शुक्रबार, जेठ ४, २०८१

पाँच वर्षदेखि लजाइरहेको छ महानगर मेयर शाक्यको घोषणापत्र

अनेक आश्वासन बाँडेर मेयर बनेका विद्या सुन्दर शाक्य अहिले यी कुरा सुन्न समेत चाहँदैनन्। मोनोरेल, मेट्रो रेल त परको कुरा साइकल लेनसमेत बनाउन नसकेका उनी कार्यकाल सकिदै लाग्दा घोषणापत्र सम्झिन पनि चाहँदैनन्। सायद उनलाई त्यो घोषणाले गिज्याउँछ।
 |  शनिबार, फागुन १४, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

शनिबार, फागुन १४, २०७८

काठमाडौं– पाँच वर्षअघि काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्दा विद्यासुन्दर शाक्यले यस्तो सपना देखाएका थिए, मानौं उनी निर्वाचित भएमा काठमाडौं युरोपको कुनै शहर भन्दा कम हुने छैन। काठमाडौंको स्वरुप यसरी बदलिने छ कि पाँच वर्षपछि यहाँ आउने व्यक्तिले काठमाडौंलाई चिन्न मुस्किल पर्नेछ। शान्त, सुन्दर रमणीय काठमाडौं त बन्ने छ नै स्मार्ट सिटी समेत हुने छ। सडकमा कहिँकतै खाल्डा खुल्डी देखिने छैनन्। सहरमा मेगा हल बन्ने छ। राजधानीबासीले मोनोरेल र मेट्रो रेल चढ्न पाउने छन्। साइकल लेनमा साइकलहरु दौडिने छन्। सहज रुपमा पैदालयात्रीहरु सडकमा हिँड्ने छन्।

triton college

यस्ता आश्वासन बाँडेर मेयर बनेका विद्या सुन्दर शाक्य अहिले यी कुरा सुन्न समेत चाहँदैनन्। मोनोरेल, मेट्रो रेल त परको कुरा साइकल लेनसमेत बनाउन नसकेका उनी कार्यकाल सकिदै लाग्दा घोषणापत्र सम्झिन पनि चाहँदैनन्। सायद उनलाई त्यो घोषणाले गिज्याउँछ।

मेयर शाक्यको ५ बर्षे कार्यकाल सकिन अब करिव ३ महिना मात्रै बाँकी छ। तर उनले बाँडेको आश्वासन केवल घोषणापत्रमा सीमित भएको छ। मेयर शाक्य अझै पनि आफूले काम गर्न नसकेको स्विकार गर्दैनन्। बरु महानगरले चाहँदैमा ठूला पूर्वाधार निर्माण गर्न सकिँदैन भन्दै पन्छिने गरेका छन्। महानगरको २७ औं महानगर दिवस मनाउने तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार काम गर्न खोजेपनि मोनोरेल चलाउन महानगर एक्लैले चाहे पनि नसक्ने अवस्था देखिएको बताएका थिए।
शाक्यले संघीय सरकारबाट अनुमति नपाउँदा भृकुटीमण्डपमा निर्माण गर्ने मेगाहल निर्माणको काम पनि नसकेको भन्दै पन्छिने गरेका छन्। उनको भनाइमा महानगरले गर्न चाहेको थियो, तर केन्द्रिय सरकारबाट नै रोकियो।

पूर्वधार विज्ञ समेत रहेको तत्कालिन समयका काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार किशोर थापा भन्छन्, ‘विद्यासुन्दर शाक्य जस्ताले गर्ने राजनीति गर्नुहुन्छ र? उहाँहरुले गर्ने राजनीतिक सपना बाँड्ने मात्रै हो। घोषणापत्रका कार्यहरु गर्नुपर्छ भन्ने त लाग्दै लाग्दैन। कुरा गरेर जनतालाई झुक्याउने मात्रै हो। अधिकांश कुराहरु सम्भव हुनै नसक्ने राखेका थिए। जुन सय दिनमा १ सय वटा काम गर्ने भन्ने थियो। त्यो सम्भव थिएन त्यो जनतालाई झुक्याउने कुरा मात्रै हो। शाक्यले बोलेका कुराहरु बढीमा १० पूरा प्रतिशत भएको छ। मनोरेल र मेट्रोरेल कागजी घोडा मात्रै भो। मनको लड्डु घिउसँग खानु जस्तै हो। जुन किसिमको हाम्रो देशमा आर्थिक सामाजिक राजनीतिक परिवेशमा उहाँका घोषणपत्र सम्भव हुने नै थिएन।’

