काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।
उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर प्रधानमन्त्री देउवा बालकोट पुगेका हुन्।
यसअघि सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा भेटवार्ता गरेका थिए। प्रधानमन्त्री देउवा र दुई नेताबीचको 'वान टु वान' वार्ता गरेका थिए। पछि अर्थमन्त्री जनार्दन शर्मा पनि बालुवाटार पुगेका थिए। बिहीबार एमसीसीमाथि सैद्धान्तिक बहसलाई छल्न उपत्यका बाहिर पुगेका शर्मा शुक्रबार भने बालुवाटार पुगेका हुन्।
एमसीसी सम्झौता अनुमोदन गर्ने देउवाको अडान र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको विपक्षमा मतदान गर्ने अडानले पाँचदलीय गठबन्धन विघटनको संघारमा पुगेको थियो। बिहीबार दुई पटक कांग्रेस र एमालेबीचको छलफलबाट झस्किएका सत्ता साझेदार दुई दल एमसीसी फेल गराउने योजनाबाट पछि हटेपछि शुक्रबार सत्ता गठबन्धनका नेताहरुबीच छलफल भएको बताइएको छ।