काठमाडौं- फिल्म निर्देशक सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा जाहेरी परेपछि फरार भएका अभिनेता पल शाहलाई लुकाउने प्रयास गरेको आरोपमा निर्देशक थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
निर्देशक थापासँग निरन्तर सम्पर्कमा रहेको देखिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। चार दिनदेखि फरार भइरहेका पलले अभिनय गरेको फिल्म 'म यस्तो गीत गाउँछु-२' मा थापाले निर्देशन गरेका छन्।
फिल्मको प्रिमियर शोकै दिन अभिनेता पलविरुद्ध तनहुँमा बलात्कार आरोपमा किटानी जाहेरी परेको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँमा अभिनेता कास्की घर भएकी नाबालिग गायिकाका बुबाले पटकपटक बलात्कार गरेको आरोप लगाउँदै किटानी जाहेरी दिएका थिए। लगत्तै अदालतबाट पक्राउ पुर्जी लिएको प्रहरी भने पललाई खोजेको खोज्यै छ भने पल भागिभागी रहन सफल छन्।
जाहेरी परेको भोलिपल्ट फेसबुकमा घटनालाई प्रभावित पार्ने गरी पलले अडियो सार्वजनिक गरेका थिए। मुलुकी अपराध संहितामा अपराधको आरोप लागेका व्यक्तिलाई भगाउने वा लुकाउने काम गरे कारबाही हुने व्यवस्था छ।