काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको छ। उक्त बैठकमा एमसीसी अनुमोदनका गर्ने विषयमा छलफल भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।
उनले बैठकमा प्रधानन्त्री देउवाले सबैको सहयोगमा एमसीसी अनुमोदन गर्नुपर्ने प्रस्ताव गरेका थिए। त्यसको जवाफमा प्रमुख ओलीले ६ महिनादेखि अवरुद्ध संसद् खुलाउनका लागि आफूहरुले राखेका माग पूरा गर्न आग्रह गरेको प्रवक्ता कार्कीले बताए।
ओलीको भनाइ उदृत गर्दै कार्कीले भने, 'हामी जुन कारणले संसद्मा भाग लिन सकेका छैनन्। त्यो कारण निराकरण नभई संसद्मा भाग लिनसक्ने अवस्था छैन।'
दुई पक्षबीचको वार्ता जारी रहने र संसद् व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्ने सहमति भएको प्रवक्ता कार्कीले बताए। कार्कीले भने, 'सरकारले ल्याएको प्रस्तावलाई सत्ता पक्षमा नै मत विभाजन गरेर लाने परम्परा छैन। प्रस्तावलाई यसरी मत विभाजन गर्न थाल्यौं भने भोलि कुनै पनि सरकारले ल्याएका प्रस्तावमा छलफल हुने छैनन्। बहुमत प्राप्त सरकारले ल्याएको प्रस्तावको छलफल भएन भने त्यो प्रतिनिधिसभाको के काम?'
उनले एमसीसीका विषयमा शुक्रबार संसद्मा सैद्धान्तिक छलफल हुने र एमसीसी अनुमोदन हुने बताएका छन्। उनले थपे, 'गठबन्धन अहिलेसम्म कायम छ। सरकारले ल्याएको प्रस्ताव गठबन्धनकै प्रस्ताव हो।'
नेकपा एमालेका नेता विष्णु रिजालले भने पाँच दलीय गठबन्धन कायम रहेकाले हाललाई बाँकी विषय तपशीलका मात्र भएको बताएका छन्। उनले भनेका छन्, 'अहिले पनि पॉच दलीय गठबन्धन कायमै छ, सरकारी प्रस्तावकै विरुद्ध रहेकाहरू पनि मन्त्रीको झण्डा हल्लाएर हिँडिरहेका छन् । मुखले जसले जे भने पनि व्यवहारत: पाँच दलीय गठबन्धन कायम रहेकाले हाललाई बाँकी विषय तपशीलका मात्र हुन्। नेकपा (एमाले)ले आफ्नो पूर्ववत् अडान कार्यान्वयनका लागि पुन: जोड दिएको छ।'
कांग्रेस र एमालेबीच बिहीबारै भएको यो दोस्रो पटकको छलफल हो। छलफलमा सहभागी हुन एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङलगायतका नेताहरू बालुवाटार पुगेका थिए।
छलफलमा कांग्रेसको तर्फबाट देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा सहभागी छन्। उनीहरूबीच करिब दुई घण्टा छलफल भएको हो।
यसअघि बिहीबारै एमाले नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेका थिए। तर भेटघाट सकारात्मक नभएको बताइएको छ।
बिहीबारै दिउँसो संसद भवन परिसरमा एमाले र कांग्रेसका नेताहरूबीच छलफल भएको थियो। बिहीबार दिउँसोको छलफलमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की, कांग्रेस महामन्त्री गगन थापा लगायतका नेताहरू सहभागी थिए।