विसर्जनको डिलमा गठबन्धन
एमसीसी सम्झौता अनुमोदनको विषयले पाँच दलिय गठबन्धन विसर्जनको डिलमा पुगेको छ। गत आइतबार प्रतिनिधिसभामा टेबुल भएको एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने भन्नेमा सहमति हुन नसक्दा गठबन्धन विर्सजनको संघारमा पुगेको हो।
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस एमसीसी सम्झौता अनुमोदन गर्नुपर्नेमा एकढिक्का छ। बिहीबारको प्रतिनिधिसभामा बैठक अघि नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाल र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।
यसपछि तीनै जना नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। देउवाले एमसीसी अनुमोदन गरेर अघि बढ्न र गठबन्धन नतोड्ने प्रस्ताव गरेका थिए। तर प्रचण्डले यथास्थितीमा एमसीसी अनुमोदनको पक्षमा लाग्न नसकिने बताएका थिए। पेलेर पास गराउन खोजे सडकमा पुग्ने उनको चेतावनी थियो।
प्रचण्डको जवाफ पछि देउवा पाँच दलिय गठबन्धनको विकल्प खोज्न सक्रिय बनेका छन्। देउवाकै आग्रहमा प्रतिनिधिसभाको बैठक शुक्रबार १ बजे बस्ने गरी स्थगित गरिएको छ।
प्रतिनिधि सभाको बैठक स्थगित भएलगत्तै कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा छलफलका जुटेका थिए। प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित दुवै पार्टीका शीर्ष नेताबीच करिब डेढ घण्टा छलफल भएको थियो। साँझ पुनः ओली र देउवा बस्ने गरी छलफल सकिएको छ।
ओली देउवाबीचको भेटमा सहभागी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनबाट एमसीसीको विषय पार नलाग्ने निष्कर्ष निस्किएको बताए। गठबन्धन धरापमा परिसकेको उनको निष्कर्ष थियो।
बिहीबार बिहान प्रधानमन्त्रीसँग भेट गरी बाहिरिने क्रममा नेकपा एसका नेता खनालले गठबन्धन आवश्यकता अुनसार बन्ने र भत्कने बताए। गठबन्धन भविष्यबारे भन्न नसकिने उनको भनाइ थियो।
नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले एमसीसीको विपक्षमा मतदान गर्ने कुरामा छलफल भएको बताएका छन्। उनले संसदमा हुने एमसीसीको छलफलमा भाग लिने र त्यसको लागि सभामुखलाई संसदमा भइरहेको अवरोधलाई हटाउनका लागि आग्रह गर्ने पनि बताएका थिए।
सरकारले गत फागुन ८ गते एमसीसी छलफलका लागि संसदमा पसे गरेको थियो। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता फेब्रुअरी २९ सम्ममा पास गरिसक्ने भन्दै प्रधानमन्त्री देउवा र गठबन्धनका नेता प्रचण्डले सेप्टेम्बर २९ मा अमेरिकालाई पत्र पठाएका थिए। आफ्नै प्रतिबद्धता विपरीत प्रचण्डले यथास्थितिमा एमसीसी पास गर्न नसकिने अडान लिएपछि गठबन्धन भविष्य धरापमा परेको हो।
बानेश्वरमा आन्दोलनकारी र प्रहरीबीच झडप
एमसीसी खारेजीको माग गर्दै विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आज पनि बानेश्वरमा झडप भएको छ। प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको छ भने आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन्।
प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ भने केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्।
संसद् बैठकमा एमसीसीबारे छलफल सुरु हुने तयारी भइरहँदा संसद भवनबाहिर प्रदर्शन भएको हो। यद्यपि, आज संसद् बैठक बसेन। बैठक भोलि दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ।
