काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल जारी छ। करिब आधा घण्टाअघि बालुवाटारमा सुरु भएको दुई नेताबीचको 'वान टु वान' वार्ता चलिरहेकै बेला अर्थमन्त्री जनार्दन शर्मा पनि बालुवाटार पुगेका छन्। बिहीबार एमसीसीमाथि सैद्धान्तिक बहसलाई छल्न उपत्यका बाहिर पुगेका शर्मा शुक्रबार भने बालुवाटार पुगेका हुन्।
एमसीसी सम्झौता अनुमोदन गर्ने देउवाको अडान र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको विपक्षमा मतदान गर्ने अडानले पाँचदलीय गठबन्धन विघटनको संघारमा पुगेको थियो। बिहीबार दुई पटक कांग्रेस र एमालेबीचको छलफलबाट झस्किका सत्ता साझेदार दुई दल एमसीसी फेल गराउने योजनाबाट पछि हटेपछि शुक्रबार सत्ता गठबन्धनका नेताहरुबीच छलफल भइरहेको छ।
माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा मतदान नगर्ने बरु मतदानका बेला प्रतिनिधिसभाको बैठक बहिष्कार गर्ने निर्णयमा पुगेका छन्। गठबन्धन तोड्दा कसैलाई फाइदा नहुने निष्कर्षमा दुई दल पुगेपछि गठबन्धनमा संवादको अवस्था सिर्जना भएको हो।
शुक्रबार दिउँसो नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका थिए। प्रधानमन्त्री देउवासँग छलफल गरेर सिंहदरबार पुगेका नेपालले माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए। नेपालसँगको छलफलपछि प्रचण्ड बालुवाटार पुगेका थिए। शुक्रबार बिहान बसेको माओवादी केन्द्रको पूर्वस्थायी समिति सदस्यहरुको बैठकले गठबन्धन बचाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको थियो।