काठमाडौं– सत्तारुढ पाँच दलीय गठबन्धन विसर्जनको डिलमा पुगेका बेला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग संवाद अघि बढाएका छन्।
गत आइतबार संसद् बैठकमा प्रस्तुत भएको एमसीसी पारित गराउने प्रयासमा रहेका देउवाले यसबीचमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग पनि सघन वार्ता गरेका थिए। तर, एमालेसँगको वार्ता निष्कर्षमा पुगेको छैन।
हिजो बिहीबार एमाले अध्यक्ष केपी ओलीसहित एमालेका नेताहरुसँग दुईपटक संवाद गरेका देउवा फेरि सत्तारुढ गठबन्धनका नेताहरुसँग संवादमा जुटेका हुन्। एमसीसी पास गराउन सत्तारुढ गठबन्धनमै सहमति जुटाउने प्रयासमा देउवा छन्।
आज भने देउवाले सत्तारुढ दलका शीर्ष नेताहरुसँग छलफल अघि बढाएका छन्। आज बिहान उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग कुराकानी गरेका छन्।
नेपालसँगको कुराकानीपछि देउवाले माओवादी अध्यक्ष प्रचण्डसँग पनि छलफल गर्ने भएका छन्। देउवा प्रचण्ड भेट बालुवाटारमा तय भएको छ।
यसअघि आजै बसेको माओवादी केन्द्रीय सचिवालय बैठकले गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको थियो।
देउवाले आजै जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गर्ने तय भएको छ।