थापा थप्छन्, ‘सामान्य आधारभूत सुविधा पनि नभएको देशमा स्मार्ट सिटी धेरै परको कुरा थियो। महानगरले सामान्य नगरवासीलाई कम्तिमा सहज बनाउन नरगपालिकामा तिर्नुपर्ने करमा सहजता ल्याउन सकेन। वडामा जाँदा सूचना प्रविधिको विकास भएको देखिँदैन। महानगरमा कति मान्छे बस्छन् भन्ने समेत महानगरसँग डाटा छैन।’

corrent noodles
Metro Mart

थापाका अनुसार भृकुटीमण्डपमा मेगा हल बनाउँछु भन्नु नै गलत हो। उनी भन्छन्, ‘भृकुटीमण्डप नै महानगरको क्षेत्रभित्र पर्दैन। मेगा हल बनाउँछु भन्दा पनि अहिले भएका प्रज्ञा भवन, राष्ट्रिय सभा हल, बानेश्वरको संसद् भवन (जुन केही वर्षमा खाली हुँदैछ) लाई व्यवस्थित गरे हुन्छ। मेगा हल बनाउन सम्भव नै थिएन, हुँदा पनि भएन।’

काठमाडौं महानगरपालिका प्रवक्ता इश्वरमान डंगोल भने महानगर क्षेत्रभित्र थुप्रै काम भएको दाबी गर्छन्। आकाशे पुल, पोखरी, पार्किङ आदि बनाइएको उनले बताए। उनी भन्छन्, ‘महानगरको क्षेत्राधिकारमा परेका कामहरु गरेको छ। केन्द्र सरकारसँग समन्वय गरेर गर्नुपर्ने काम गर्ने प्रक्रियामा रहेको छ।’

दुई वर्षमै महानगरको मुहार फेर्छु भन्दै मेयरमा निर्वाचित भएका शाक्यले प्रशासनिक काममै आफ्नो ५ वर्ष बिताएका छन्। एमालेको घोषणापत्रमा टेकेर चुनाव जितेका शाक्यले स्मार्ट सिटी, साइकल सिटी, मेगा हल, मेट्रो तथा मोनो रेल, सुन्दर, समृद्ध, भ्रष्टाचारमुक्त, स्वस्थ र पर्यावरणमैत्री सांस्कृतिक जीवन्त सहर, ‘योगी, ध्यानी र ज्ञानी’ को विकसित सहर तथा काठमाडौंलाई विश्वको सुन्दर बगैंचा बनाउने महत्त्वाकांक्षी योजना पेस गरेका थिए । उनका योजना घोषणापत्रमै सीमित भए। कुनै पनि योजना पूरा गर्न सकेनन्।
के थियो घोषणा? के गरे?

अनेक आश्वासन बाँडेर मेयर बनेका विद्या सुन्दर शाक्य अहिले यी कुरा सुन्न समेत चाहँदैनन्। मोनोरेल, मेट्रो रेल त परको कुरा साइकल लेनसमेत बनाउन नसकेका उनी कार्यकाल सकिदै लाग्दा घोषणापत्र सम्झिन पनि चाहँदैनन्। सायद उनलाई त्यो घोषणाले गिज्याउँछ।

विद्यासुन्दर शाक्यले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिँदा दुई वर्षभित्रै कायापलट गर्ने घोषणा गरेका थिए। उनले मेयरमा निर्वाचित भएको २ वर्षमै मेट्रो रेलनका लागि डीपीआर तयार गरी दुई वर्षभित्र काम शुरु हुने बताएका थिए। हालसम्म मेट्रोरेल चुनावी घोषणापत्रमै सीमित भएको छ। उनले काठमाडौंको अस्तव्यस्त यातायातलाई व्यवस्थित तथा आधुनिकीकरण गर्न प्रविधियुक्त यातायात पद्धति स्थापना गरी केवलकार, मोनोरेल, अत्याधुनिक बस सेवा तथा विद्युतीय गाडी सञ्चालन गर्ने योजना सुनाएका थिए।

विद्यासुन्दर शाक्यले तीन वर्षभित्र काठमाडौं महानगरको चक्रपथमा क्षेत्रमा मोनो रेल सञ्चालन गर्ने दाबी गरेका थिए। उनले सुनाएका यातायातसम्बन्धी मोनोरेलको डीपीआर अध्ययन शुरु भएपनि अरु प्रगति शून्यजस्तै रहेको छ। उनले काठमाडौंको सार्वजनिक यातायातलाई दिनको २० घण्टा सिटी बस सेवा सञ्चालन गर्ने र कुनै पनि स्थानबाट ५ मिनेटभन्दा बढी हिँड्न नपर्ने गरी सार्वजनिक यातायातको व्यवस्था गर्ने बताएका थिए। यातायात क्षेत्रको व्यवस्थापनको लागि भन्दै स्मार्ट सिटी यातायात कार्डको व्यवस्था गर्ने, उक्त कार्ड मोनो रेल, मेट्रो रेल, सिटी बस, केवलकार सबैका लागि प्रयोग गर्न मिल्ने बनाउने सपना देखाएका थिए।

