काठमाडौं– सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले एमसीसी सम्झौताबारे धारणा बनाउन बैठक बोलाएको छ। शुक्रबार दिउँसो १२ बजे केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो।
जसपामा एमसीसीका बारेमा दुईथरी मत छ। अध्यक्ष उपेन्द्र यादव एमसीसीको विपक्षमा छन् भने संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी अनुमोदन गरेर अघि बढ्नुपर्ने पक्षमा छन्।
एमसीसी विवादका कारण जसपामा विभाजनको खतरा बढेको विश्लेषण भइरहेका बेला बस्न लागेको कार्यकारीणी बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ। पार्टीका नेताहरुले भने एमसीसीका सन्दर्भमा साझा धारणा बनाउने दाबी गर्दै आएका छन्। ‘हाम्रो पार्टीले पक्ष वा विपक्षमा जे धारणा बनाउनेछ, त्यो साझा हुनेछ,’ एक नेताले भने।
एमसीसीबारे छलफल गर्न शुक्रबार १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ।