काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी पास गराउने सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको बताएका छन्। उनले संसद् बैठक बहिस्कार गरे एमसीसी पास गराउन माओवादीले सहयोग गर्ने भनेर गलत प्रचार भइरहेको बताए।
पार्टीको आठौं महाधिवेशनले एमसीसीमा स्वाधीनता राष्ट्रहित प्रतिकूलका प्रावधान रहेकाले यथास्थितीमा स्विकार गर्ने र संसद्बाट पारित नगर्ने निर्णय लिएकाले त्यो निर्णय कायमै रहेको उनको भनाइ छ। संसद्मा पेश भएको एमसीसी सम्झौतालाई माओवादीले विफल पार्न विपक्षमा मतदान गर्ने उनको भनाइ छ।
‘हाम्रो पार्टीले आठौं महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरुबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ, एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरुलाई संशोधन नगरी यथास्थितिमा स्विकार नगर्ने र संसदबाट पारित नगर्ने। हामी त्यसैमा कायम छौं। संसदमा यो पेश गरिसकिएको सन्दर्भमा हाम्रो पार्टी यसलाई विफल पार्न विपक्षमा मतदान गर्छ,’ उनले भनेका छन्, ‘यसबारे मतदान हुँदा हाम्रो पार्टीले संसद् बैठक बहिष्कार गर्नेछ र यथास्थितिमा यो प्रस्ताव अनुमोदन गर्न सहयोग पुर्याउनेछ भन्ने प्रचार गलत हो। कसले यो भ्रमात्मक प्रचार अभियान सञ्चार माध्यम मार्फत चलाउँदैछ? सावधान!’
बिहीबार बिहान बसेको माओवादी केन्द्रको पूर्व स्थायी कमिटीको बैठकले गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको थियो। गठबन्धन पनि नतोडिने र एमसीसी पनि अनुमोदन गर्ने विकल्पमा छलफल गर्न माओवादी तयार देखिएको छ। तर, श्रेष्ठले भने माओवादी आफ्नो निर्णयमा अडिग रहेको दाबी गरेका छन्।