मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री देउवादेखि गान्धी प्रतिष्ठानका पूर्वमहामन्त्रीसम्मले गरे महेन्द्रनारायण निधिको प्रसंशा

प्रधानमन्त्री देउवादेखि गान्धी प्रतिष्ठानका पूर्वमहामन्त्रीसम्मले गरे महेन्द्रनारायण निधिको प्रसंशा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महेन्द्रनारायण निधिको सिद्धान्त र आदर्शलाई अगाडि बढाएर गणतन्त्र र संघीयतालाई सुदृढ गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महेन्द्रनारायण निधिको सिद्धान्त र आदर्शलाई अगाडि बढाएर गणतन्त्र र संघीयतालाई सुदृढ गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री महेन्द्र नारायण निधिको १००औं जन्मजयन्तिको अवसरमा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्धारा शनिबार आयोजित शान्ति प्रक्रिया र लोकतन्त्र विषयक भर्चुअल गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्र प्राप्तिको लडाईमा निधिको योगदानको चर्चा गरेका थिए।  

गान्धीवादी नेता निधिलाई सिद्धान्तप्रति अडिग, शान्तिको पथमा हिँड्ने निष्ठा र सत्यवादी नेताको रुपमा स्मरण गर्दै प्रधानमन्त्री देउवाले निधिको आदर्शको राजनीति नयाँ पुस्ताका लागि समेत प्रेरणा हुने उल्लेख गरेका थिए। 

‘उहाँ (महेन्द्रनारायण निधि)को सिद्धान्त र आदर्शको बाटोबाट हिँड्न सके मात्रै देशमा प्राप्त लोकतन्त्र, संघीय शासन व्यवस्था र समावेशिताको कार्यान्वयन अझ बढी सुदृढ हुने कुरामा विश्वास गर्दछु,’ देउवाले भने।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले शान्ति प्रक्रियाका प्रमुख दुई कार्य बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी काम अझै बाँकी रहेकोले उक्त कार्य पुरा नहुञ्जेल शान्ति प्रक्रिया टुंगो नलाग्ने धारणा राखेका थिए। निधिले तीन तहबीचको सम्बन्ध र अधिकारका सूचीको कार्यान्वयनमा सबैको ध्यान जान जरुरी रहेको बताए। 

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले सबैलाई मिलाएर राष्ट्रिय राजनीतिलाई अघि बढाउने प्रयास गरिरहेको कोसिस गरिरहेको भन्दै नेता निधिले सहमति र सहकार्यको राजनीतिक यात्राको प्रयासलाई गठबन्धनमा आबद्ध दलहरुका साथै विपक्षी दलले पनि साथ दिन जरुरी भएको बताएका थिए। उनले सबै मिलेर राष्ट्रहितमा रहेको एमसीसी प्रस्ताव अनुमोदन गर्नु पर्नेमा जोड दिए। 

एमाले नेता ईश्वर पोखरेलले निधिको आदर्श वर्तमान पुस्ताका लागि प्रेरणाको विषय रहेको बताए। नेता पोखरेलले न्यूनत्तम समझदारी कायम गरेर एकताबद्ध भए वर्तमान संकटको हल गर्नुपर्नेमा जोड दिए।  

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैदेशिक सहायताको सामान्य विषयलाई लिएर गिजोलिएको राजनीतिमा आदर्श, मूल्य मान्यता र वैचारिक बहस हुनु प्रशंसनीय रहेको बताए। थापाले निधिले अपनाएको राजनीतिक जीवन दर्शले नेपाली राजनीतिककर्मी मात्र नभई समग्र समाज सेवामा संलग्न व्यक्तिहरुलाई पनि प्रेरणा दिएको बताए।

नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले निधिबाट वर्तमान पुस्ताले निष्ठाको राजनीति सिक्नुपर्ने बताइन्। लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले वर्तमान पुस्ताले ‍उपभोग गरिरहेको प्रजातन्त्रमा महेन्द्रनारायण निधिको अहम भूमिका रहेको बताए। 

गान्धी शान्ति प्रतिष्ठान भारतका पूर्व महामन्त्री सुरेन्द्र कुमारले महेन्द्र नारायण निधिका पुत्र विमलेन्द्र निधिले पिताको आदर्शलाई पछ्याउँदै नेपाल र दक्षिण एशियाको लोकतन्त्र सुदृढ गर्ने दिशामा अग्रसर हुने विश्वास व्यक्त गरे।

प्रकाशित: Feb 27, 2022| 07:52 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...