काठमाडौं- नेपाल सुपर लिगको नयाँ टिम झापा फुटबल क्लबले आउँदो सिजनको लागि मार्की खेलाडीका रूपमा अञ्जन बिस्टलाई भित्र्याएको छ।
झापा फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै अञ्जनलाई क्लबमा भित्र्याएको हो। क्लबमा सिइओ विक्रम थापाले ठूलो मूल्यमा अञ्जनलाई क्लबमा भित्र्याए पनि मुख्य कति ? भन्ने प्रश्नको भने जवाफ दिएनन्।
उनले आफूले जाने बुझेको भन्दा धेरै रकम दिएर अञ्जनलाई भित्र्याएको बताएका छन्। यता झापामा अनुबन्ध भएपछि अञ्जनले क्लबको योजना, व्यवस्थापन र फुटबल विकासका लागि गरिरहेको कामबाट प्रेरित भएर क्लबमा अनुबन्ध भएको बताएका छन्।
अञ्जनले भने, ‘मैले जाने बुझेको गरिहाल्छु। मैले पूरा एफोर्ट लगाउँछु। नेपाली फुटबलको विकासको लागि झापाले गरेको योगदानमा सहयोग गर्न म आबद्ध भएको हो।’
‘यो क्लबले फुटबल विकासमा गरिरहेको काम देखेर म आबद्ध भएको हुँ। अञ्जनले यो फागुन १५ गते सम्पन्न भएको सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दीको कप्तानी सम्हालेका थिए।
तर, उनको कप्तानीमा क्लब पाँचौँ स्थानमा रह्यो। मनाङको इतिहासमा पाँचौँ स्थान खराबमध्येको एक हो। उसले अन्तिम खेलमा आर्मीसँग बराबरी खेलेपछि तालिकामा माथि पुग्नसक्ने स्थिति गुमाएको थियो
आइतबार अञ्जनलाई सार्वजनिक गर्ने क्रममा क्लबका महासचिव सुजन गौतमले झापा ११ को परिचय गराए। उनका अनुसार अहिले क्लबमा सात जना कार्यसमिति सदस्य रहेका छन्।
फुटबल क्लबमध्ये नेपालकै पहिलो प्राइभेट लिमिटेड दाबी गरिएको झापा एफसीका चार सदस्य नेपालमा छन् भने बाँकी तीन विदेशमा रहेका छन्। नेपालमा उपलब्ध साझेदारले कार्यक्रममा व्यवस्थापन गरिरहेको पनि उनले जानकारी दिएका छन्।
झापा यो वर्ष मात्र एनएसएलमा सामेल भएको हो। तर एनएसएलमा उसको सम्झौताबारे थप सल्लाह गर्नु पर्ने भएको गौतमले बताएका छन्।