काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामा राष्ट्रिय सहमति जुटाउनुपर्ने बताएका छन्।
पर्वतको कुश्मामा बिहीबार उद्योग वाणिज्य संघको ३९ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै अर्थमन्त्री शर्माले एमसीसी सम्झौताका कारण चौतर्फी रुपमा समस्या उत्पन्न गराएको बताए।
सबै दलहरुका बीचमा सहमति गरेर यसलाई अनुमोदन गर्ने कि फिर्ता गर्ने भन्नेबारेमा साझा दृष्टिकोण बनाउन आवश्यक रहेको उनको भनाइ थियो। एमसीसीले मुलुकमा विभाजन पैदा गरेको बताउँदै उनले यस्तो अवस्थामा एमसीसी अघि बढाउँदा मुलुक संकटमा फस्ने दाबी गरे।
एमसीसी सम्झौताका कतिपय बुँदाहरु संशोधन गर्नुपर्छ भन्ने केही दलको मत रहेको र केही दलले जस्ताको तस्तै पारित गर्नुपर्छ भन्ने अडान लिएको भन्दै अर्थमन्त्री शर्माले साझा दृष्टिकोण बनाउँदा मात्र अहिले देखिएका समस्या हल भएर जाने दाबी गरे।
दलहरुबीचको साझा दृष्टिकोण नभएसम्म आफ्नो व्यक्तिगत र माओवादी पार्टीको समर्थन एमसीसीमा नरहने उनले बताए। गठबन्धन सरकारलाई जोगाउँदै एमसीसीको व्यवस्थापनमा जोड दिनुपर्ने उनले बताए ।