काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संशोधनविना अघि बढ्न नसक्ने बताएका छन्।
संसद् बैठकमा सुरु भएको एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले सत्ता गठबन्धनमा एमसीसी सम्झौतामा केही संशोधन गर्ने सहमति भएको सुन्नमा आएको भन्दै त्यो के हो भन्ने कुरा सबैलाई जानकारी गराउन अनुरोध गरेका छन्।
नेपाल सरकारले ल्याएको संशोधनका बुँदाहरू एमसीसीले स्वीकार गर्छ कि गर्दैन भनेर उनले प्रश्न गरे। उनले भने, ‘चार दलको बीचमा के–के बुँदामा संशोधन गर्ने सहमति भएको हो, माननीय मन्त्रीले ल्याएपछि त्यसलाई पनि छलफलमा ल्याइयोस्। त्यो बुँदा एमसीसीलाई स्वीकार हुन्छ कि हुँदैन त्यो पनि प्रष्ट पार्नुपर्छ।’
एमसीसी सम्झौतामा हस्ताक्षर हुँदा सदनबाट पारित गर्नुपर्ने व्यवस्था नभएको भन्दै उनले सदनबाट पारित गरेर ऐनका रूपमा मान्यता दिए देशको सार्वभौममाथि प्रहार हुने बताए।
फागुन ८ गते संसद् बैठकमा टेबुल भएको एमससीसीमाथि आज छलफल सुरु भएको हो।