विराटनगर- प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आइतबार (आज) बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको गोपालप्रसाद पराजुलीले बताए। सचिव पराजुलीका अनुसार बिहान बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तयार पारेपछि प्रदेशसभामा छलफल अघि बढाइने छ।
गत मंसिर १ गते मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएपछि स्थगित भएको बैठक साढे ३ महिना पछि बस्ने भएको हो। प्रदेशसभामा आर्थिक तथा वित्तीय कार्यविधि छलफलको क्रममा छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रदेश आमसञ्चार विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ।
नवौं तथा हिउँदे अधिवेशनमा ६ वटा बैठक सम्पन्न भए पनि एउटा पनि विधेयक पारित हुन सकेको छैन। प्रदेश सरकारले पछिल्लो समय कुनै पनि नयाँ विधेयक नल्याएको प्रदेशसभा सचिव पराजुलीले बताए।