नेपालबाट थप बिजुली किन्न भारत सहमत
नेपालबाट थप बिजुली किन्न भारत सहमत भएको छ। नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त संयन्त्र (जेएससी)को बिहीबार काठमाडौंमा बसेको बैठकमा भारत नेपालबाट थप बिजुली किन्न सहमत भएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार भारतको बंगाल राज्यसँग नेपालको विद्युत् कनेक्टिभिटीका लागि १३२ केभी प्रसारणलाइन बनाउन संयुक्त कार्यदलमार्फत् अध्ययन गर्ने सहमतिसमेत भएको छ। त्यस्तै, नेपाल-भारतबीच संयुक्त लगानीमा जलविद्युत् आयोजना बनाउन पनि अध्ययन कार्यदल गठन हुने भएको छ।
न्यू बुटवल–गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइन बनाउन दुई महिनाभित्र संयुक्त कम्पनी खोलि सक्ने सहमति पनि बैठकमा भएको छ।
नेपालले गत कात्तिक १७ गतेबाट ‘इन्डियन इनर्जी एक्स्चेन्ज’मा बिजुली बेच्न थालेको थियो। ८ वटा आयोजनाको साढे ८ सय मेगावाटभन्दा बढी बिजुली भारतमा बेच्नका लागि नेपालले अनुमति मागिरहेको छ। भारतले भने २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको मात्रै बिजुली किन्ने मनशाय व्यक्त गर्दै आएको थियो। अब भने भारतले माथिल्लो तामाकोसी, कालीगण्डकी, मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, माथिल्लो भोटेकोसी र चमेलिया जलविद्युत् आयोजनाको बिजुली पनि किन्ने भएको छ। बैठक भोलि शुक्रवारसम्म चल्नेछ ।
युक्रेनबारे बोल्यो नेपाल
युक्रेनमाथि रुसले सैन्य बल प्रयोग गरेको भन्दै नेपालले विरोध गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपालको परराष्ट्र मन्त्रालयले यस्तो युक्रेनका दुई क्षेत्रलाई स्वायत्त राज्यको मान्यता दिनुसमेत संयुक्त राष्ट्रसंघको बडापत्रविपरीत भएको उल्लेख गरेको हो।
नेपालले उक्त क्षेत्रमा पछिल्लो समय विकसित भइरहेका घटनाक्रमलाई नजिकबाट नियालिरहेकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त क्षेत्रमा तनाव बढ्न नदिन उच्च संयमता अपनाउन नेपालले आग्रह गरेको छ। रुस-युक्रेन विवादको वार्तामार्फत् समाधान खोज्नसमेत नेपालको आग्रह छ।
मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई सम्भव भएसम्म स्वदेश फर्कन समेत आग्रह गरेको छ। सम्भव नभएमा जर्मनीस्थित नेपाली दूतावस वा मस्कोस्थित दूतावासमा समेत सम्पर्क गर्न आग्रह गरेको छ।
पर्यटनमन्त्रीका भनाइ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय कलाकारहरुको निधनपछि श्रद्धाञ्जली सभा गर्न मन्त्रालयले स्थान व्यवस्थापन गर्ने बताएका छन्।
बिहीवार वरिष्ठ लोकगायक तथा अभिनेता जयनन्द लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्न आयोजित सभामा बोल्दै मन्त्रि आलेले यस्तो बताएका हुन्। देशमा भएका विकृतिहरुलाई चिरेमात्रै कलाकार लामाप्रतिको सच्चा श्रद्धाञ्जली हुने मन्त्री आलेको भनाइ थियो।
गायक लामाको फागुन ११ गते बुधवार बिहान आफ्नो निवास भक्तपुरमा कारबाट लडेर निधन भएको थियो। गायक लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीको लागि राष्ट्रिय नाचघरमा राखिएको थियो।
