काठमाडौं- अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। छलफलमा कांग्रेस र एमालेका केही नेताहरू सहभागी छन्।
कांग्रेस र एमालेबीच बिहीबारै भएको यो दोस्रो पटकको छलफल हो। छलफलमा सहभागी हुन एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङलगायतका नेताहरू बालुवाटार पुगेका छन्।
छलफलमा कांग्रेसको तर्फबाट देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा सहभागी छन्। उनीहरूबीच बेलुका ७ बजेदेखि छलफल चलिरहेको छ।
यसअघि बिहीबारै एमाले नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेका थिए। तर भेटघाट सकारात्मक नभएको बताइएको छ।
बिहीबारै दिउँसो संसद भवन परिसरमा एमाले र कांग्रेसका नेताहरूबीच छलफल भएको थियो। बिहीबार दिउँसोको छलफलमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की, कांग्रेस महामन्त्री गगन थापा लगायतका नेताहरू सहभागी थिए।