना मगरले अविजित १७ रनको योगदान गरे। यसअघि टस जितेर लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै ४४ रन जोडेको थियो।