शाक्यले महानगरभित्र स्मार्ट पार्किङ सिस्टमको व्यवस्थापन गर्ने, विभिन्न ठाउँमा स्वचालित भर्टिकल कार पार्किङ र अन्डरग्राउन्ड पार्किङको व्यवस्था गर्ने बताएकोमा दरबारमार्ग, न्युरोडमा पार्किङलाई व्यवस्थित गर्न प्रयास गरे पनि अरु भाषणमै सीमित रहे। काठमाडौंको कला, संस्कृति सुहाउँदो डिजाइनमा आवासीय कम्प्लेक्सहरु निर्माण गर्ने बताएका थिए। नयाँ तथा व्यावसायिक भवनहरुमा अनिवार्य रुपमा सौर्य उर्जाको प्रयोग गर्ने बताए पनि कागजमै सीमित रहेको छ। अव्यवस्थित भृकुटीमण्डपलाई अत्याधुनिक रोलर कोस्टर सहितको एम्युजमेन्ट पार्क र वाटर पार्कका रुपमा विकास गर्ने योजना महानगरबासीलाई सुनाएका थिए। भृकुटीमण्डपमा अहिलेसम्म कुनै परिवर्तन गरिएको छैन।

पूर्वाधारविद् डा. सूर्यराज आचार्यका अनुसार विद्यासुन्दर शाक्य असफल हुनुका पछाडि महानगरले ल्याएका योजनाहरु नै गलत थिए। यसले दिने लाभ र यसमा लाग्ने लागतको हेक्का नै नगरी मेयरले हचुवाका भरमा यस्ता योजनाको घोषणा गर्दा हरेक काम अलपत्र परेको उनको भनाइ छ।

शाक्यले मेयरको भूमिका के हो भनेर बुझ्नै नसकेको पूर्वाधारविद् आचार्यको बुझाइ छ। ‘उहाँले एउटा ठूलो वडाको वडाध्यक्षले जस्तो भूमिका देखाइरहनु भएको छ। मेयर भएपछि सबै वडाको प्रतिनिधित्व गर्नुपर्छ भन्ने ज्ञान उहाँमा देखिँदैन। व्यवस्थापकीय कार्यशैली फिटिक्कै देखिएन,’ आचार्यले भने, ‘काठमाडौंको सहरी विकास, पूर्वाधारको आधार, नागरिकलाई दिने सेवाको कसीमा राखेर हेर्दा उहाँको सबै काम कर्मकाण्डीजस्तो मात्रै देखिन्छ।’

सस्तो लोकप्रियताका लागि हचुवाकै भरमा कार्यक्रम घोषणा गरिएकाले कार्यान्वयन तहमा जान नसकेको आचार्यको टिप्पणी छ। ‘धेरै मेयरको अज्ञानताका कारण यस्ता हचुवा घोषणा आउँछन्। न विज्ञसँग छलफल छ, न त आफूसँग ज्ञान नै। सस्तो लोकप्रियताका लागि घोषणा गर्दै हिँड्दैमा यस्ता योजना कसरी सफल हुन्छ त?’ उनले भने, आफूले गरेका घोषणा उपयुक्त छन् कि छैनन् भनेर महानगरले अध्ययन गरेको देखिएन।’

शाक्यले गरेका काममध्ये सार्वजनिक शौचालय एक दुईवटा मात्र देखेको आचार्यले बताए। भने, ‘विद्यासुन्दर शाक्यको कार्यकालबाट सिकेको एउटा कुरा राजनीतिको पनि असफलता भएको छ। कार्यकारी मेयरलाई राजनीतिक पार्टीले मौका दियो। काठमाडौंको मेयरको दायित्व के हो, क्षमता कस्तो चाहिन्छ भन्ने कुरा सोच्दै नसोची एमालेको एउटा कार्यकतालाई मौका दिने रुपमा शाक्यलाई छानेको रहेछ। त्यसैले यो असफल कार्यकालबाट राजनीतिक पार्टी र मतदाताले अबको मेयर पूर्वाधार, सहरी विकासको आधारभूत ज्ञान बुझेको हुनुपर्ने यो एउटा पाठ हो।’

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा. नवराज खतिवडा मेयर शाक्यले सहर के हो भन्ने नबुझी ५ वर्र्षे कार्यकाल गुजारेको बताउँछन्। ‘अहिलेको समयमा महानगरलाई कस्तो बनाउने भन्ने त परको कुरा, सहर कस्तो हुन्छ भन्ने कुरा पनि उहाँले बुझेको देखिएन। जागिर खान आएको एउटा कर्मचारी र आफ्नो स्वार्थको मात्रै काम गर्ने व्यक्तिजस्तो उहाँको भूमिका देखियो,’ उनले भने।

खतिवडाले थपे, ‘काम गर्नेका लागि ५ वर्षको समय भनेको ठूलो अवसर हो। धेरै काम गर्न सक्छ मेयरले। कम्तिमा सडक गतिलो बनाउने काम समेत गर्न सक्नुभएन काठमाडौंका मेयरले। धुलो फाल्न भन्दै ब्रुमर त ल्याउनुभयो, तर धुलो निस्किने सडकका खाल्डाखुल्डी पुर्ने काम गर्नुभएन।’

प्रकाशित: Feb 26, 2022| 13:17 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...