यसैबीच, मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ। कार्यक्रममा पुर्जालाई नेपाललाई विश्व सामु चिनाउनका लागि महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान पनि गरिएको थियो। मन्त्री आलेले पुर्जालाई नेपालको पर्यटनका लागि सद्भावना दूत घोषणा गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुशीको क्षण भएको बताएका थिए।
कार्यक्रममा बोल्दै हिमाल आरोही निर्मल पुर्जाले मन्त्रालयले गरेको सम्मानले आफ्नो जिम्मेवारी थपिएको महशुस गरेको बताए।
पुर्जाले सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालहरु आरोहण गरी विश्व किर्तिमान कायम राखिसकेका छन्। आफूलाई मुख्य पात्र बनाएर पुर्जाले बनाएको १४ पिक्स नथिङ इज इम्पोसिबल डकुमेन्ट्रीले विश्वभर चर्चा बटुलेको थियो।
बढ्यो सुनको मूल्य
रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ। युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेनमाथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो। युद्वको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.४४ अमेरिकी डलर पुगेको छ भने सुनको मूल्य पनि आकासिएको छ। अन्तरराष्ट्रिय बजारको असरले नेपालमा पनि बिहीबार एकै दिन सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ रहेकोमा बिहीवार २ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले रुस-युक्रेन द्धन्द्वसँगै सुनको मूल्य उच्च रुपमा वृद्धि भएको बताए।
अध्यक्ष शाक्यले सुनको मूल्य मात्रै नभएर चाँदीको मूल्य पनि प्रतितोला ३५ ले बढेर १ हजार ३१५ रुपैयाँ पुगेको बताए। नेपालमा करिब डेढ वर्षअघि सुनको मूल्य ९९ हजार रुपैयाँसम्म पुगेको छ।
५० रुसी सैनिक मारिएको युक्रेनको दाबी
युक्रेनको सेनाले पूर्वी युक्रेनमा बिहीबार ५० जना रूसी सैनिक मारिएको दाबी गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार पूर्वी सहर खार्किभनजिकै चार वटा रूसी सैनिक ट्यांक ध्वस्त पारिएको सेनाले उल्लेख गरेको छ।
त्यस्तै रूसले स्वतन्त्र राज्यको मान्यता दिएको लुहान्स्कमा ५० रूसी सैनिक मारिएको युक्रेनी सेनाको दाबी छ। पूर्वी युक्रेनका अन्य क्षेत्रमा हेलिकप्टर सहित ६ वटा सैनिक जहाज खसालेको पनि युक्रेनी सेनाले दाबी गरेको छ।
रूसले भने आफ्ना जहाज र बख्तरबन्द गाडीमा क्षति भएको कुरा अस्वीकार गरेको छ।
युक्रेनको बोर्डर गार्ड सर्भिसले खेर्सोन क्षेत्रमा आफ्ना तीन सैनिक मारिएको र धेरै घाइते भएको जनाएको छ।
कठिन समूहमा नेपाल
नेपाल ‘एएफसी एसियन कप चीन २०२३’ को तेस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया परेका छन्।
यो समूहका खेल कुवेतमा ८ जुनदेखि १४ जुनसम्म हुने भएका छन्। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। त्यसैगरी ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग खेल्नेछ।
समूहमा शीर्ष हुने टिम एसियन कपका लागि छनोट पक्का छ भने दोस्रो हुने टिमको पनि छनोट हुने सम्भावना हुनेछ। तेस्रो चरणमा प्रतिस्पर्धा हुने ६ समूह मध्ये दोस्रो हुने उत्कृष्ट पाँच टिम एसियन कपमा छनोट हुनेछन्।
यसअघि नेपालले गत असारमा दोस्रो चरणमा प्रतिस्पर्धा गरेको थियो। पाँच टिम रहेको समूहमा चौथो भएको नेपाल तेस्रो चरणका लागि छनोट भएको थियो। नेपालले दोस्रो चरणमा पनि कुवेत र जोर्डनसँग प्रतिस्पर्धा गरेको थियो। दुवै टिमसँग नेपाल दुवै लेगको खेलमा पराजित भएको थियो।