काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुको बालकोट बैठक सकिएको छ। शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दुबै पक्षका दोस्रो तहका नेताहरुबीच छलफल भएको हो।
उक्त छलफलमा दुबै पक्षले आ-आफ्नो कुरा राखेको र कुनै निष्कर्षमा पुगि नसकेको जनाएका छन्। बैठक सकिएपछि बाहिरिएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुरानै कुराहरुमा छलफल भएको बताएका छन्।
उनले भने, 'कुरा पुरानै छन्। हामीले उहाँहरुलाई प्रतिनिधिसभालाई सूचारु गरौं। एमसीसीलाई अनुमोदन गरौं भन्यौं। उहाँहरुले पुरानै कुरा उठाउनुभएको छ।'
एमालेले प्रतिनिधिसभाको ढोका नखुलेकाले पहिला संसद्को ढोका खोल्न आग्रह गरेको सञ्चारमन्त्री कार्कीले बताएका छन्। उनले थपे, 'एमालेका साथीहरुले ढोका खुलाउने तपाईंहरुको दायित्व हो भन्नुभयो। हामीलेअहिलेको परिस्थितीलाई बुझेर अघि बढौं भन्यौं। संसदमा रहेका जनताका जीवनसँग सरोकार राख्ने धेरै विधेयक छन्, ती पारित हुन् भन्ने हामीले चाहेका छौं।'
त्यसैगरी एमाले महासचिव शंकर पोखरेल मुलुकको लोकतान्त्रिक आन्दोलनका चुनौतिलाई सामाना गर्न ठूला दलले सहकार्य गर्ने विषयमा छलफल भएको जानकारी दिएका छन्। उनले सभामुखको भूमिकामा एमालेको आपत्ति रहेको जानकारी दिए। उनले थपे, 'हाम्रो गुनासो सम्बोधन नगरेसम्म हामी अन्य विषयमा सहयोग गर्न नसक्ने बतायौं। एमसीसी अनुमोदनका लागि उहाँहरुले हाम्रो सहयोग खोज्नुभएको छ। तर, गठबन्धनको साझा दृष्टिकोण के हो? त्यो क्लियर होस् भनेर हामीले भनेका छौं।' आफूहरुले पहिला संसद्मा छलफल गर्ने वातावरण बनाइदन कांग्रेससँग आग्रह गरेको र बाँकी कुरामा सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेको महासचिव पोखरेलले बताए। उनले थपे, 'लोकतन्त्र रक्षाका सन्दर्भमा छलफल जारी राख्ने भन्ने भएको छ। नयाँ केही भएको छैन। उहाँहरुले आफ्ना कुरा राख्नुभयो, हामीले आफ्ना कुरा राख्यौं। नयाँ निष्कर्ष केही पनि निस्किएको छैन।'
बैठकमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतका थिए भने एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, विष्णु पौडेललगायतका नेताहरु रहेका थिए।