काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आलेले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको निर्णय आफूहरूलाई स्वीकार्य हुने बताएका छन्।
नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरूले एमसीसीको पक्षमा मतदान गर्ने हल्ला चलेको भन्दै उनले आफूहरूलाई पार्टीको निर्णय स्वीकार्य हुने बताएका छन्। बिहीबार धनगढीमा पत्रकारसँगको कुराकानीमा मन्त्री आलेले आफूहरू पार्टीको निर्देशन अनुसार नै चल्ने बताएका छन्।
‘समाजवादीका मन्त्रीहरू एमसिसीको पक्षमा मत हाल्छन् भन्ने हल्ला चलाइएको छ। हाम्रो कुरा त्यस्तो होइन। हामीले पार्टीले जे निर्णय गर्छ, त्यही गर्नेछौं,’ उनले भने।
पार्टीको सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्न आलेसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिहीबार धनगढी पुगेका छन्।