काठमाडौं– सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले सत्तारूढ पाँच दलीय गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको हो।
एमसीसी सम्झौतालाई लिएर गठबन्धनभित्र तीव्र विवाद छ। यस विषयमा छलफल गर्न बसेको बैठकले गठबन्धन जोगाउनेमा जोड दिएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जनाएकी छन्। बैठकका निर्णयबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दाहालले भनेकी छन्, ‘गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भयो।’
एमसीसीका विषयमा पार्टीको धारणा पूर्ववत् रहेको पनि माओवादीले जनाएको छ। माओवादीले एमसीसी सम्झौता संशोधन नगरी पारित गर्न नहुने निर्णय गरेको छ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) एमसीसी सम्झौता पारित गर्ने पक्षमा छन् भने माओवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा विपक्षमा छन्।
सत्तारुढ दलले एमसीसी सम्झौता पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग संवाद गरिरहेका छन्। उनले बिहीबार दुई पटक एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन्। ओलीसँग आज पनि वार्ता हुने बताइएको छ।