काठमाडौं- शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीका विषयमा छलफल हुने भएको छ। संसद सचिवालयले सूचना जारी गर्दै शुक्रबारको बैठकका लागि सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीसम्बन्धी छलफलको विषय समावेश भएको हो।
बिहीबारका लागि तोकिएको प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा समेत समावेश भएको एमसीसी सम्झौता अनुमोदनसम्बन्धी प्रस्तावमाथि छलपल हुने उल्लेख थियो। तर अन्तिम समयमा सभामुखले बैठक शुक्रबारका लागि सारेपछि एमसीसीका विषयमा बिहीबार छलफल गर्न सम्भावित कार्यसूची तय गरिएको संसद् सचिवालयले जानकारी दिएको छ।
संसद् सचिवालयले जानकारी गराएको कार्यसूची अनुसार शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८' पेस गरिने भएको छ।
गठबन्धनका दलहरूसँग एमसीसीका विषयमा मत विभाजन भएपछि प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यका लागि प्रस्ताव गरेको बताइएको छ। बिहीबार दिउँसो पनि प्रधानमन्त्रीसहित कांग्रेसका नेताहरूले एमाले नेताहरूसँग छलफल गरेका थिए। बिहीबारै साँझ पनि देउवा-ओलीबीच छलफल गर्ने तय भएको छ।
एमालेले गत भदौ अन्तिम सातादेखि लगातार संसद् अवरोध गर्दै आएको छ। नेकपा एमालेले माधव नेपालसहितका १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै संसद् अवरोध गरेको अवस्थामा छलफल हुन लागेको हो।